धरान : नेपालबाट ६० वर्ष अघि मुगलान भासिएका पाँचथर फिदिमका मैतबल लिम्बु भर्खरै स्वदेश फर्किएका छन् । छ: दशक लामो अवधिमा उनको नामसँगै अनुभव पनि बदलिएको छ ।
आसामबाट जयबहादुर लिम्बू भएर फर्किएका उनी मुङलान लाग्नु अघि पहाडमा खेती किसानी जीवन बडो कठिन थियो । परदेशमा लामो जीवन बिताएपछि नेपालमा भन्दा भारतमा किसानको काम गर्न सजिलो रहेको उनी बताउँछन् ।
लामो समयपछि आफ्नै देश फर्किएका उनलाई नेपालमै बस्ने मन छ । देशको माया छ । तर किसानको काम नेपालभन्दा मुगलानमै सजिलो भएकोले उतै फर्कने मनस्थितिमा पनि छन् ।
जयबहादुर भन्छन् ‘यहीँ बस्न त मन छ नि आर्थिक समस्या छ । लेखपढ छैन आय आर्जन गर्ने बाटो छैन कसरी बस्नु ?’ यता भन्दा उता भारतमा दुःख गर्न सजिलो भएको बताउँदै उनी प्रश्न गर्दछ ‘यता (नेपाल) बस्ने रहरले मात्र हुन्छ ?’
नेपालमा भन्दा भारतमा कृषि कार्य सहजताको अनुभव उनले नसुनाए पनि कृषि क्षेत्रमा सरकारी सुविधाका कुरामा तुलना भने गर्न सकिन्न । एक तथ्याङ्क अनुसार भारतमा ५० प्रतिशत श्रम रोजगारी कृषि क्षेत्रमा निर्भर छ ।
रोजगारीका लागि मुगलान
उनी २०१९ सालमा आफ्नो थातथलो छोडेर हिँडेका थिए । त्यो कालखण्डमा मुगलान भासिने मैतबल उर्फ जयबहादुर लिम्बू मात्र होइनन् । उनी जस्तै सहज श्रम र अवसरका खोजीमा मुगलान जानेको तथ्याङ्क कतै पाइन्न । लाहुरे बन्न दार्जिलिङ जानेहरू पल्टन नलागे उतै भासिन्थे ।
पछिल्लो समय श्रम रोजगारीका नयाँ अवसरहरू प्रशस्त खुलेका छन् । वैदेशिक रोजगारी मैतबल मुगलान भासिनुकै निरन्तरता हो । तर, ८० वर्षको उमेरमा मैतवल वैकल्पिक रोजगारी गर्न अन्य मुलुक जान सम्भव छैन ।
आफन्तहरूको चिन्ता
त्यसैले उनका भाइ, भतिजहरू मैतबललाई अब नेपालमै बस्नुपर्छ भनी फकाई रहेका छन् । भतिज गणेशकुमार सम्बाहाम्फे भन्छन् ‘नागरिकता बनाई दिन पाए दाजुका छोराछोरी नातानातिनीको भविष्य राम्रो हुने थियो ।’
बडाबाले अव थातथलोमा विश्रामको जीवन बिताउनु पर्ने समय भएको उनको भनाई छ । पुर्ख्यौली बाउबाजेले छोडेको अंश भाइ, भतिजाले सुरक्षित राखी दिएका छन् । मैतबललाई पुर्ख्यौली माटो, पुरानो जीवनको माया पनि छ । उनी भन्छन् ‘आफ्नो जन्मभूमिको त माया छ नि पहिला ढाकरमा नुन बोकेर हिँडेका बाटो कस्तो राम्रो भएछ, त्यो बेलाको पाँचथर र धरान त अहिले चिन्नै नसकिने भएछ ।’
पहाडको दुःखले मुगलान
धरान-१० नारायण चौकमा भतिज गणेशकुमारको घरमा मैतबलका भाइ माइला ७६ वर्षीय पदम, ७४ वर्षीय साइँला भाइ दाउनबहादुर, कान्छी बहिनी सुकमाया बिच भलाकुसारीमा उनले पहाडको दुःखका कारण मुगलान हिँडेको बताए ।
मैतबलले भने ‘पहाडको दुःख देखेर २० वर्षको उमेरमै आसाम हिँडेको थिएँ ।’ उनका अनुसार उनी ३ वर्ष कोईलाखात बसे । ५ वर्ष आसामकै ठुली दिदीकोमा बसेपछि हाल घर लिएर बसेका छन् । उनको खेती किसानी अरुण चलमा पर्छ ।
कमाउन सकिएन, बिहे गरियो
नेपाली उखानै छ, नेपाल गए कपाल सँग, वर्मा गए कर्म सँग । मैतबलको जीवन पनि त्यसरी बित्यो । कमाइन्छ कि भनी मुङलान हिँडेका उनले कमाउन नसके पनि ४० वर्षको उमेरमा विवाह चैँ गरे । उनले भने ‘कमाउँला भनेर हिँडेको कमाउन त सकिएन उतै गएर ४० वर्षको उमेरमा बिहे गरियो ।’
मैतबलका २ छोरा १ छोरी छन् । अहिले छोराहरू कमाउने भएका छन् बुहारी छ । नाति नातिना छन्, उतैको श्रीमती पोहोर साल चैतमा खस्यो । यताको श्रीमती यति लामो समय पर्खेर बस्ने कुरा नभएको बताउँदै उनले भने ‘कता हिडि गएछ, यत्रो साल नआएपछि कसरी बस्छ ?’
नाम बदले पछि भेटिएन
मैतबलका माइला भाइ पदमप्रसाद लिम्बूले दाइलाई भेटिएला भनेर धेरै वर्ष खोजी गरेको बताउँछन् । उनले भने ‘धेरै मान्छेलाई सम्पर्क गरेँ ‘इण्डियामा पनि धेरै ठाउँ खोजेँ, यहाँ मैतबल नाम थियो उता नाम फेरेर बसेछ ।’ मैतबललाई देख्ने र चिन्ने कोही पो भेटिएन ।
खोज्दै जाँदा बल्ल जयबहादुर भनेर सम्पर्कमा हुँदै गयो । कोइलाखातबाट अरू मान्छे आउँथे तर दाइ चाहिँ नआउने गरेकाले झण्डे माया मारेको दाजु ६० वर्षपछि भेट भएको पदमबहादुरले बताए । भने ‘सँगै चेली माइती बस्न पाउँदा संसारकै खुसी मिलेको छ ।’
अरुणाञ्चलमा जायजेथा
साइँला भाइ दाउन बहादुरका अनुसार दाजु मैतबलको अरुण चलमा घरजेथा छ, गाई बाख्रा छन् । तिनैको मायाले फेरि उनलाई उतै डोर्याउँदै छ । तर यता भाइ-भतिजालाई यिनको नागरिकता बनाइदिन पाए हुन्थ्यो भन्ने लागेको छ ।
भतिज गणेशबहादुर भन्छन् ‘भोलि के हो के हो भारतले खेदायो भने नेपालै आएर बस्नुपर्छ नेपाली नागरिकता बने व्यवहार गर्न सजिलो हुने थियो ।’