धरान : केही दिनदेखि अत्यधिक बढिरहेको गर्मीले कोशी प्रदेशका मुख्य शहरुहरुको जनजीवन कष्टकर बनेको छ ।

३० डिग्री तापक्रमभन्दा बढीबाट सुरु हुने बिहानी मध्याह्नसम्म आइपुग्दा ४० डिग्री सेल्सियससम्म पुग्न थालेपछि धरान, इटहरी,  विराटनगर बिर्तामोड लगायतका सहरहरूको दैनिक जनजीवन समेत प्रभावित भएको छ ।

तातो हावा र चर्को घामले घरबाहिर हिँडडुल गर्न र दैनिक काम गर्नै समस्या भएको छ। तापक्रम बढेर पठनपाठनमा समस्या भएपछि सुनसरी जिल्लाको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, मोरङका विराटनगर महानगरपालिका र सुन्दरहरैंचा नगरपालिकाले विद्यालय बिदा दिएका छन् भने अन्य पालिकाले पनि बिदा दिने तयारी गरिरहेका छन् ।

पछिल्लो छ दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसुस गरिएको हो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको जानकारी दिइन ।

“देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव परिरहेको छ, तर पनि मनसुनको समय भइसकेकाले सङ्क्रमणकालीन समय अर्थात् प्रिमनसुन सकिने र मनसुन भित्रिने बिचको समय भएकाले अझै केही दिन वर्षा हुँदैन”, उनले भनिन ।

गर्मीले सबैभन्दा बढी दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुरहरू प्रभावित बनेका छन् । अत्यावश्यक कामबाहेक सर्वसाधारणहरू पनि बाहिर निस्किएका छैनन् । यसले गर्दा व्यापार सुस्त भएको व्यापारीहरू सुनाउँछन् । धरानमा कपडा व्यवसायी गर्दै आएका श्याम श्रेष्ठले भने, ‘महँगीले बजार सुस्ताएको बेला गर्मीले थप मारमा परेका छौँ ।’ गर्मी बढेसँगै बजारहरूमा किनमेल गर्न आउनेहरूको चहलपहल घटेको उनको भनाइ छ ।

एकातिर देशमा आर्थिक मन्दी र अर्कातिर अत्यधिक गर्मीका कारण व्यापारीहरू समस्यामा परेको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताए । उनले भने, ‘आर्थिक मन्दी छाइरहेको बेला गर्मीका कारण व्यापारीहरूले ठुलो क्षति बेहोर्नु परेको छ । यसले तत्काल र दीर्घकालीन असर निम्त्याउन सक्छ ।’

गर्मी बढेपछि चिसो पेय पदार्थसँगै, उखुको रस, खरबुजा र जुसको व्यापार भने बढेको छ । विशेष गरी गर्मीले आइसक्रिम व्यवसायलाई निकै फाइदा पुर्‍याएको छ । अहिले धरानका मुख्य चोकहरूमा व्यापार गर्ने आइसक्रिम व्यापारीहरूले दैनिक ८ देखि १० हजारसम्मको कारोबार हुने गरेको बताउँछन् ।

ratna-market-sunsan