धरान : धरान उपमहानगरपालिकाद्वारा स्थानिय विषय पठन पाठनका लागि प्रकाशित पाठ्य पुस्तक 'हाम्रो धरान'मा विजयपुरको इतिहास गलत लेखिएकोमा आपत्ति जनाउँदै लिम्बु विद्यार्थी मञ्चले मेयर हर्क साम्पाङलाई सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
पुस्तक यसै वर्ष प्रकाशित भएको हो । उपमहानगरपालिकाले यसैपालीको शैक्षिक सत्र देखी धरानका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठन पाठनका लागि वितरण गरेको छ । कक्षा-६ का लागि प्रकाशित उक्त पुस्तकको आधारमा स्थानिय विषय १०० पूर्णाङ्क निर्धारण गरिएको छ ।
स्थानिय सरकारद्वारा स्थानिय विषय पढाइका लागि पाठ्य पुस्तक प्रकाशित गर्नु सराहनीय कार्य भएतापनि पुस्तकको पृष्ठ १२८ र पृष्ठ ७६ मा राखिएको पाठ्यांशमा गलत इतिहास उल्लेख भएकोमा विद्यार्थी मञ्चले आपत्ति जनाएको हो ।
ज्ञापन पत्रमा भनिएको छ 'पुस्तकको पृष्ठ नं १२८ को विजयपुरगढी शीर्षकमा विजयपुरका संस्थापक 'पाल्पाका सेनवंशी राजा विजयनारायणले राज्य विस्तारको क्रममा विजयपुरगढीको स्थापना गरेको मानिन्छ' भनी उल्लेख गरिएको छ । साथै पृष्ठ नं ७६ को बुढासुब्बा शीर्षकमा किराँतेश्वर मन्दिर लगायत कपोलकल्पित कुराहरू उल्लेख गरेकोमा खेद प्रकट गर्दछौँ ।’
धेरै इतिहास हुँदाहुँदै पनि लेखकहरूले गृहकार्य नगरी विजयपुरगढी शीर्षकमा हचुवाका भरमा लेख्नु र हजारौँ विद्यार्थीहरूलाई गुमराहमा राख्ने जानकारी दिनु खेदजनक भएको उल्लेख गर्दै ज्ञापन पत्रमा विजयपुर दरबार, विजयपुर दरबार परिसर र विजयपुर राज्य बेग्लाबेग्लै कुराहरू भएको बताइएको छ ।
मेयर साम्पाङ समक्ष ज्ञापन पत्र प्रस्तुत गर्दै लिम्बु विद्यार्थी मञ्चका केन्द्रीय महासचिव प्रदीप नेयङ लिम्बुले उक्त पाठ्यांश तत्काल सच्याएर मात्र पठन पाठन गर्न गराउन माग गरे ।
मेयर हर्क सम्पाङले स्थायी विषयलाई धरानका विद्यालयहरूमा पठन पाठन गराउने लामो प्रयास पछि प्रकाशित पाठ्य पुस्तकमा त्रुटि देखिनुमा तयार गर्ने कार्यदल जिम्मेवार भएको बताए । उनले कार्यदलमा रहेका विद्वानहरूसँग यस विषयमा छलफल गरी सच्याउने प्रक्रिया सुरु अघि बढाइने बताउँदै हाल उक्त पाठ्यांश पठन पठन नगर्ने व्यवस्थाका लागि शिक्षा महाशाखालाई निर्देशन दिएका छन् ।
ज्ञापन पत्र बुझाउन जाने टोलीमा विद्यार्थी मञ्चका सुनसरी जिल्ला समितिका पदाधिकारीहरू, चुम्लुङ जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङ, नगर अध्यक्ष तीर्थ मादेम्बा, केन्द्रीय सल्लाहकार हर्ष सुब्बा जिल्ला उपाध्यक्ष स्वर्णिमहाङ फोम्बो, जिल्ला सचिव शिव इश्वो, नगर सहसचिव विप्लव लिम्बु लगायत थिए ।
ज्ञापन पत्रको पूर्ण पाठ यस्तो छ :
