- अनुसा थापा
सर्वसाधारण दैनिक आ-आफ्नो कामले बाहिर निस्किन्छन् । कुनै जागिर खान, कुनै आफ्नै व्यापार गर्न, कुनै बिरामी भेट्न त कुनै कहाँ । तर, अहिले यसको ठ्याक्कै उल्टो भएको छ । आफ्नो काममा जान छोडेर सहकारी, लघुवित्त र बैङ्कमा धाउँदै ठिक्क भएको छ, सर्वसाधारणलाई ।
सरकारी होस् या निजी कर्मचारी, बहाना बनाएर कार्यालयबाट छुट्टी लिने अनि आफ्नो डुब्या पैसा पाइन्छ कि भनेर सहकारी र लघुवित्त धाउने । व्यापारीहरू सटर नै बन्द गरेर सहकारी र लघुवित्त धाइरहेका छन् । अधिकांश वृद्धवृद्धाले आफ्नो ज्येष्ठ नागरिक भत्ता सहकारी र लघुवित्तमा राखेका थिए ।
अहिले उनीहरूको पनि त्यही गएर दिनभरि कुर्ने ड्युटी लागेको छ । खाना खायो, वित्तीय संस्थाको कार्यालयमा पुगिहाल्यो । पहिलेपहिले सहकारी, लघुवित्त र फाइनान्सका कर्मचारी घरघरमा पैसा लिन आउँथे । तर, अहिले विपरीत अवस्था छ । आफ्नो पैसा पाइन्छ कि भनेर सर्वसाधारणलाई कामधन्दा छोडेर वित्तीय संस्थाको पछि लाग्दै ठिक्क भएको छ ।
आफ्नै पैसाले दुःख दिएको अवस्था छ । एकातिर व्यापार व्यवसाय बन्द गरेर धाउनुपरेको छ भने अर्कोतिर भाडा पाकिरहेको छ । सटरको भाडा तिर्नैपर्यो । अर्काको जागिर खानेलाई पनि कहाँ सुख छ र । दिनहुँ छुट्टी माग्दा कामबाटै निकालिदिने हो कि भन्ने डर हुन्छ । अहिले धेरैको धन्दा वित्तीय संस्थाको कार्यालय धाउने भएको छ ।
तर, पैसा भने पाएका छैनन् । आजभोलि भन्दै झुलाउने काम मात्रै भइरहेको छ । गाउँदेखि सहरसम्म सबैको उस्तै हालत छ । जताततै सहकारी, लघुवित्त र फाइनान्सले डुबाएका पीडित छन् । फाइनान्सहरू घाटामा गएका छन् । बैङ्कको अवस्था पनि पछिल्लो समय त्यस्तै छ ।
लघुवित्त र सहकारी त भागी नै सकेको छ । भएका छिटफुटले पनि पैसा फिर्ता दिन सकेका छैनन् । बढी ब्याजको प्रलोभन देखाएर बैङ्क तथा वित्तीय संस्थाले निक्षेप सङ्कलन गर्यो । अहिले फिर्ता गर्नलाई दाँतबाट पसिना आइरहेको छ । वित्तीय संस्थाहरूले आफ्नो सम्पत्ति बेचेर बचत फिर्ता गर्ने आश्वासन दिइरहेका छन् ।
तर, आश्वासनले मात्र भएन । उनीहरूको वर्षौँसम्म घरजग्गा, शेयर, गाडी र सुन बिक्री नहोला । तबसम्म बचतकर्ता टुलुटुलु रमिता हेरिरहने ? घरजग्गा, शेयर र गाडीको कारोबारमा छपक्कै मन्दी आएको छ । यी क्षेत्रमा लगानी गर्ने मान्छे छैनन् । बढ्दै गरेको सुन पनि अहिले घटेको अवस्था छ ।
चार हजार कित्तामा सेयर खरिद गर्नेहरू आज चुर्लुम्मै भएको छ । बैङ्कले एक सयमा निकालेको सेयर न हो । गाडी खरिदबिक्री पनि सुस्ताएको छ । घरजग्गा कारोबार त ठप्प जस्तै छ । कसले किन्छ घरजग्गा ? आनाको लाख नपर्ने जग्गाको मूल्य दिनको दुई गुणा र रातको चार गुणाले बढाइयो ।
सुनमा लगानी गर्नेहरूको पनि त्यस्तै अवस्था आउन सक्ने अड्कलबाजी गर्न थालिएको छ । किन कि बजार सधैँ माथि मात्र जाँदैन । तर, यो कुरा नेपालीले बुझ्दैनन् ।
अहिले बजारमा घरजग्गा, शेयर र गाडी खरिद गर्ने कोही भेटिँदैनन् । अझै पनि सहकारी, लघुवित्त र फाइनान्सका सञ्चालकले हामी धितो बेचेर पैसा फिर्ता गर्छु भन्नु भ्रम छर्नु होइन ?
