इटहरी  : गत शनिवार देखिको अविरल वर्षाको कारण इटहरीको मुख्य बजार तथा आसपासका क्षेत्र डुबानमा परेका छन् । टेङ्ग्रा खोला बस्तीमा परेपछि इटहरीका मुख्य बस्तीका क्षेत्रहरू डुबानमा परेका हुन् । खोला सरसफाइ अभियान चलाएको इटहरी उपमहानगरले यस पटक विगतमा जस्तो डुबान नहुने दाबी गरे पनि पुरानै समस्या दोहोरिएको छ । 

विगतमा डुबान मात्र हुने इटहरीको खनार क्षेत्र यस पटक कटानको चपेटामा परेको छ । इटहरी १० राजस्व कार्यालय देखी दक्षिणमा टेङ्ग्रा खोलाले कटान तीव्र पारेको छ । कटानको कारण राजमार्ग समेत प्रभावित हुने खतरा बढ्दै गएको छ । पुल भासिएर पानी बग्न नपाएपछि राजमार्गतर्फ कटान भएको हो । 

यसअघि नै रानी, विराटनगर, इटहरी, धरान सडक आयोजनाले उपमहानगरपालिकालाई सचेत गराइसकेको छ । खोला सरसफाइ गरेको माटो राजमार्गमा नराख्न तथा राजमार्गलाई असर नपर्ने गरी खोला सफा गर्न अनुरोध गरेको हो । तथापि राजमार्गको पूर्वपट्टिबाट कटान सुरु भइसकेको छ । 

सफाइ अभियानमा माटो झिकेर सफा गरे पनि टेङ्ग्रा खोलामा अवस्थित अधिकांश पुलहरू भासिएका छन् । जसले १०, ११, १२ र १३ नम्बर वडाका स्थानीयको जनजीवन प्रभावित बन्दै गएको छ । विगतमा जमेको माटो खुल्ला भएपछि कटान सुरु भएको जानकारहरू बताउँछन् । 

अस्थायी रूपमा निर्माण गरिएका बाँसका पुलहरू समेत बगाएको छ । १३ नम्बर वडामा दुई वटा पुल बगेपछि फूलबारी टोल र टावर टोलका स्थानीय मारमा परेका छन् । सोही वडाको सङ्गम टोल र भोजपुरे टोलमा आवतजावत अवरोध भएको छ । शारदा मावि र सनसाईन बोर्डिङका स्थानीय विद्यार्थीलाई विद्यालय जान समस्या भएको छ । 

इटहरीको वडा नम्बर ८ मा समेत कटान सुरु भएको छ । कटानपछि उपमहानगरपालिकाले सुरक्षा निकाय र स्थानीयसँगको समन्वयमा नियन्त्रणको प्रयास थालेको छ । इटहरी २ नम्बरमा सरसफाइ अभियानको क्रममा खोला गहिरो बनाएपछि कटान भएको स्थानीयले बताएका छन् । 

इटहरी उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले १३ नम्बरमा बोरा हाल्ने काम भइरहेको र तारजाली लगाएर कटान नियन्त्रणको प्रक्रिया सुरु भएको बताए । टेङ्ग्रा खोलाका पुलहरू मापदण्डको आधारमा नभएको कारण कटान र डुबान भएको उनको भनाइ छ । इटहरी उपमहानगरपालिकाले निर्धारण गरेको ३० फिटको खोलामा २० फिटको पुल निर्माण भएको बताउँदै उनले समयमै पुल नबढाएर थप कटान हुने उनले बताएका छन् । 

खोला सरसफाइ अभियानको क्रममा मेसिनमा मात्र २८ लाख भएको बताउँदै उनले त्यसबाहेक खुद्रा खर्च ७ लाखको हाराहारीमा भएको हुनसक्ने जानकारी दिए । मेसिन सञ्चालनबापत तेलमा कति खर्च भयो यकिन भन्न नसकिने उनले बताए । 

ल्यान्ड एण्ड वाटर रिसोर्स इन्जिनियर मोहन कार्कीले जथाभाबी जमिनको सतह खन्दा पानीको बहाबले कमजोर जमिनलाई कटान गर्ने बताए । टेङ्ग्रा खोलाको हकमा विगतको भन्दा सतह गहिरो भएपछि कटान भएको हुनसक्ने उनको भनाइ छ ।

खोला सफाइ गरेपछि जमिन कमजोर बनेको र सोही ठाउँमा कटान हुने गरेको उनले प्रष्ट पारे । खोलाको क्षेत्र संवेदनशील रहेको बताउँदै उनले वातावरण प्रभावको विस्तृत अध्ययन पछि मात्र उपयुक्त समयमा काम गर्नुपर्ने सुझाव दिए । 

itahari-Duban-2