इटहरी : पुसको अन्तिम साता भारतको पश्चिम बङ्गालमा नाटक प्रदर्शन गरेर फर्किएपछि निक्कै फुर्तिलो देखिएका छन् प्रज्वल दुलाल । यसअघि पनि भारतमा नाटक प्रदर्शन गरेका उनी यस पटक बढिनै उत्साहित छन् ।
शत्रु नाटक प्रदर्शन पछि इटहरी फर्किएका हरेक कलाकारहरू हर्षित देखिन्छन् । डेभिड विष्ट, आशिस पुरी, विकाश श्रेष्ठ, नीतिका घिमिरे, करण प्याकुरेल, हिमाल निरौला, अविन ठटाल, सक्षम किराँती, जेम्स श्रेष्ठ भारतको प्रदर्शनबाट सन्तुष्ट छन् ।
नाटकमा पाएको प्रतिक्रियाले उनीहरूमा उत्साह थपेको हो । त्यस सँगै नाटकमा देखिएको व्यवसायीकताले उनीहरूको अनुहारमा खुसी थपेको छ ।
यसअघि आफैले निर्देशन गरेको ‘रिफण्ड’ नाटकको मुख्य कलाकारको भूमिकामा समेत थिए दुलाल । पोषण तथा आहार विज्ञान चौथो वर्षका विद्यार्थी उनी थेसिसको तयारीमा छन् । नाट्य क्षेत्रमा अब्बल बन्दै गएका दुलालको पढाइ र रुचि फरक छ । उनी कलाकारीताकै मार्फत स्थापित हुने सोचमा छन् । तर भरपर्दो आम्दानीको श्रोत नहुँदा दोधारमा छन् उनी ।
नाट्यकर्मी करण प्याकुरेल व्यवस्थापन सङ्कायमा स्नातकका विद्यार्थी हुन् । कलालयले सञ्चालन गर्ने स्कुल थिएटर मार्फत नाट्य क्षेत्रमा जोडिएका उनी त्यसयता निरन्तर छन् । बाध्यताले कलाकारितामा प्रवेश गरेका उनी अहिले अभिनयबाट टाढिन सक्ने अवस्थामा छैनन् ।
अभिनयले मन र मस्तिष्क दुवैलाई आनन्दित बनाउने भन्दै पछिल्लो समयमा घरको परिस्थिति र बजारको अवस्थाले समस्या बढाएको बताउँछन् । अहिले नाटक हेर्नेले समेत पैसा तिर्न थालेपछि कलाकारितामै आम्दानी गर्न सकिन्छ की भन्ने आशा पलाएको अनुभव सुनाउँछन् । पछिल्लो समय धेरै स्टेज कार्यक्रम गरेको बताउँदै शत्रु नाटकको सफलताले हौसिएका छन् ।
विकाश श्रेष्ठलाई पनि शत्रुको सफलताले हौसला मिलेको छ । ‘स्कुल थिएटर ३ चलिरहेको बेला आमाले घरैमा बसेर बिग्रिने भयो भनेर साथीहरूको जिम्मा लगाउनु भयो । केही दिन पछि मज्जा लाग्न थाल्यो । पहिला सर भनेको हप्कीदप्की गर्ने र कुट्ने मात्र हुन्छन् भन्ने बुझाई कलालयले परिवर्तन गरिदियो । रमाइलो गर्दै सिकाउने सर पहिलो पटक कलालयमा भेटियो,’ उनले अनुभव सुनाए ।
शिक्षा सङ्कायमा १२ कक्षा पास गरेका उनी पारिवारिक जिम्मेवारीले थोरै थिच्न थालेको बताउँछन् । आफूले रुचि गरेको र बुझेको कलाकारीताकै क्षेत्रमा भविष्य बनाउन पाए खुसी हुने उनको भनाइ छ ।
