इटहरी : इटहरी कला तथा साहित्यको उर्वर भूमि हो । विभिन्न साहित्यिक सम्मेलन र सांस्कृतिक महोत्सवले इटहरीलाई चलायमान बनाइरहेको छ । निर्माण कम्पनी देखी फुटबल क्लबले आयोजना गर्ने महोत्सवमा इटहरी उपमहानगरले राम्रो लगानी गर्दै आएको छ।

कलाकारिताको क्षेत्रमा अनवरत काम गरिरहेको कलालय इटहरीले भने नाट्य क्षेत्रमा उल्लेख्य काम गर्दै आएको छ । नाटक मञ्चन मात्र नभई कलाकार उत्पादन र त्यसको व्यवसायीकरणमा कलालय अग्रसर छ । पछिल्लो समय इटहरीमा ३ दिने अन्तर्देशीय नाटक महोत्सव आयोजना हुने भएको छ । कात्तिक १९ गते देखी २१ गते सम्म ‘दोस्रो अन्तर्देशीय साझा रङ्गमञ्च २०८०’ आयोजना हुँदैछ ।

इटहरीको तायरिप्ची भवनमा आयोजित महोत्सवमा नेपाल र भारतका रङ्गकर्मीहरूले नाटक प्रस्तुत गर्नेछन् । ३ दिन सम्म चल्ने महोत्सवमा ४ वटा नाटक मञ्चन गरिने कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले बताएका छन् । नेपालका ३ संस्थाहरूले ३ वटा नाटक मञ्चन गर्नेछन् भने भारतको पश्चिम बङ्गालबाट आएको रङ्गमञ्च टोलीले एउटा नाटक मञ्चन गर्ने उनले बताए ।

सोही क्रममा कलालय इटहरीको सहकार्यमा बिपी कोइरालाको कथा शत्रु माथि नाटक प्रदर्शन गर्न लागेको उनको भनाइ छ । एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपालको आयोजना र कलालयको सहकार्यमा शत्रु प्रदर्शन हुने भएको छ । कदम थिएटर दमकले ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ र आरोहण गुरुकुल विराटनगरले ‘नेता जी’ मञ्चन गर्ने भएका छन् ।

पश्चिम बङ्गाल भारतबाट आएका कलाकारहरूले ‘एक टु अगुन्डे’ प्रदर्शन गर्ने जयन्तीले सुनाए । भारतीय कलाकारहरू १८ कात्तिकमा इटहरी आइपुग्ने भएका छन् । जयन्तीका अनुसार प्रत्येक वर्ष नाटक मञ्चन गर्ने योजना रहे पनि कोभिड महामारी पछि पहिलो पटक महोत्सव आयोजना गर्न लागिएको हो ।

इटहरीमा भइरहेको नाटक महोत्सव बारे इटहरी उपमहानगरपालिकाका सामाजिक विकाश विज्ञ भने अनविज्ञ छन् । सामाजिक विकाश विज्ञ चन्द्रप्रसाद भट्टराई आफूलाई नाटकको बारेमा केही थाहा नभएको बताउँछन् । नाटक सामाजिक विकाशको क्षेत्र भित्र नपर्ने भएकाले यसै भन्न नसक्ने उनले बताए । ‘नाटक खासमा ठ्याक्कै चाहिँ कला साहित्य भित्र पर्ने तर सामाजिक विकाशको क्षेत्रमा पर्दैन । कला साहित्य क्षेत्रको बारेमा यसै भन्न सकिँदैन,’ उनले भने ।