उपरोक्त सम्बन्धमा राज्यले मातृभाषा संरक्षणको लागि स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक राख्ने क्रममा धरान उपमहानगरपालिका स्थानीय सरकारले कक्षा ६ अन्तर्गत 'हाम्रो धरान' पुस्तकमा उल्लिखित केही तथ्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त पुस्तकको पृष्ठ नं १२८ को विजयपुरगढी शीर्षकमा विजयपुरका संस्थापक 'पाल्पाका सेनवंशी राजा विजयनारायणले राज्य विस्तारको क्रममा विजयपुरगढीको स्थापना गरेको मानिन्छ' भनी उल्लेख गरिएको छ । साथै पृष्ठ नं ७६ को बुढासुब्बा शीर्षकमा किराँतेश्वर मन्दिर लगायत कपोलकल्पित कुराहरू उल्लेख गरेकोमा खेद प्रकट गर्दछौँ । यसरी गलत र भ्रामक इतिहास कलिला विद्यार्थीलाई पढाइएकोमा हामी आपत्ति जनाउँदछौँ ।
पाल्पाका सेनवंशी राजा विजयनारायणले राज्य विस्तारका क्रममा विजयपुर गढी स्थापना गराएका होइनन् । राज्य विजयपुरका राजा भताभुङ्गे राजा होइनन् । गोर्खाली र आर्य शासकहरूले 'भताभुङ्गे दरबारका लथालिङ्गे राजा' भनेर अफवाह फैलाएका मात्र हुन् । विजयपुरकालीन र लिम्बुवानकालीन इतिहाससँग विजयपुरको इतिहास बढी जोडिन्छ ।
विजयपुरका संस्थापक विजयनारान राय लिम्बु हुन् । उनी वि.स.१६४१/१६६६ सम्म राजा थिए । साङ्लाइङका अन्तिम पुस्ताका राजा विजय नारायण राय हुन् । उनले आफ्नो नाममा विजयपुर राजधानी बनाएका हुन् । उनी विजयनारायण राय पछि मात्र विजयपुरमा सेनहरू आएका हुन् । विजयपुर आउने पहिलो सेनवंसी राजा लोहाङ सेन हुन् विजयनारायण सेन होइनन् ।
मोरङ राज्यका शासक साङलाइङको वंश वृक्ष पनि जोडिन्छ । साङलाइङका छोरा पुङलाइङले राजा भएपछि हिन्दु मत धारण गरेर अमर राय भए । पुङलाइङ अर्थात् अमर रायपछि कीर्तिनाराण, अपनारायण, जारेनारायण, इङदिङनारायण र विजयनारायण राजा भए । विजयनारायणले साँगुरीगढी र वाराताप्पाको बिच १७ ओैँ सदीमा एक सहर बसाए । जसको नाम विजयपुर राखे । त्यस्तै, भव्य दरबार बनाए । जुन विजयपुर दरबारका नामले चिनिन्छ ।
विजयनारान रायले पहाड अर्थात् फेदापका राजा मुरेहाङ खेवाङसँग सम्झौता गरेर उनलाई पहाड मधेसका शासक बनाए । उनी विजयपुरका चौतरिया भए । जबकि, विजयपुर चाहिँ मोरङ-मधेस र पहाड (फेदाप) दुवैको राजधानी बन्यो । पछि, आन्तरिक कलह हुँदा मुरेहाङले मृत्युदण्ड पाएपछि छोरा बाजहाङ (बाजु) रायले प्रतिशोध लिन मकवानपुरका राजा लोहाङ सेनसँग सहायता मागे । लोहाङ सेनले विजयपुर कब्जा गरे ।
बाजु रायको युद्धका क्रममा गिद्दे पहाडमा मृत्यु भयो । विजयपुर मोरङ कब्जा गरेपछि लोहाङ सेनले आफूलाई त्यहाँका शासक घोषणा गरे । बाजु रायका छोरा पानोहाङ खेवाङ उर्फ विद्याचन्द्र रायलाई राजकाजको जिम्मा दिएर मकवानपुर फिरे । त्यसपछि, विजयपुर सेनमकवानवंशको शासन अन्तर्गत आएको हो । यद्यपि, विजयपुर राज्यले पूर्ण स्वायत्तताको उपभोग भने गरेको थियो । जुन १८३१ सम्म कायम रह्यो ।