उनीहरू बचतकर्तालाई अलमलाइरहेका छन् । यता अलमलाउने उता पैसा फिर्ता नदिने । बुढापाकाले भन्थे, ‘पैसा हातले दियो, खुट्टालाई दुःख ।’ आफ्नै पैसाका लागि वित्तीय संस्थाको कार्यालय धाउँदाधाउँदै बचतकर्ताले दर्जनौँ जुत्ता फटाइसके । यो क्रम दुई वर्षदेखि चली नै रहेको छ ।
तर, पैसा फिर्ता आउने हो कि होइन ? टुङ्गो छैन । सहकारी क्षेत्र ध्वस्त भइसकेको कुरा कसैबाट लुकेको छैन । अधिकांश सहकारी भागिसकेका छन् भने केही ‘घिटीघिटी’ को अवस्थामा बाँचिरहेका छन् । यता, बैङ्क पनि डुब्ने जोखिम बढेको छ । धितोको मूल्याङ्कनभन्दा बढीबढी कर्जा दिएकाले बैङ्कको लगानी पनि धरापमा छ ।
अधिकांश बैङ्कको खराब ऋण बढेको छ । बैङ्क तथा वित्तीय संस्थाले कहाँ कर्जा लगानी गरेको छ ? सरकारले मतलबै गरेन । छुट दियो । जसको फाइदा तिनीहरूले उठाए । जता नाफा हुन्छ, त्यतै आँखा चिम्लेर लगानी गरे । जबकि त्यो बैङ्क तथा वित्तीय संस्थाको होइन, आम सर्वसाधारणको बचत थियो ।
एक सयको सेयर रातारात चार हजार पुग्यो । भारतमा एक लाख नपर्ने गाडी यहाँ ३५ लाखमा दलालीले बेचे । घरजग्गाको त कुरा गरिसाध्य छैन । व्यक्ति पनि घरजग्गा मै लगानी गर्ने, बैङ्क तथा वित्तीय संस्था पनि । अहिले सबै त्यसकै असर हो । रातारात तीन गुणा बढी नाफा कमाउन खोज्दा करोडौँ बचतकर्ताको बिल्लिबाठ भएको छ ।
अहिले बैङ्कले कर्जा उठाउन सकेको छैन । धितो भएर के गर्नु । किन्ने मान्छे हुनुपर्ने । धितो चपाउन मिलेन । सरोकारवाला निकायले नियमन नगर्दा र रातारात नाफा कमाउन खोज्दाको परिणाम हो यो । यसले बैङ्क तथा वित्तीय संस्थामाथि आम सर्वसाधारणको विश्वास गुमेको छ ।
बचतकर्ताले घरजग्गामा लगानी गर भनेर त आफ्नो पैसा राखेका थिएनन् । उत्पादनमूलक क्षेत्रमा लगानी गरेको भए सायदै आज यो दिन देख्नुपर्थ्यो । बचतकर्ता डुबाउनमा सरकार पनि उत्तिकै दोषी छ । बैङ्क तथा वित्तीय संस्थाले जता नचायो, त्यतै नाँच्दा आज यो अवस्था बन्यो ।
सहकारीका बचतकर्ता त सडकमै आइपुगेका छन् । कतिपयको जीवनभरको कमाइ र सम्पत्ति बेचेर राखेको पैसा सहकारीले स्वाहा बनाइदिएको छ । लघुवित्तको हकमा पनि त्यही नै छ । अब बैङ्कले पनि बचतकर्तालाई सडकमा पुर्याउन बेर छैन । आफ्नो पैसा डुबेको सहन नसकेर कतिपयले आत्महत्या गरे ।
पीडा सहन नसक्दा कतिपयको हृदयाघातबाट ज्यान गयो । कतिपय रोगी बने । सहकारी र लघुवित्तले यस्तो पीडा दियो कि बयान गरिसाध्य छैन । आम सर्वसाधारणको आँखामा बैङ्क तथा वित्तीय संस्था ‘चोर र ठग’ हो । तर, सरकार सुनेर पनि सुनेझैँ गर्छ । एक जनाको मात्र पीडा होइन यो ।
करोडौँ बचतकर्ताको खर्बौँ रुपैयाँ डुबेको छ । तर, सरकारलाई मतलब नै छैन । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी बैङ्कमा कुनै समस्या नभएको बताउँछन् । त्यसो त दिनदिनै सञ्चारमाध्यममा छापिएका खबरहरू चाहिँ के हो ? बैङ्क सर्वसाधारणको नजरबाट गिरिसकेको छ ।
बैङ्क तथा वित्तीय संस्थामा यत्रो समस्या देखिसक्दासमेत अर्थमन्त्री वर्षमान पुन र सहकारी मन्त्री बलराम अधिकारी ‘चिल’ पारामा बसिरहेका छन् । बचतकर्ताको पीडा तिनले देखेकै छैनन् । बैङ्क तथा वित्तीय संस्थाका सञ्चालक बचतकर्ताको पैसा नदिने, घरमा लगेर लुकाउने ।
कतिपयले विदेशी बैङ्कमा लगेर थुपारेका छन् । बचतकर्तालाई ‘छैन’ भन्ने अनि लगेर लुकाउने । सरकार न पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन सक्छ न लुकाएको पैसा खोज्न सक्छ । बजारमा व्यापक आर्थिक मन्दी देखिएको छ । सरकार भने लगानी सम्मेलनको नौटङ्की देखाएर बसिरहेको छ ।
नेपालको अर्थतन्त्र सङ्कटमा छ भन्ने कुरा विश्वलाई नै भइसकेको छ । यस्तो सङ्कटमा परेको देशमा कसले लगानी गर्ने ? उद्योग व्यवसायी शेखर गोल्छाले केही समयदेखि मुलुकको अर्थतन्त्र सात दशक अघिकै अवस्थामा पुगेको बताएका थिए । २०८०–८१ को बजेटमा सरकारले लिएको करको लक्ष्य पनि पूरा हुन सकेन ।
४० प्रतिशत पनि कर उठेन । जुनसुकै सम्मेलन गरेपनि देशको अवस्था त्यही हो । पहिले देशभित्र के भइरहेको छ ? त्यो हेर । व्यथैमा जनताले तिरेको कर सकाउने खेल भइरहेको छ । यस्तो नौटङ्कीले कतिन्जेल देश चल्ला ?