धरान : स्थानिय सरकार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई उनको फेसबुक स्टाटसले पत्रकारहरूलाई अशोभनिय भाषा प्रयोग गरी अपमान गरेको र त्यसबाट प्रेस स्वतन्त्रता हनन गर्ने कार्य प्रोत्साहित भएकोमा नेपाल पत्रकार महासङ्घ सुनसरीले उनलाई आज आइतबार ध्यानाकर्षणपत्र बुझाएको छ ।

पत्रकारहरुको टोलीले मेयर साम्पाङलाई उनकै कार्यकक्षमा भेटेर तिन दिन भित्र पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रताप्रति स्थानीय सरकारको प्रतिबद्धता सार्वजनिक गर्न ध्यानाकर्षण पत्र बुझाएको हो । मेयर साम्पाङले ध्यानाकर्षण पत्र बुझ्दै दुई दिन भित्र पत्रकार तथा स्वतन्त्र प्रेसप्रति उपमहानगरपालिकाको धारणा सार्वजनिक गर्ने वचन दिएका छन् ।

ध्यानाकर्षण पत्रमा भनिएको छ ‘पत्रकारहरूको सुरक्षा र पत्रकारिताको सम्बद्र्धन एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति स्थानीय सरकारको प्रतिबद्धता तीन दिनभित्र सार्वजनिक गर्न हामी नगरप्रमुखको ध्यानाकर्षण गराउँछौँ ।’ साथै ‘पत्रकार र सञ्चार माध्यम लक्षित आफ्ना अमर्यादित र गालीगलौजपूर्ण अभिव्यक्ति फिर्ता लिई स्वतन्त्र प्रेसप्रति सम्मान व्यक्त गर्न’ पनि ध्यानाकर्षण पत्रमा आग्रह गरिएको छ ।

नेपालको संविधानको धारा १९ मा ‘सञ्चारको हक’ र धारा २७ मा ‘सूचनाको हक’ व्यवस्थित गरिएको स्मरण गराउँदै ध्यानाकर्षपत्रमा भनिएको छ ‘यसै सन्दर्भमा धरान उपमहानगरपालिकाका नगर प्रमुखका रूपमा तपाईँ हर्कराज राईले केही दिनयता प्रयोग गरेका पत्रकार र सञ्चार माध्यम लक्षित अमर्यादित, अशोभनीय र गालीगलौजपूर्ण भाषा तथा प्रेस तथा स्वतन्त्रताविरोधी गतिविधिप्रति नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।’

ध्यानाकर्षणपत्रको पूणपाठ यस्तो छ-राजनीतिक परिवर्तनका लागि देशमा भएको हरेक सङ्घर्ष र आन्दोलनमा नेपाली पत्रकारहरूले खेलेको भूमिका कसैबाट लुकेको छैन । जस्तोसुकै कठिन परिस्थितिमा पनि नेपाली प्रेसले आफूलाई अविचलित रूपमा उभ्याएको सर्वविदितै छ ।

निरङ्कुश पञ्चायती कालरात्रीमा मात्र होइन, ज्ञानेन्द्रको निरङ्कुश कालमा पनि नेपाली प्रेसले सम्झौताहीन सङ्घर्ष गरेको हामी स्मरण गराउन चाहन्छौँ ।

लोकतन्त्र प्राप्तिको आन्दोलनमा पनि नेपाली प्रेसले खेलेको उल्लेखनीय भूमिकालाई कसैले उपेक्षा गर्न सक्दैन । प्रेस स्वतन्त्रतासँगै वाक तथा अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको आधारभूत सर्त हो । कुनै देशमा लोकतन्त्रको अवस्था कस्तो छ भन्ने थाहा पाउन त्यहाँ प्रेस स्वतन्त्रताको अवस्थालाई हेर्ने गरिन्छ । प्रेस स्वतन्त्राविनाको आधुनिक लोकतन्त्रको कल्पना पनि गर्न सकिन्न ।

