इटहरी : जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको मिस्टर एण्ड मिस लिटल कोशीको कार्यक्रम विवादमा आएको छ । जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिई कार्यक्रम सञ्चालन भएपछि विवादित बनेको हो । 
कम्पनीले स्वीकृति लिएको दाबी गरेर अनुमति माग गरेको निवेदन देखाउने गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले दर्ता गरेर छाप लगाएको निवेदनलाई अनुमति पाएको भन्दै कम्पनीका निर्देशक जयराज राय दाबी गर्छन् । जिप्रका सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ओम भट्टराई अनुमति नलिएको बताउँछन् । यस्तो पत्रमा कार्यक्रम गर्न नमिल्ने बताउँदै उनले अफिसमा आएका पत्रलाई दर्ता गर्ने बित्तिकै अनुमति नहुने उनको भनाइ छ । 
बालबालिका प्रयोग गरेर कमाउने तरिका 
इटहरीको बरण्डा होटेलमा बालबालिका भेला पारेर मिस्टर र मिस कोशी बनाउने भन्दै कमाऊ धन्दा सुरु भएको छ । कम्पनीले मिस्टर र मिस कोशी हुन बालबालिकाको मार्फतबाट अभिभावकलाई भोटिङ गराउन लगाउँछन् । अभिभावकले आफन्त सँग भोटको लागि आग्रह गर्ने गरेका छन् । भोटकै आधारमा दैनिक बालबालिकालाई तलमाथि पार्ने गरिएको छ । पहिलो नम्बरमा पार्न अभिभावकले पनि खुलेर लगानी गरिरहेका छन् । 
३ महिना अगाडी सुरु भएको प्रतियोगिता १६ गते हुने फाइनल हुने कार्यतालीका रहेको छ । फाइनलको लागि ७९ जना बालबालिका प्रतिस्पर्धामा छन् । सुरुवातमा छनौट भएका सबै बालबालिका फाइनलमा पुगेका छन् । यस बिचमा एक जना पनि बालबालिका बाहिरिएका छैनन् । बालबालिकालाई नेतृत्व र व्यक्तित्व विकाशको तालीम प्रदान गर्ने भन्दै सहभागी गराइएको छ ।  
एक अभिभावकका अनुसार सुरुमा इन्ट्री फी भनेर ५ सय रुपैयाँ सङ्कलन गरियो । त्यसपछि ड्रेस, खाजा भनेर १५ हजार मागिएको उनले बताए । अडिसन सुरु भएपछि भने दुई तिन जोर फेसनेवल ड्रेस लगाउनुपर्ने भन्दै कपडा किन्नु परेको उनको भनाइ छ । आफ्नी छोरी सहभागी भएकाले उनको खुसीको लागि पैसा माया मारेको बताए । तर छोरीले पानी समेत खान नपाएको गुनासो गरेपछि उनले चित्त दुखाएका छन् ।  
अहिले १० रुपैयाँका दरले भोट किन्नुपर्ने भएको छ । जसले बढी भोट ल्याउँछ उही विजयी हुने व्यवस्था मिलाइएको छ । एक व्यक्तिले १ हजार भन्दा कमको भोट गर्न पाउँदैनन् । त्यति मात्र हैन बालबालिकालाई एक हजार रुपैयाँ गोटाका टिकट विक्री गर्न लगाइएको छ । बच्चालाई १५ वटा टिकट विक्री गर्नुपर्ने भन्दै टिकट थमाइएको अभिभावकहरू बताउँछन् । फाइनलको लागि सोही प्रवेश पास विक्री गर्न बालबालिकाले अभिभावकलाई दबाब दिएका छन् । 
कम्पनीले पैसा दिएको कुनै प्रमाण वा रसिद पनि दिएको छैन । भोटिङको लागि विद्युतीय माध्यमबाट कारोबार हुने सम्पूर्ण एप्सबाट पैसा तिर्न सकिन्छ । वालेट, मोबाइल बेङ्कीङ, ई सेवा, खल्ती, आइएमई पे, प्रभु पे, सेल पे लगायत विदेश बाट पठाउन मिल्ने गरी भिजा मास्टर्स कार्ड लगायत माध्यमहरू खुल्ला गरिएको छ । सबैले पठाएको पैसा कम्पनीको खातामा जम्मा हुने व्यवस्था मिलाइएको छ ।  
मिस्टर र मिस लिटल बाट एक एक जना विजयी हुन्छन् । एक जना विजयी हुनको लागि फाइनलमै ७९ प्रतियोगी सहभागी गराएर राम्रै कारोबार भइरहेको छ । फाइनलमा एक जनाले वेस्ट ट्यालेन्ट अवार्ड जित्नेछन् । विजेताले ३० हजार पाउने भएका छन् । लाखौँ खर्च गरेर ३० हजार लिन अभिभावक पनि तयार देखिएका छन् । विजेतालाई कम्पनीले निर्माण गर्ने आगामी चलचित्रमा बाल कलाकारको भूमिका दिने गरी आश्वस्त पारेको छ । 
एक अभिभावकले कपुरी न्युज सँग भने,‘मेरो कम्तीमा पनि १ लाख रुपैयाँ खर्च भयो होला । साथीभाइ आफन्तको समेत जोड्दा त कहाँ पुग्यो । अझै धेरै भोट गरेर मात्र प्रथम बनाउन सकिन्छ रे । कुन दिनमा सकिन्छ जस्तो भएको छ मलाई ।’ 
विगत ६ वर्ष देखि प्रतियोगिता गरिरहेको कम्पनीले ६ देखी १६ वर्ष सम्मका बालबालिकाको प्रतिस्पर्धा गराएको छ । ६ वर्षको बच्चा र १६ वर्षका किशोर किशोरीले सँगै प्रतिस्पर्धा गरिरहेका छन् । खासका बालबालिका लाई देखाएर अभिभावक बिचमा प्रतिस्पर्धा भइरहेको छ । ती अभिभावकको जस्तै सहरका प्रतिष्ठित व्यापारीले गरेको लाखौँ खर्चबाट कम्पनीले करोडौँ जम्मा गरेको छ ।
jay-media
littel-koshiAunami-ko-lagi-patra