विकाशकै भनाइमा थप आशावादी हुँदै जेम्स श्रेष्ठ भन्छन्, ‘नाटकलाई व्यवसायीक बनाउन सकिन्छ होला । यसैबाट आम्दानी भएन भने चाहिँ गाह्रो हुन्छ तर अब रङ्गकर्मी भएर बाच्न सकिन्छ होला जस्तो लाग्छ । यसलाई आम्दानीको रूपमा बढाउनुपर्छ ।’ जेम्स स्कुलबाटै कलाकारिताको लतमा फसेको बताउँछन् ।
कम्प्युटर इन्जिनियर समेत रहेको विनय कोइरालाले बिजनेस एडमिनीस्ट्रेसनमा स्नातकोत्तर गरेका छन् । तर उनी कलालयबाट प्रस्तुत हुने अधिकांश नाटकको मुख्य भूमिकामा देखिन्छन् । पछिल्लो समय नाटक व्यवसायीक बनेकोमा खुसी व्यक्त गर्छन् उनी । नाटक बाट करियर बनाउन सकिन्छ भन्ने आशा बोकेका विनय बजारले बिस्तारै रङ्गकर्मीलाई स्थापित गराउने विश्वास राख्छन् ।
कालालयका अग्ला कलाकार डेभिड विष्ट अहिलेसम्म गरेका कामहरू प्रति सन्तुष्ट छन् । निरन्तर अभ्यासमै रहेकाले अहिले नै नाटकमा भविष्य छैन भन्ने भाष्य बनाउन हतारो हुने उनको बुझाइ छ । उनी सँगै आइटीमा स्नातक सकेका आशिष पुरी देखी नाट्यकर्मी हिमाल दाहाल लगायत कलाकारको उत्साह कम छैन ।
भर्खरै करियर सुरु गरिरहेका उनीहरू रुचिकै विषयमा रमाउन चाहन्छन् । तर आम्दानीको भरपर्दो श्रोत नहुँदा पलायन हुने खतरामा छन् ।
अब्बल कलाकारको रूपमा उदाउँदै गरेका अनुजा पौडेल, जीवन बस्नेत, सुगम दुलाल, सुमन शाह शङ्कर, गरिमा पाठक उज्वल भविष्यको खोजीमा इटहरी बाहिर छन् ।
विवेक थेबे, मनोज कुमार राई, राज श्रेष्ठ, सुस्मा भट्टराई, रिम्चेन तामाङ, प्रसुसदक्त ओझा, पूर्णिमा भट्टराई हालसम्म सक्रिय छन् । त्यस सँगै विमल बराल, माधव दाहाल पनि इटहरीमै छन् । तर कहिलेसम्म इटहरीकै रङ्गमञ्चमा रहन्छन् भन्ने यकिन छैन ।
नाटक घरको अभाव कलाकारलाई दबाब
कलालय इटहरीले विश्वेश्वर प्रसाद कोइरालाको कथा ‘शत्रु’लाई नाट्य रूपान्तरण गरेर व्यवसायीक अभ्यासको सुरुवात गरेको छ । २०६६ साल देखी इटहरीमा सक्रिय हुँदै आएको कलालयले पछिल्लो समय अन्तरदेशिय नाटक प्रदर्शनी गर्दै आएको छ । पुराना कलाकार समेटेर तिन दिन नाटक प्रदर्शन गरेको कलालय अहिले व्यवसायीकताको गतिमा अगाडी बढेको छ । इटहरीमा मात्र हैन नेपालको नाट्य क्षेत्रको प्रतिनिधित्व गर्दै कलालयले अन्तर्राष्ट्रिय रङ्गमञ्चमा उपस्थिति देखाइरहेको छ ।
कलालयले इटहरीलाई नाट्य क्षेत्रको उर्वर सहरको रूपमा विकाश गरेको छ । नाटक घर नहुँदा पनि कलालयले हरेक वर्ष स्कुल थिएटर सञ्चालन गरिरहेको छ । हरेक ६ महिनामा कला प्रेमीको लागि नाटक प्रस्तुत गरिरहेको छ ।
