धरान : धरानका पूर्व जनप्रतिनिधिहरूले मेयर हर्क सम्पाङलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
धरानमा भएको खानेपानीको हाहाकार, धरानमा बिग्रिएको सामाजिक सद्भाव, श्रमदानको पारदर्शिता र दिगोपना, पुराना योजनाहरूको निरन्तरता, भ्रष्टाचार छानबिन लगायतका विषयमा पूर्व सांसदहरू, प्रदेश सभामुख, पूर्व मेयर, पूर्व उपमेयरहरू सहितको टोलीले मेयर साम्पाङलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
धरानका पूर्व जनप्रतिनिधीहरुको प्रतिनिधिमण्डलमा निर्वतमान प्रतिनिधि सभा सदस्य जय कुमार राई, १ नम्बर प्रदेशका पूर्व सभामुख प्रदीप भण्डारी, निर्वतमान सांसद उमिता बराइली, धरान उपमहानगरपालिका निर्वतमान मेयर तिलक राई, निर्वतमान उपमेयर मञ्जु भण्डारी, पूर्व मेयर कुमार बहादुर कार्की, पूर्व उपप्रमुख मीन सुब्बा लगायत पूर्व वडाअध्यक्षहरु थिए ।
मेयर सम्पाङलाई बुझाएको ध्यानाकर्षण पत्रको पुर्णपाठ : 
महोदय,
    धरान नगरको सर्वाङ्गीण विकासको अपेक्षा सहित नगरवासीहरूको अमूल्य मतका साथ नगर प्रमुखमा निर्वाचित भई जिम्मेवारीमा रहनु भएकोमा यहाँलाई शुभकामना व्यक्त गर्दछौ ।
मतदाताहरूको अपेक्षा अनुसार काम गर्नु, गराउनु एउटा जनप्रतिनिधिको कर्तव्य र जिम्मेवारी रहन्छ नै । तथापि धेरै कुराहरू पुरा गर्नु, सम्पन्न गर्न गराउनुमा धेरै पक्षहरूको सहयोग र व्यवस्थापन गर्नु पर्ने सत्य, तथ्य हामी निवर्तमान र पूर्व जनप्रतिनिधिहरूले बुझेकै छौ । तपाई कार्यरत रहेको जिम्मेवारीमा विगतमा हामीले कार्य सम्पादन गरिसकेकै हौ/सहकार्य गरेकै हौ, एउटा जनप्रतिनिधि त्यो पनि प्रमुखले विगत र वर्तमानलाई समायोजन गर्दै भविष्यको मार्गचित्र कोर्नै पर्ने हुन्छ । आफू मातहतको कार्यालय वा अन्य निकाय, सहयोगी दाता, विभाग, मन्त्रालय, प्रदेश सरकार, सङ्घीय सरकार र दातृ निकायहरू सँगको समन्वय र सहकार्य नगरको विकासको प्रमुख आधार नै हो ।
धरानको पहिचानको रूपमा रहेको र सङ्घीय सरकारले समेत प्रशंसा गर्दै धरान मोडलको रूपमा (४०-६०) जनसहभागिताको कुरालाई स्थानीय सरकार वा विगतमा स्थानीय तहहरूको छलफल र सेमिनारहरूमा राख्ने गरेको इतिहास छदैछ । हाल त्यसलाई तपाईँले श्रमदानको रूपमा अझ व्यापक बनाउन लागिपर्नु भएको छ, यसको लागि तपाई धन्यवादको पात्र हुनु नै हुनेछ । तपाई स्वयं विगतमा अभियन्ता हु“दा विशेष रूपमा उठाएको खानेपानी समस्या समाधान, त्यस बेलाको व्यवस्थापक प्रतिको अभद्र प्रस्तुति र हालको कामकारबाही, योजनाको लागत, संस्थान र बोर्ड बिचको समायोजन, खानेपानी महसुल, खानेपानी टंयाकरबाट वितरण गर्दा तिर्नु पर्ने बिलको विषय, भ्रष्टाचारको कुरा, सुशासन र पारदर्शिताका विषय तपाईँले जिम्मेवारी सम्हालेको दुई वर्षसम्म पनि कुनै तथ्य, प्रमाण वा जानकारी नगरबासीहरुले हालसम्म पाउन सकेको छैन किन ? तपाईँको कार्यकाल सुरु भए पछि खानेपानी व्यवस्थापनको लागि श्रमदानको रूपमा सुरु गर्नु भएको अभियानलाई अल्पकालीन र दीर्घकालीन रूपमा व्यवस्थित र योजनाबद्ध बनाउन जरुरी देखिन्छ ।
महत्त्वपूर्ण र दीर्घकालीन योजना निर्माणहरूमा (DPR) सम्भाव्यता अध्ययन गरेर मात्र निर्माण कार्य अगाडी बढाउन जरुरी देखिन्छ । हालको खानेपानीसँग सम्बन्धित योजनाहरूमा सङ्घ संस्था, दातृ निकाय र सहयोगीदाताहरूले देखाउनु भएको सहयोगको हामी उच्च प्रशंसाका साथ धन्यवाद दिन चाहन्छौ । पछिल्लो समयमा धरानको खानेपानी समस्या समाधान गर्नका लागि विभिन्न सङ्घ संस्था, दातृ निकाय र सहयोगीदाताहरूले दिनु भएको करोडौँको रकमबाट निर्मित संरचनाहरू भरपर्दो, दीर्घकालीन, सुरक्षित र फलदायी छन् त ? ती कामहरूले अहिलेको अभावलाई समाधान गर्न सक्यो ? कति समाधान गर्‍यो या गरेन ? ती संरचनाहरू निर्माण हुँदा बोर्ड/उपमहानगर पालिकाको बजेट लगानी भयो या भएन, त्यसको यथार्थता सहयोगीदाताहरू र नगरबासीहरुलाई जानकारी गराउनु भयो ? खानेपानी व्यवस्थापनको प्रमुख व्यक्ति कार्यकारी अधिकृत खुल्ला प्रतिस्पर्धाबाट नियुक्तिको प्रक्रिया अगाडी नबढाई तपाई स्वयंबाट आरोपित व्यक्ति मार्फत नै व्यवस्थापन, सञ्चालन भइरहेको प्रति नगरबासीहरुले उठाएको चासोलाई कसरी हेर्नु भएको छ ?
