धरान : साउन महिनालाई हिन्दु धर्मशास्त्रमा आराध्य देव शिव भगवानको मन पर्ने महिना भएको उल्लेख छ । विशेष साउन महिना भर हुने बोलबमको लहरले सनातन धर्मप्रतिको आस्थालाई बढाएको छ । आदिकाल देखि हिन्दु धर्मावलम्बिहरुकालागी साउन महिना पवित्र महिनाको रूपमा मानिँदै आएको छ ।
शुद्ध पहेँलो वस्त्र लगाएर देशभरका शक्तिपिठहरुमा साउन महिनाको सोमवार भक्तजनको ठुलो घुइँचो लाग्न थालेको छ । काठमान्डुको बागमती नदिको जल पशुपतिनाथमा, झापाको कन्काई नदिको जल शिवसताक्षीधाममा, खोटाङ हलेशीमा दुधकोशिको जल, सुनसरी चतराधाम स्थित सप्तकोशीको जल धरानको पिण्डेश्वर बाबाधाममा चढाउने प्रचलन छ ।
बोलबम मेलामा सहभागी हुन साउन महिना भर चतराधाम देखि धरानको पिण्डेश्वरसम्म आन्तरिक र बाह्य धार्मिक पर्यटकको ठुलो घुइँचो हुने गर्दछ ।
साउन भरिनै भक्तजनहरूको आगमन हुने चतरामा विशेष रूपमा आइतबार साँझदेखि बाक्लो रूपमा बोलबम भर्न भक्तजनहरू आउने गर्दछन् । आइतबार साँझ चतराधाम स्थित सप्तकोसीको जल लिएर धरान स्थित पिडेश्वर आउने गर्दछन् ।
साउन महिनाभर नै चतराधाममा मेला लाग्ने गर्दछ । चतरामा मेला संस्थागत रूपमा समिति गठन गरेर २०४० सालबाट लगाउन थालिएको बोलबम मेला व्यवस्थापन समितिका संस्थापक सचिव कृष्ण कटेल बताउँछन् ।
यसपालि पनि वराहक्षेत्र नगरपालिकाले बोलबम मेलाको लागि उपमेयर नन्दकुमारी राईको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरेको छ । थप व्यवस्थापनका लागि औलिया बाबा मठ तथा छिन्न मस्त संरक्षण मञ्च, वराहक्षेत्र संरक्षण मञ्च संघ संस्थाहरू सक्रिय भएका छन् ।
गएका वर्षहरूमा करोना महामारीले सुस्ताएको बोलबम मेलाले वराहक्षेत्रको धार्मिक चहल पहललाई चलायमान बनाउने नगर प्रमुख रमेश कार्कीले बताए । यसपालि बोलबम मेलालाई आउँदो चैतमा हुने महा कुम्भ मेलाको प्रचार प्रसारको रूपमा समेत प्रयोग गरिएको छ ।
धर्मशास्त्र अनुसार सत्ययुगमा देवताहरू र दानवहरू बिचमा घनघोर युद्ध हुँदा दुवै तर्फ ठुलो क्षति भयो । अन्त्यमा परमात्मा विष्णु भगवानले युद्ध स्थगित गर्न एउटा उपाय स्वरूप देवता र दानवका बिचमा समुद्र मन्थन गर्ने जुक्ति निकाल्नु भयो र देवताहरू र दानवहरू समुद्र मन्थन गर्न सुरु गरे ।
मन्दराचलको मदानी र वासंनी नागको नेती बनाइयो समुद्र मन्थन गर्दा कामधेनुलाई कामधेनु गाई , धनवन्ती देव देवता, विश्बरुपा सुन्दरी र अमृत निस्केरै गयो । अमृतले धनवन्ती भगवानले दानवबाट लुकाई धरानको पिण्डेश्वरमा ल्याएर अमृतको पिण्ड बनाई राखियो ।
उक्त पिण्ड भगवान् शिवको प्रतीकको रूपमा लिइन्छ । समुद्र मन्थनबाट हलाहल कालकुण्ड विष पनि निस्कियो उक्त कालकुण्ड बिषले स्वर्ग, आकाश र पृश्बीमा भएका देवता, दानव, स्थलचर, जलचर, वनस्पति आदि संसार नै खरानी बनाउने भयो भनेर सबै देवता दानवहरूमा भय र त्रास फैलिएको कुरा पुराणमा उल्लेख छ ।