कलालयका अध्यक्ष तथा रङ्गकर्मी सोनु जयन्ती अभावका बिच सुरु भएको कलालयले नाट्य क्षेत्रमा आशा जगाउन सफल भएको बताउँछन् । ‘पहिलो कुरा नाटकका दर्शक पाउनै गाह्रो अवस्था थियो । हामीले पहिलो पटक इटहरीमा नाटक हुन्छ भन्ने प्रमाणित गर्नु थियो । त्यो गर्यौ । दर्शकलाई नाटक के हो भन्ने बुझाउन सफल भयौँ । अहिले नाटकका आफ्नै दर्शक बनेका छन् । स्कुलका बालबालिकालाई समेटेर सुरु गरेको स्कुल थिएटरले कलाकार उत्पादन गरेको छ । अब ती कलाकारलाई टिकाउनु पर्ने चुनौती छ,’ उनले भने ।
नाटकको व्यवसायीकतामा ध्यान दिएको बताउँदै नाटक घरको अभाव रहेको सुनाए । संस्थाले समन्वय र संरक्षण गर्न सक्ने बताउँदै उनले इटहरीमा उपयुक्त जग्गा उपलब्ध भए नाटक घर निर्माण अभियान चलाउने बताए । तथापि नाटक घर निर्माणको लागि जनप्रतिनिधिले चासो नदिएको उनको भनाइ छ । नाटक घर भए कलाकारलाई व्यवसायीक नाटक प्रस्तुतिको लागि हौसला मिल्ने उनले प्रस्ट पारे । नाटक गर्न भन्दा त्यसको तयारीको लागि ठाउँ र भाडाको चिन्ताले धेरै दिमाग खर्च हुने उनले दुखेसो गरे ।
नाटक घर अभावमा कलाकारको मनोबल उच्च बनाउन नसकिएको बताउँछन् शत्रु नाटकका निर्देशक तथा नाट्यकर्मी प्रज्वल पराजुली । काठमाण्डौमा लामो समय नाट्य क्षेत्रमा काम गरेर इटहरी फर्किएका उनी अब नाटकलाई व्यावसायिकीकरण गर्नुपर्ने बताउँछन् ।
व्यवसायीकता नभई अभ्यास मात्र गरेर कलाकार र कलाकारिता टिकाउन समस्या हुने उनको भनाइ छ । नाटक घर भएपछि मात्र नाटकलाई व्यवसायीक बनाउने सबैभन्दा पहिलो सर्त पुरा हुने उनको तर्क छ । ‘सृजनाको लागि साधना चाहिन्छ । साधनाको लागि साधन चाहिन्छ । नाटकको लागि अनिवार्य साधन भनेको नाटक घर हो । रिहल्सनको लागि घर भाडामा खोज्ने देखी नाटक प्रदर्शनीको भाडा तिर्ने समस्याले कलाकारको ऊर्जा खर्च भइरहेको छ । यस्ता समस्याका बिच हामीले चाहेजस्तो गुणस्तरीयता दिन सक्दैनौ,’ उनले भने ।
इटहरी सँगै जोडिएको विराटनगरमा दुई वटा नाटक घर छन् । आरोहण गुरुकुलले सञ्चालनमा ल्याएका दुई वटै नाटक घरमा अवस्था अनुसार नाटक प्रदर्शन गर्ने गरेको छ । आवास गृह सहित एक करोड २५ लाख लागतमा निर्माण भएको २५० सिट क्षमता भएको नाटक घर एक दशक पुरानो हो । ३ करोड १५ लाख लागतमा तिन वर्ष अगाडी ४५० सिट क्षमताको नाटक घर सञ्चालनमा छन् । आरोहण गुरुकुलले अन्य साहित्यिक कार्यक्रमको लागि समेत नाटक घर प्रयोगमा ल्याउँदै आएको छ । एसी सहितको व्यवस्थित नाटक घरले विराटनगरका रङ्गकर्मीमा उत्साह थपेको बताउँछन् आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री ।