धरान : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विपद्को बेला सरकारले गर्न नसक्ने कार्य गरेको नाममा गैर आवासीय नेपाली सङ्घले मुलुकलाई ‘डिजास्टर टुरिज्म’को थलो बनाउन नहुने बताएका छन् । उनले सम्पर्क समितिको नाममा पार्टीहरूलाई चन्दा दिएर मगन्ते नबनाउन पनि आग्रह गरे ।

विदेशमा बसेर त्यहाँको अनुशासन र संस्कार लिएर आफ्नै मुलुकमा उद्यम सुरु गरेर अनुभव व्यवहारमा उतार्न सके देशलाई समृद्ध बनाउन सकिने उनले बताए । मुख्यमन्त्रीले भने ‘विदेशमा सिकेको अनुभवलाई उद्यममा लगाउन सबै सुविधा दिन प्रदेश सरकार तयार छ ।’

गैर आवासीय नेपाली सङ्घद्वारा रेडक्रस सोसाइटी सुनसरीलाई प्रदान गरिएको मास क्याजुलिटी एम्बुलेन्स रक्तसञ्चार घुम्ती बस हस्तान्तरण समारोहमा सङ्घका पदाधिकारीको मन्तव्यप्रति टिप्पणीका रूपमा मुख्यमन्त्री कार्कीले उक्त कुरा बताएका हुन ।

विदेशबाट आउने च्यारिटीले माथिबाट झर्ने फलका आशामा बस्ने प्रवृत्तिको विकास गर्ने भएकाले यसलाई फेर्न जरुरी भएको बताउँदै उनले यसले मुलुकमा कुनै विपत्ति आइपरे ‘डिजास्टर टुरिज्म’ सुरु हुने बताए । मुख्यमन्त्री कार्कीले भने ‘त्यसरी आउने सहयोगको सदुपयोग हुन्छ कि हुँदैन भन्ने कुराले धेरै महत्त्व राख्दछ ।’

रहरले विदेश जाने हुनेखानेहरू त्यहाँ गएपछि आफ्नो सन्तानको भविष्यका लागि भन्दै विदेश बाध्यताले बस्नु परेको बताउने गरेका छन् । देशमा कुनै अवसर नपाएर बाध्यताले विदेश जानेहरू पनि छन् । दुवै कारणलाई फरक मापदण्डले हेर्ने गरिएकोमा मुख्यमन्त्री कार्कीले असन्तुष्टि जनाए ।

धनी परिवारकाहरु अस्ट्रेलिया, क्यानडा, अमेरिका जाँदा पढ्न गएको भन्ने रोजगारीका लागि खाडी देश जाँदा त्यसलाई युवा शक्ति बिदेसिएर गाउँमा खेत जोत्ने जनशक्तिको सङ्कट पर्‍यो भन्नु गलत मापदण्ड भएको मुख्यमन्त्रीको भनाई थियो ।

विदेश जानेहरूको लर्को देखाएर चिन्ता व्यक्त गर्ने राजनीतिक दलका नेताहरू विदेशमा सम्पर्क समिति बनाएर उनीहरूसँगै उनीहरूकै खर्चमा चन्दा उठाउन विदेश शयर गर्ने बताउँदै मुख्यमन्त्री कार्कीले भने ‘अवसर र श्रमको लागि बिदेसिनेहरू बारेमा नेताहरूमा चिन्ता लिने नैतिक आधार छैन ।’

गैरआवासीय नेपाली सङ्घतर्फ सङ्केत गर्दै मुख्यमन्त्री कार्कीले भने ‘विदेशमा बसेर राजनीतिक दलहरूलाई चन्दा दिने प्रथा बन्द गर्नु होला ।’ हरेक कुरामा चन्दा दिएर मुलुकलाई मगन्तेहरूको देश नबनाउन उनले आग्रह गरे ।

यसअघि गैर आवासीय नेपाली सङ्घका अध्यक्ष डा.बद्री केसीले भनेका थिए ‘हामी रहरले विदेश बसेको छैनौँ बाध्यताले बसेका छौँ ।’ विदेशमा बसे पनि बिहान बेलुका परिवारको चिन्ता, देशको चिन्तामा रहने गरेको उनको भनाई थियो । त्यही चिन्ताका कारण देशका लागि केही गर्ने भावनाले आवासीय नेपाली सङ्घको स्थापना भएको उनले बताएका थिए ।

उपाध्यक्ष डा.हेमराज शर्माले गैर आवासीयले कोरोनाकाल सहित विपद्का राष्ट्रिय घट्नाहरुकमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए। उनले भने ‘प्रक्रियाका कारण सरकारले तत्कालै गर्न नसक्ने उद्धार र राहतको कार्य गरेर गैर आवासीय नेपाली सङ्घले उदाहरण कायम गरेको छ ।’

रेडक्रस सुनसरीका सभापति उमेश थापाको सभापतित्वमा भएको हस्तान्तरण समारोहमा रेडक्रस केन्द्रीय उपमहासचिव मनोजकुमार थापाले गैर आवासीयले ७ प्रदेशमा प्रदान गर्दै आएको मास क्याजुलिटी एम्बुलेन्स रक्तसञ्चार घुम्ती बस आवश्यकताको आधारमा जिल्लाहरूमा पनि उपलब्ध गराउने योजना बनाउन आग्रह गरे ।

सुनसरी रेडक्रसका उपाध्यक्ष मुकुल कायस्थले मुख्यमन्त्री कार्कीसँग प्रदेशमा आवश्यकता परेकाहरूलाई रगत निःशुल्क गर्न रगत ब्याग निःशुल्क उपलब्ध गराउन वार्षिक बजेटमा व्यवस्था गर्न माग गरे । उनले रक्तदानमा आवश्यक ब्याग सहित किटमा हुने खर्चका कारण अहिले सम्म रगत निःशुल्क हुन नसकेको बताए ।

कार्यक्रममा गैर आवासीय नेपाली सङ्घकी उपाध्यक्ष रोजिना प्रधान राई, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले शुभकामना मन्तव्य प्रकट गरेका थिए । कार्यक्रम रेडक्रस सुनसरीका महामन्त्री प्रकाश राईले सञ्चालन गरेका थिए ।