वि.सं. १८३१ साउन २२ अगाडि विजयपुर बेग्लै राज्य थियो । सेनकालीन स्याहा मोहरहरूमा सेन राजाका चौतरिया बुद्धिकर्णले विजयपुरबाट रामभक्त पण्डितलाई विसं १८२४ मा र तुलाराम पण्डितलाई १८२९ मा स्याहा मोहोर गरिदिएको इतिहास छ । कामदत्त सेनको हत्या भएपछि उनी विजयपुरका हर्ताकर्ता भए ।
विजयपुरका चौतरियाको वंशमाथि अरुणपूर्वका देवानहरूको पनि दाबी छ । त्यस्तै, विजयनारानका वंशउपर सातरेनुहाङ तुम्बाहाङ्फेहरूले पनि दाबी गर्छन् । फेदाप थुमका शासक सेन्सेमगुम फेदापहाङकावंशहरू सिदिइङ र साङलाइइङ भएको इतिहास छ । विजयपुरका शासकको कुटुम्ब थिन्दोलुङ खो?याहाङवंशी मेन्याङ्वो र आङबुहाङसँग पनि जोडिन्छ । उनीहरूकै चेली थाङसाङओतीको स्मृतिमा पोखरी खनिएको चर्चा छ । जुन कालान्तरमा ‘सरस्वती कुण्ड’ भनेर हिन्दुहरूले नामकरण गरे ।
विजयपुर दरबार परिसर क्षेत्रको खास क्षेत्रफल सूचीकरण हुन बाँकी छ । दरबार परिसरको क्षेत्रफल साँघुरीगढी नजिक रहेको पश्चिमको सुलिकोट, पूर्वको ठिङ्गाबारी हुँदै वाराताप्पा, दक्षिणको चारकोसे झाडी र उत्तरमा रहेको महाभारत पर्वतमुनिको रेञ्जबाट अध्ययन अनुसन्धान गरेर मात्रै किटान गर्न सकिन्छ । हामीले देखिरहेको र भनिरहेको विजयपुरगढी मात्रै केही संरचना हो ।
धेरै इतिहास हुँदाहुँदै पनि लेखकहरूले गृहकार्य नगरी विजयपुरगढी शीर्षकमा हचुवाका भरमा लेख्नु र हज्जारौं विद्यार्थीहरूलाई गुमराहमा राख्ने जानकारी दिनु खेदजनक छ । विजयपुर दरबार, विजयपुर दरबार परिसर र विजयपुर राज्य बेग्लाबेग्लै कुराहरू हुन् । परिसरभित्र विविध संरचनाहरू छन् । ती विजयनारायणको दरबार, चौतरिया बुद्धिकर्ण रायको दरबार, खलङ्गा, बुढासुब्बा, हात्तीसार, आडा, सुलिकोट आदि हुन् ।
धरानको पुरानो नाम नै विजयपुर हो । विजयपुर जीवित इतिहास हो । विजयपुरको पुरानो नाम याकथुङ भाषामा साराङ कोक्मा या साँगो भन्ने पनि आउँछ । पछि, विजयनारायणले यसलाई 'विजयपुर' भने । 'आरा काट्ने ठाउँ' मिथक मात्रै हो । विजयपुरको इतिहास मध्यकालीन इतिहास हो जुन पुरातात्त्विक महत्वको पनि छ ।
विजयपुर दरबार परिसरबारे पाठ्यक्रममा सत्य तथ्य समावेश गर्न, परिसरबारे अध्ययन अनुसन्धानको कार्य गर्न स्थानीय सरकार मातहत अध्ययन केन्द्र स्थापना गर्न, परिसरको अभिलेखीकरण र सूचीकरण गर्न र विश्व सम्पदा सूचीमा सूचीकरण गर्न समेत जोडदार माग गर्दछौँ ।
पाठ्यक्रम संशोधन नभएसम्म तत्कालका लागि पुस्तक अध्ययनको पठनपाठनमा रोक लगाउन पनि विनम्र अनुरोध गर्दछौँ ।