धरान : ‘मिस टुरिजम ब्युटी अफ नेपाल २०२१’ की विजेता आयुषा बस्नेतले प्रतियोगिता भएको दुई वर्षमा पनि घोषित पुरस्कार नपाएको खुलासा गरेकी छन् । २०७८ कात्तिकमा भएको ‘मिस टुरिजम’ पहिलो सिजनको फाइनलमा बस्नेतले उपाधि जितेकी थिइन् ।

उपाधिसँगै उनलाई एक लाख रुपैयाँ पुरस्कार सहित गीता एभिएसनबाट नि:शुल्क एयर होस्टेसको तालिम पनि पाउने घोषणा गरिएको थियो । तर, विजेता बनेको दुई वर्ष लाग्दा सम्म एक रुपैयाँ पनि नपाएको आयुषाले गुनासो गरेकी हुन् ।

‘मिस टुरिजम घोषित भएको दिन आयोजकबाट डमी चेक पाएको थिएँ, त्यो बाहेक केही पाएका छुइन,’ उनले भनिन्, ‘पुरस्कारको रकम दिनुपर्ने त उहिल्यै हो, तर एक हप्तापछि, दुई चार दिनपछि भन्दा भन्दै दुई वर्ष हुन लागिसक्यो ।’

लामो समयसम्म पुरस्कार रकम र तालिम नपाएपछि राम्रो भविष्यको खोजीमा अस्ट्रेलिया जान बाध्य भएको उनले बताइन् । उनले भनिन्, ‘आयोजक सम्पर्कविहीन हुनुहुन्छ । सम्पर्कमा आउँदा सधैँ बहाना मात्रै बनाउनु हुन्छ ।’

प्रतियोगिताका व्यवस्थापक सौगात रिजाल भने मुख्य प्रायोजकबाट रकम नआएपछि विजेतालाई पुरस्कार रकम दिन ढिला भएको बताउँछन् । उनले भने, ‘कोभिडको कारणले प्रायोजकबाट पाउनु पर्ने रकम पाउन ढिला भएको हो । तर वैशाख अन्तिम सम्म पुरस्कार वितरण गरिसक्छौ ।’

सहारा इन्टरटेन्मेन्टले आयोजना गरेको ‘मिस टुरिजम २०२१’ मा भावना खनाल र सबिना पोदार क्रमशः फस्ट रनर अप र सेकेन्ड रनर अप बनेका थिए । यी दुई विजेताले पनि पुरस्कार पाएका छैनन् ।

प्रतियोगिताका विजेता र उपविजेताले गीता एभिएसनबाट नि:शुल्क एयर होस्टेस तालिम पाउने भनिए पनि अहिलेसम्म तालिम नपाएको आयुषाले बताइन् । तर आयोजक रिजाल प्रतियोगी सपना तामाङलाई निःशुल्क एयर होस्टेस तालिम उपलब्ध गराएको बताउँछन् ।

निःशुल्क एयर होस्टेस तालिम दिने भनेर विजेताहरूबाट कम्पनीले छनोट गर्ने कुरा भएको बताउँदै उनले भने, ‘त्यति बेला सपना तामाङलाई तालिम दिने निर्णय भएको थियो तर उहाँ विदेश जानु भयो ।’

‘मिस टुरिजम २०२१’को फाइनलमा अतिथि निर्णायक रहेका अरुण कुमार प्रधान र नवीन मेन्याङ्बो भने आफूहरूलाई पुरस्कार वितरणबारे केही थाहा नभएको बताउँछन् । नवीन मेन्याङबोले भने ‘हामीले पनि भर्खर तपाईँले भनेपछि मात्रै थाहा पायौँ ।’ यसको जबाफदेही आयोजक हुनुपर्ने उनको भनाई छ ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १५ प्रतियोगी मध्ये उत्कृष्ट १० हुँदै उत्कृष्ट ५ जनाबाट विजेता छनोट गरिएको थियो । प्रतियोगिताको फाइनलमा अरुण र नवीनसँगै चन्द्रिका मोते, नेहा बजाज, डा.एनएल राजवंशी, डोरेन्द्रलाल दाहाल, पवन अधिकारी, सुरेश राई पनि अतिथि निर्णायकको रूपमा रहेका थिए । प्रमुख निर्णायक क्याप्टेन अनुप थापा थिए ।

miss-tourisam-photo