धरान : धरानका मेयर हर्क साम्पाङले वीपी प्रतिष्ठानमा आफैँ तालाबन्दी गरेर यहाँको स्थानीय सरकारले प्रतिष्ठान बन्द गराउने सोच प्रदर्शन गरेको युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले आरोप लगाएका छन् ।
नेपाल उद्यमशील महिला महासङ्घको ऊनको सामाग्री बनाउने तालीम उद्घाटन गर्न धरान आएका मन्त्री लिम्बुले भने ‘स्थानीय सरकार प्रमुख बिपी अस्पताल चलाउने मनस्थितिमा नभएर बन्द गर्ने सोचमा रहेकोले मेयर हर्क साम्पाङले आफै तालाबन्दी गरेका हुन ।’
वीपी प्रतिष्ठान धरानको मात्र सम्पत्ति नभएर राष्ट्रकै सम्पत्ति भएको अवस्थामा नगर प्रमुख जस्तो गरिमामय पदमा बसेका स्थानीय सरकार प्रमुख आफैले तालाबन्दी गर्ने अनि आफूलाई नसोधी ताला खोले ठिक हुँदैन भन्नु मूर्खतापूर्ण भएको उनको भनाई थियो ।
मन्त्री लिम्बुले प्रश्न गरे ‘स्थानीय सरकार प्रमुख तथा अस्पताल सिनेट सदस्य आफै भएर ताला लगाउने कस्तो खालको जनप्रतिनिधि छनौट गर्यो धरानले ?’ मन्त्री लिम्बुले जनप्रतिनिधि समन्वयका लागि निर्वाचित भएको हो कि द्वन्द्व सृजना गरी समस्या उत्पन्न गर्न निर्वाचित भएका हुन भन्दै धराने जनताले सोच पुर्याउन आग्रह गरेका छन् ।
बिपी प्रतिष्ठान मेडिकल शिक्षा प्रदान गर्ने र उपचारको सेवा सुविधा दिने स्थल भएकाले धराने जनताले ठुलो सम्पत्तिको रूपमा अधिग्रहण गर्न रक्षात्मक भूमिकामा उभिनु पर्ने उनले बताए । मन्त्री लिम्बुले भने ‘गलत छनौटले गलत परिणाम आउन सक्ने भएकोले धरानले असल नेतृत्व छनौट गर्नुहोस् ।’
सरकार वीपीको समस्या समाधान गर्ने उपायको छलफल र वार्तामा रहेकोले चाडै निष्कर्षमा पुग्ने बताउँदै मन्त्री लिम्बुले बिपी सञ्चालन गर्दा स्वास्थ्योपचारमा बढी भन्दा बढी सेवा सुविधा र मेडिकल शिक्षणबाट मुलुकका लागि डाक्टर उत्पादन गर्ने थलो भएको बताए ।
मन्त्री लिम्बुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभागीय मन्त्री मोहन बहादुर बस्नेत र मुख्य सचिवहरू सँग हिजै छलफल गरेको उल्लेख गर्दै मन्त्री परिषदमा र राजनैतिक दलहरू बिच समस्या समाधानका उपायका बारेमा छलफल हुने बताए ।
मन्त्री लिम्बुले महिलाहरूलाई उद्यमशील सक्षम र सबल बनाउन लगानी गर्न सरकार प्रतिबद्ध भएको भन्दै नेपाली बजारमा कच्चापदार्थ जे उपलब्ध छ त्यसलाई व्यवसायीकरण गर्न महिलाको ठुलो हात रहेको बताउँदै भने ‘आर्थिक सुदृढीकरण गर्न स्थानीय कच्चापदार्थ प्रयोग गरी उत्पादन वृद्धि गर्ने उद्यममा जोड गरौँ ।’
स्थानीय कच्चा पदार्थ पराल, पटेर, अल्लो, सिस्नु, ढाका, भेडाको ऊनलाई सदुपयोग गरी 'आत्मनिर्भर उद्यम' समयको माग भएको मन्त्री लिम्बुले बताए । उनले भने ‘जुन स्थानमा जे उपलब्ध छ सोही पदार्थ सदुपयोग गर्दै उद्यमशील भई देशको आर्थिक उपार्जनमा वृद्धिदर गर्न सहयोग पुग्न सक्छ ।’
सुनसरी उद्योग वाणिज्य सङ्घ सुनसरीको सभा हलमा सञ्चालन हुने तालिम माघ ३ देखि १७ गते सम्म सञ्चालन हुने महासचिव मञ्जु पराजुलीले बताइन् । तालिममा ४५ जना सहभागी छन् ।
समारोहमा रेडक्रसका सभापति उमेश थापा, एकीकृत समाजवादीका अध्यक्ष रेवतिरमण राई, धरानकी पूर्व उपमेयर मञ्जु भण्डारी, प्रदेश सांसद रमेश बस्नेत, यशोदा कायस्थ लगायतले तालिमको सफलताको शुभकामना दिएका थिए । अध्यक्षता उद्यमशील महिला महासङ्घका केन्द्रीय अध्यक्ष राधा कार्कीले गरेको थिइन् ।
सोही अवसरमा नेपाल उद्यमशील महिला महासङ्घ कोशी प्रदेश कमिटी अध्यक्ष बिटु गुरुङको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भएको घोषणा गरिएको थियो । वरिष्ठ उपाध्यक्ष मञ्जु श्रेष्ठ, महासचिव ज्ञानु थापा, सचिव शारदा कोइराला, कोषाध्यक्ष शिला तामाङ छन् ।
सदस्यहरूमा एलिना राई, सुमित्रा प्रसाईँ थापा, रोजिना कुलुङ राई, रिता लिम्बू, नगेन्द्र कुमारी खत्री, सुन्तला अधिकारी परियार, अम्बिका धमला, विमला सुवेदी कार्की, शोभा घिमिरे, रिता राई छन् ।