 खानेपानीको मुद्दालाई पहिलो प्राथमिकतामा राखेर नगर प्रमुख बन्नु भएको छ, खानेपानी लगायत अन्य समस्या लिएर आउने नगरबासीहरुलाई तपाईँले प्रस्तुत गर्नु भएको गैह्रजिम्मेवार व्यवहार र प्रसङ्गहरू आइरहेको छ । धरानको स्थापना काल देखि नै धरान बहुल सांस्कृतिक, बहुल सभ्यताको परिचयका साथ समृद्धिको बाटोमा अगाडी बढिरहेको छ । इतिहास देखि नै शैक्षिक, सामाजिक, सा“सांस्कृतिक, भौतिक पूर्वाधार विकास निर्माणमा सबै पक्षहरूको उत्तिकै सक्रिय सहभागिता रहँदै आएको छ । यस्तो अविच्छिन्न सामाजिक सद्भाव र सहिष्णुतामा तपाई नगर प्रमुखबाट अभिव्यक्त विचार र क्रियाकलापबाट विगत देखि नै एकताबद्ध धरानको सामाजिक, धार्मिक, सांस्कृतिक सद्भाव र सहिष्णुतामा आँच आउनुको साथै नगरबासीहरुले असुरक्षित महसुस गरेको भाव झल्किन्छ । यस्तो भावना र विचारले धरानको विकास र समृद्धिमा दीर्घकालीन असर पार्ने देखिन्छ । यसले जनप्रतिनिधि नगर प्रमुखको मर्यादामा आ“च आएको महसुस हामीले गरेका छौ । तपाई प्रमुख रहेको स्थानीय सरकार र सरोकार राख्ने निकायमा तपाईँको त्यस निकायसँग सरोकार राख्ने सहकर्मीहरू प्रतिको उदासीनताले गर्दा सेवाग्राही नगरबासीहरुले पाउनु पर्ने सेवा, सुविधाहरूमा ह्रास आइरहेको महसुस तपाईँले पनि गर्नु भएकै होला, नेतृत्वको हैसियतले समन्वय गर्ने जिम्मेवारी तपाईँको हैन ?
सार्वजनिक पद धारण गरी उपमहानगर पालिकाको नगर प्रमुख हुनुहुन्छ, व्यक्तिगत लाग्ने र आफू केन्द्रित गतिविधिले समग्र नगर कार्यपालिका र सिङ्गो समाजले अभिभावकत्व गुमाएको भान भइरहेको छ । विधि, कानुन र संविधानले तपाईँले प्रयोग गर्न खोजेको अधिकारहरू, विगतका जनप्रतिनिधिहरूले स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार मार्फत अघि बढाइएका योजनाहरू प्राथमिकताका साथ अगाडी बढाउनु पर्नेमा ती कार्यक्रमहरू प्रतिको तपाईँको उदासीनता झल्किन्छ, तपाई पछिको प्रतिनिधिबाट के अपेक्षा गर्नु हुन्छ ? फोहोर मैला व्यवस्थापन, सुकुम्वासी व्यवस्थापन, बसपार्क व्यवस्थापन र सञ्चालन,औद्योगिक ग्राम, राजमार्ग व्यवस्थापन, वी.पी.को.स्वा.वि.प्रतिष्ठान प्रतिको नगर कार्यपालिकाको समन्वय र समस्या समाधानमा प्रभावकारी भूमिका अपेक्षाकृत देखिएन, हालको अवस्थामा नागरिक स्तरबाट अझ बढी गुनासोहरू व्यापक रूपमा आइरहेको सन्दर्भमा नगर प्रमुखको तर्फबाट भइरहेको काम, कारबाहीको बारेमा हामी निवर्तमान र पूर्व जनप्रतिनिधिहरू समेतलाई नागरिकहरूको गुनासो आइरहेको हुँदा नागरिकले स्थानीय सरकार स्तरबाट पाउनु पर्ने सेवा, सुविधाहरूको बारेमा नगरको विकासमा हामी सबैको प्रतिबद्धता” भन्ने मर्मका साथ हामी निवर्तमान र पूर्व जनप्रतिनिधिहरू र माननीयहरू समेत नगर प्रमुखलाई जिम्मेवारी, गम्भीरताका साथ यथार्थताको धरातलमा रही नेतृत्व गर्न आग्रह गर्दै, हामी तत्काल उल्लेखित विषयहरूको समाधानको पहलकदमी तुरुन्त होस् भन्ने चाहन्छौ । हाम्रो अनुभव र योगदान आवश्यकताको आधारमा दिन र लाग्न तयार छौ तर जिम्मेवारीका साथ । यो लिखित ध्यानाकर्षण नगर प्रमुखलाई गराउँदै हाम्रो तर्फबाट उक्त विषयहरूमा चासो, अनुगमन र भौतिक क्रियाशीलता निरन्तर रहने सम्पूर्ण नगरवासीहरूमा समेत जानकारी गराउँदछौ ।
जय धरान !

Purwa-janapratinidhi-4