प्रेस स्वतन्त्रताका अन्तिम उपभोक्ता नागरिकहरू नै हुन् । आफ्नो र सार्वजनिक महत्त्वको सूचना प्राप्त गर्ने नागरिक हकको प्रयोगमा प्रेस त माध्यम मात्र हो । राज्य वा सार्वजनिक पदमा बसेका व्यक्तिहरूले गरेका कमी–कमजोरीलाई नागरिकसमक्ष पुर्‍याएर प्रेसले राज्य र राज्यका निकायहरूलाई पारदर्शी बनाउन भूमिका खेल्ने गर्छ । पत्रकारितालाई आवाजविहीनहरूको आवाज मानिन्छ ।

त्यसैले कुनै पनि लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रतालाई अपरिहार्य तत्त्व मानिन्छ । यसै कारणले गर्दा नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रतालाई प्रत्याभूत गरिएको छ । यही महत्त्वलाई बुझेर नै नेपालको संविधानको धारा १९ मा ‘सञ्चारको हक’ र धारा २७ मा ‘सूचनाको हक’ व्यवस्थित गरिएको छ ।

प्रेस स्वतन्त्रताको अर्थ अराजकता र स्वच्छन्दता होइन भन्ने विषयमा पनि हामी पूर्ण रूपमा सचेत छौँ । देशको संविधान र प्रचलित कानुनहरूका साथै पत्रकारिताका आफ्नै सिद्धान्त, मूल्य-मान्यता र आचार संहिताको परिधिभित्र रहेर प्रेस स्वतन्त्रताको अभ्यास र उपभोग गर्न हामी पूर्ण प्रतिबद्ध छौँ ।

यसरी लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक प्राप्तिको हरेक आन्दोलनमा अग्रपङ्क्तिमा उभिएको नेपाली प्रेसको गौरवशाली इतिहासलाई हामी स्मरण गराउँछौँ ।

press meeting

यसै सन्दर्भमा धरान उपमहानगरपालिकाका नगर प्रमुखका रूपमा तपाईँ हर्कराज राईले केही दिनयता प्रयोग गरेका पत्रकार र सञ्चार माध्यमलक्षित अमर्यादित, अशोभनीय र गालीगलौजपूर्ण भाषा तथा प्रेस तथा स्वतन्त्रताविरोधी गतिविधिप्रति नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रेसको मात्र सरोकारको विषय होइन । यो विषय समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न अङ्ग हो । लोकतन्त्र भनेको परिणाम मात्र होइन, प्रक्रिया पनि हो भन्ने मान्यतामा हामी विश्वस्त छौँ ।

यसको अर्थ कानुनको शासनले मात्र लोकतन्त्रलाई बलियो बनाउँछ, तर तपाईँले शृङ्खलाबद्ध रूपमा पत्रकारलाई गरेका दुव्र्यवहार र तपाईँका धम्कीपूर्ण अभिव्यक्तिले पत्रकारहरू असुरक्षित भएको महासङ्घ सुनसरी शाखाको ठहर छ ।

लोकतन्त्रमा स्थायी प्रतिपक्ष मानिने प्रेसले आलोचनात्मक टिप्पणी गर्ने आफ्नो धर्म निर्वाह गर्दा त्यसलाई विरोधको अर्थमा बुझिनु गलत हो । कुनै समाचार वा मिडियामा आएको कुनै विषयमा चित्त नबुझे त्यसबारे आफ्ना प्रतिक्रिया वा विचार प्रक्रियागत रूपले राख्न पाउने तपाईँको अधिकार पनि सुरक्षित छ ।

पत्रकारलाई निसाना बनाएर तपाईँले दिएको अभिव्यक्ति गैरजिम्मेवार र अमर्यादित भएको ठहर गर्दै यसप्रति दुःख व्यक्त गर्दछौँ । आफ्ना नागरिकहरूको सुरक्षा गर्नुपर्ने दायित्व बोकेको स्थानीय सरकार प्रमुखबाट नै पत्रकारले असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउनु चिन्ताको विषय हो ।

सञ्चार ऐन बनाएर स्वतन्त्र पत्रकारिताको रक्षा गर्नु स्थानीय सरकारको दायित्व हो, तर सरकार प्रमुख आफै स्वतन्त्र प्रेसविरोधी देखिनु दुर्भाग्यपूर्ण भएको हामीले ठहर गरेका छौँ ।