वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं.१ प्राचीन हरिद्वार चतराधाममा जारी बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ अन्तर्गत वराहक्षेत्र मन्दिर स्थित कोकाह कौशिकीको सङ्गममा दोस्रो महास्नान गरिएको छ ।

मङ्गलवार बिहान शुभ साइतमा नौमती बाजा सहित चतराधामबाट पैदल हिँडेर वराहक्षेत्र मन्दिरको कोकाह कौशिकी सङ्गममा पुगेर महास्नान गरिएको हो ।

महास्नान गर्न चतराधामबाट हजारौँ सङ्ख्यामा बाजागाजासहित भजन कीर्तन गर्दै वराहक्षेत्र मन्दिर पुगेका थिए । चतराधामबाट जगद्गुरु बालसन्त मोहन शरण देवाचार्य, भारतका जगद्गुरु राम दिनेश आचार्य श्री, भारत बिन्द्रावनका महन्त हेमकान्त शरण देवाचार्य महाराजश्री, वराहक्षेत्र नगर प्रमुख रमेश कार्की पैदल वराहक्षेत्र पुगेका थिए ।

महास्नानमा वडाध्यक्षहरू लगायत शिष्ट, विशिष्ट, सन्त महन्त, पिठाधिस, साधकी, धर्माचार्य, मठाधिस, समाजसेवी, राजनैतिक दलका नेता, धार्मिक व्यक्तित्व, स्थानिय जनप्रतिनिधि, स्थानीय वासीहरू वास गरी हजारौँको सहभागिता रहेको नगर प्रमुख तथा बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला समितिका सह-अध्यक्ष रमेश कार्कीले बताए ।

गत चैत्र २७ गतेदेखि २०८१ वैशाख २८ गते सम्म लाग्ने कुम्भ मेलामा मुख्य पाँच स्नान रहेका छन् । पहिलो स्नान कुम्भ प्रारम्भको दिन चैत २७ गते गरिएको थियो । प्रथम कुम्भ स्नान वैशाख १ गते सम्पन्न भएको थियो । भन्ने मङ्गलवार दोस्रो महास्नान गरिएको हो ।

कुम्भमा स्नान गरे अक्ष प्राप्ति हुने मान्यता रहेकाले मानिसहरू देश विदेशबाट कुम्भ स्नान गर्न चतराधाम आउने गरेको कुम्भ मूल आयोजक समितिले जनाएको छ ।

कुम्भ प्रारम्भ महास्नान चैत २७ गते भइसकेको थियो । कुम्भको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए । १५ दिनदेखि जारी कुम्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन, सङ्घीय सरकारकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्की, पूर्व गृह मन्त्री कृष्ण सिटौला, पूर्व शिक्षा मन्त्री अर्जुन नर्सिङ केसी, पूर्व अर्थ मन्त्री प्रकाश शरण महत, पूर्व वन मन्त्री शङ्कर भण्डारी, नेपाल र भारतका राजनैतिक दलका नेताहरू, सुरक्षा निकायका प्रमुख, पूर्व प्रधानन्यायाधीश, मन्त्रालयका सचिव, प्रदेश प्रमुख, सङ्घीय सांसद, प्रदेश सरकारका मन्त्री, प्रदेश सांसद, कलाकार लगाएका देश विदेशमा शन्त, महन्तहरूको उपस्थिति रहँदै आएको छ ।

नेपालमा एक र भारतका चार गरी जम्मा पाँच स्थानमा लाग्ने गरेको कुम्भ मेला नेपालमा सुनसरीको वराहक्षेत्रस्थित चतरामा लाग्दै आएको छ । विश्वको सबैभन्दा ठुलो धार्मिक मेलाको रूपमा सनातन हिन्दु धर्मावलम्बीहरूले लिने गरेको कुम्भ मेलामा लाखौँ मानिसहरूको जमघट हुने बताइएको छ ।

प्राचीन हरिद्वारका नामले समेत चिनिने चतराधाममा २०५९ सालदेखि कुम्भको आयोजना हुँदै आएको छ । चतराधाममा प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला र बाह्र वर्षमा पूर्ण कुम्भ मेला लाग्ने गरेको हो ।

कुम्भको विधान उल्लेखित हस्त लिखित पुस्तक अनुसार नै चतराधाममा कुम्भ मेलाको सुरुवात गरिएको जगद्गुरु वालसन्त मोहन शरणले बताए  । अमृतको थोपा झरेको भारतको मध्यप्रदेशस्थित उज्जैन, प्रयाग, महाराष्ट्र स्थित नसिक र उत्तराखण्डस्थित हरिद्वारमा कुम्भ मेला लाग्दै आएको र नेपालको चतराधाममा अमृतको तर भेटिएकोले यसको महत्त्व र महिमा ठुलो रहेको छ ।

कौशिकी (सप्तकोसी) नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । समुन्द्र मन्थन पछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यका बिच भएको लुछातानीको क्रममा जहाँ-जहाँ अमृत खस्यो त्यहाँ-त्यहाँ कुम्भ पर्व लाग्ने गर्दछ । नेपालको चतराधाममा अमृतको पीठ नै खसेकाले कुम्भको चतराधाम राजधानीको रूपमा स्थापित भएको उनले बताए ।