कालकुण्ड बिषले सबैमा त्राहिमान बनाएपछि विषलाई नियन्त्रण गर्ने विषयमा देवताहरू बिच छलफल चल्यो । तर्क वितर्क भए पछि विष्णु भगवान् ब्रह्माजीकहाँ गए । तर पनि पार लागेन । अन्त्यमा भगवान् शिवको शरणमा जान सबै देवतागण कैलाश तर्फ लागे ।
महादेव भगवानको शरणमा परी रुन कराउन थाले । देव देवताहरूले भगवान् शिवलाई परेको विपत्ति बारे सुनाए । भगवान् शिवले भन्नुभयो ‘यदि यो संसारका देवता दानव एवम् सम्पूर्ण प्राणीको रक्षा र कल्याण हुन्छ भने म यो हलाहल कालकुण्डको विष सेवन गरेर पचाई दिन्छु ।’
सबै विष भगवान शिवले पिउनु भयो र ब्रह्माण्ड ध्वस्त हुनबाट बचाउनु भयो । तर उक्त विष भगवान शिवको घाटीमा अड्किए पछि भगवानलाई बिषले पोल्न थाल्यो । धेरै कष्ट हुन गयो । घाटी निलो हुन गयो । त्यो अवस्थाका कारण भगवान शिवको नाम नीलकण्ठ पनि रहेको हो ।
यसरी भगवानको शिवको सम्पूर्ण अङ्ग प्रत्यङ्गमा त्यो हलाहल कालकुण्ड विषको कठोर असरले भगवान अत्यन्तै पीडा, जलन, छटपटाइबाट मुक्तिका लागि शीतलता ठन्डा र शान्तिको खोजीमा निस्किए ।शिव भगबान पानीको कुण्ड, ताल, तलाउ, नदिमा डुबुल्की मार्दा पनि कालकुट विषको पिडाबाट मुक्त हुनु सक्नु भएन । भगवान् शिव कहीँ शिवलिङको रूपमा त कहीँ शिव मूर्तिको रूपमा देखा पर्न थाल्नु भयो ।
भगवान् शिवलाई यस्तो दुख पीडा भएको देखेर के गर्दा शान्ति र ठन्डा प्राप्त हुन्छ भनी देवता, दानव तथा मानवहरू बिच छलफल चल्यो । अन्त्यमा रुद्रक्षारण्य पिण्डेश्बरमा अमृतको पिण्ड बनाई राखेको पिण्डेश्बर भगवानको शिव लिङ्गमा शिवजीको पूजा, आराधना, ध्यान, अनुष्ठान गरियो ।
वराहक्षेत्र चतराधामा बगेको कोकाकौशिकीको पवित्र जल,गाईको दूध, पञ्चामृत आदि शिबलिङ्गमा चढाए पछि मात्र महादेव भगवानलाई शीतलता ठन्डा र आनन्दित प्राप्ति भएको पुराणमा उल्लेख छ ।
यही कारणले देवता,मानवहरू हर्ष र खुसीले विभोर भई साउन महिना भर पवित्र चतराको कोकाकौशिकि जल औलियावालाको परिक्रमा गरी पिडेश्वर धाममा चढाउन हिँड्ने परम्परा सुरु भएको हो । यसो गर्दा सबै ब्रह्माण्ड भरिका देवी, देवता र मानवहरूलाई सुख, शान्ति मिल्ने धार्मिक विश्वास छ ।
जगद्गुरु पीठ चतराधाम नेपालका महासचिव प्रल्हलाद भट्टराई पहलेदारका अनुसार हरि भनेको विष्णु र हर भनेको शिव भएकाले कोकाकौशिकि जल धरानको शिवको भूमि पिण्डेश्बमा चढाउने परम्परा रहेको हो ।
सप्तकोसीमा अविरल बग्ने पवित्र कोकाकौशिकि जलको महत्त्व पुराणमा समेत उल्लेख भएको उनी बताउँछन् । पिण्डेश्वरको महत्त्व महाकुम्भ मेलामा समेत झल्कने भएकाले चतराक्षेत्र र धरानको पिडेश्बरको महत्त्व अपार रहेको छ ।