धरान : धरान खानेपानी व्यवस्थापन बोर्डमा धरानका नगर प्रमुख हर्क साम्पाङ अध्यक्ष मात्र भएको बेला कल्पना पनि गर्न नसकिने गरी बढाइएको शुल्क खारेज गर्न धरानका १० वटा राजनीतिक दलले माग गरेको छ ।

दलहरूले आज शुक्रवार छाताचौकबाट जुलुस सहित खानेपानी व्यवस्थापन बोर्डमा गएर ३ सूत्रीय मागको ज्ञापन पत्र बुझाउँदै ७२ घण्टा भित्र नयाँ शुल्क खारेज गरी पुरानै दर कायम नगरे आन्दोलन सुरु गरिने चेतावनी दिएको छ ।

यसअघि छाताचौकमा युट्यबरहरू सहितको पत्रकार सम्मेलनमा विज्ञप्ति जारी गर्दै खानेपानी महसुल निर्धारण आयोगको मापदण्ड भन्दा कल्पना नै गर्न नसकिने गरी शुल्क वृद्धि गरिएको जनाएको छ ।

यसअघि पुराना (मृत्यु भएका) धनीको नामबाट धारा नामसारी गर्दा २०० सय रुपैयाँमा हुने शुल्कमा अहिले २० हजार रुपैयाँ कायम गरी २४०० सय प्रतिशत देखी ९९०० प्रतिशत सम्म बढाइएको छ ।

नयाँ धारा अब सामान्य आय भएका गरिबले जडान गर्न नसक्ने गरी २० हजार रुपैयाँ देखी १ लाख सम्म पुर्‍याउँदै ३०० प्रतिशत सम्म बढाइएको छ । धारामा पानी नआए चेकिङ वा मर्मत गरी होल चेन्ज गराउँदा १०० देखी १९०० प्रतिशत वृद्धि गरेर ५ हजार देखी २० हजार रुपैयाँ बनाएको छ ।

खानेपानी शुल्कमा यसअघि न्यूनतम १३० रुपैयाँ रहेकोमा १५० बनाई पानीको युनिट परिमाणमा २०० प्रतिशत सम्म महसुल बढाइएको छ । निवेदन दस्तुरमै ४०० प्रतिशत वृद्धि गरेर हचुवाको पनि पराकाष्ठा देखाएको दलहरूले ठहर गरेको विज्ञप्तिमा उल्लेख छ ।

काँग्रेस सभापति श्याम पोखरेलले भने, ‘नगर प्रमुख हर्क साम्पाङको ‘उर्लँदो खहरे जस्तो’ कार्यशैलीप्रति दलहरू चुप लागेर बसेको गुनासो बढेपनि दलहरू ‘शान्त महासागर’को रूपमा बसेका थिए, तर खानेपानीमा गरिएको अवैधानिक वृद्धिले आन्दोलन गर्न बाध्य बनाएको छ ।’

उनले धरानवासीको दैनिक जीवनसँग गाँसिएको खानेपानीको सवालमा दलहरूले आन्दोलन सुरु गरेको उद्घोष गर्दै वृद्धि गरेको शुल्क खारेज नगरे सम्म आन्दोलन चरणबद्ध रूपमा अघि बढ्ने बताए ।

नेकपा एमालेका अध्यक्ष अभिहर्कजंग एभेङले दमक र इटहरीमा खानेपानीको महसुल घटाइएको बेला धरानमा पत्याउने नसकिने गरी गरेको वृद्धि स्वीकार्य नभएको बताए । खानेपानी संस्थान हुञ्जेल नाफामा रहेको अवस्था अहिले किन घाटामा गयो भनिँदै छ ? छानबिनको विषय बनेको बताए ।

नेकपा माओवादीका इन्चार्ज चोत्लुङले पुनरावेदन अदालतमा मुद्दा चलिरहेको खानेपानी बोर्डकै वैधानिकता नभएको बेला एक व्यक्तिको लहडमा गरिएको महसुल शुल्क वृद्धि अवैज्ञानिक मात्र होइन अवैधानिक भएकाले तत्काल खारेज हुनुपर्ने बताए ।

खानेपानी बोर्डमा बुझाइएको ज्ञापन पत्रमा ३ सूत्रीय निम्न माग गरिएको छ :

१. खानेपानी व्यवस्थापन बोर्डले वृद्धि गरेको महसुल दर खारेज गरी पुरानै महसुल कायम गरियोस् ।

२. खानेपानी व्यवस्थापन बोर्डलाई पूर्णता दिई पारदर्शी रूपमा नियमित सञ्चालन गरियोस् ।

३. खानेपानी व्यवस्थापन बोर्डको आय/व्यय सार्वजनिक परीक्षण गरियोस् ।

ज्ञापन पत्रमा हस्ताक्षर गर्नेहरूमा काँग्रेस सभापति श्याम पोखरेल, नेकपा एमाले अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्र अध्यक्ष सर्वजीत राई, जनता समाजवादी पार्टी अध्यक्ष ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादी अध्यक्ष रेवती रमण राई छन् ।

साथै राष्ट्रिय स्वतन्त्र पार्टी सभापति सुमन श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी संयोजक नरेशकुमार शाक्य, नागरिक उन्मुक्ति पार्टी उपाध्यक्ष अर्जुन खड्का, सलोराम सङ्घीय लिम्बुवान मञ्च अध्यक्ष मोहनकुमार तिगला, राष्ट्रिय साझा पार्टी अध्यक्ष सुरेशकुमार राईले हस्ताक्षर गरेका छन् ।

दलका कार्यकर्ता सहित नागरिकहरूको जुलुस ज्ञापन पत्र बुझाउन खानेपानी कार्यालय पुग्दा अध्यक्ष नगर प्रमुख साम्पाङ थिएनन् । कार्यकारी निर्देशक राजु पोखरेलाई अध्यक्षलाई उपस्थित भइदिन अग्रिम जानकारी गराए तापनि उनी भेडेटारमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको कार्यक्रममा गएको बताइयो । दलका नेताहरू निर्देश पोखरेल मार्फत अध्यक्ष साम्पाङलाई ज्ञापन पत्र बुझाएका छन् ।

dharan khanepaani news 2

dharan khanepaani news sulkaKahnepani 1Khanepani 2