• अनुसा थापा

पछिल्लो समय विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँ निकै चर्चामा छन् । बच्चादेखि बुढोसम्मको मुखमा उनकै नाम सुनिन्छ । तर, उनी न त कुनै जनयुद्धको कमान्डर हुन् न त मुलुकको प्रधानमन्त्री नै भइसकेका व्यक्ति । प्रसाईँ साधारण व्यक्ति नै हुन् । यद्यपि, उनले सर्वसाधारण जनताले भोगेका पीडा बोलिदिए ।

उनले बैङ्क तथा वित्तीय संस्था विरुद्ध आवाज उठाए । बैङ्क, सहकारी, लघुवित्त जनता ठग, दलाली हुन् भनेर भनिदिए । त्यसपछि उनलाई चारैतिरबाट आम नागरिकले साथ दिन सुरु गरेका हुन् । बैङ्क तथा वित्तीय संस्थाका कारण लाखौँ जनता सुकुम्वासी भएका थिए । धेरैलाई आत्महत्या गर्नुपर्ने अवस्थामा पुर्‍याएको थियो ।

राजनीतिक दलका नेता वा सरकारका निकायहरू बैङ्क, वित्तीय संस्थाको यस्तो लुटधन्दा विरुद्ध बोल्न सकेनन् । प्रसाईँले भने बोले । उनले बोल्न सुरु गरेपछि सहकारी, लघुवित्तका अध्यक्ष, सञ्चालकहरूको भागाभाग भयो त बैङ्कका सञ्चालकहरू अर्थमन्त्री, प्रधानमन्त्री, गर्भनरको शरणमा पुगे । अहिले देशभरका सहकारी समस्याग्रस्त छन् ।

धेरै सहकारी भागेका वा डुबेका छन् । नभागेका सहकारीले पनि बचतकर्ताको रकम फिर्ता गर्न सकेका छैनन् । सहकारीजस्तै अवस्थामा पुगेको छ अहिले बैङ्क । बैङ्कको कर्जा प्रवाह शून्य भएको छ । यसले अधिकांश बैङ्क टाट पल्टिने अवस्थामा पुगेका छन् । त्यसमाथि प्रसाईँको बोलीका कारण बैंकिङ्ग क्षेत्र तंरगित भएको छ ।

बैङ्कका सञ्चालक, अध्यक्षहरू दिनहुँ अर्थमन्त्री, प्रधानमन्त्री र गभर्नर भेट्न पुग्छन् । दुर्गा प्रसाईँ एउटा व्यक्ति मात्र हुन् । तर, सर्वसाधारण जनता सरकारभन्दा बढी विश्वास उनलाई गर्छन् । किनकि उनले जनताको पीडा, दुःख बाहिर ल्याइदिए । बैङ्क बचतकर्तालाई तीन प्रतिशत ब्याज दिएर ऋणीसँग ७५ प्रतिशतसम्म ब्याज लिँदै आएको थियो ।

यतिमात्र होइन बैङ्कका सञ्चालक, अध्यक्षहरूले करोडको धितो राखेर बिस लाख ऋण दिने, त्यसमा पनि पाँच लाख घुस खाने, सेवा शुल्क दुई/तीन प्रतिशत र ब्याज पनि चर्को असुल्ने । पछिल्लो तीन वर्षमा देशमा सोच्दै नसोचेका कुराहरू भए । मुलुकभरका सहकारी भागे । लघुवित्त, फाइनान्सहरूमा पनि उत्तिकै समस्या आयो ।

अहिले बजारमा व्यापक चर्चा छ कि आगामी एक वर्षमा धेरै प्राइभेट बैङ्क भाग्ने छन्, बन्द हुनेछन् । बैङ्कहरूमा समस्या देखिन थालिसकेको छ । बैङ्क कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा पुगिसक्यो । घर भाडा तिर्न सकेको छैन । राज्यलाई राजस्व तिर्न सकेको छैन । किनकि बैङ्कको कर्जा प्रवाह शून्य नै भएको छ ।

कर्जा नै नगएपछि बैङ्कले नाफा कसरी कमाउँछ ? अनि नाफा नकमाएपछि कसरी सेयर होल्डरहरूलाई बोनस दिन्छ ? दुर्गा प्रसाईँ माडवाडीहरूले देश कङ्गाल बनायो भन्दै आएका छन् । अहिले नेपालमा जतिपनि प्राइभेट बैङ्क सञ्चालनमा छन्, ती सबैमा माडवाडीहरूकै लगानी छ । यसले आम सर्वसाधारणको बैङ्कमा भएको रकम समेत जोखिममा परेको छ ।

अर्कोतर्फ, अहिले सेयरको मूल्य र कारोबार दुवै बढिरहेको छ । सेयर दलालीहरूको ठगी धन्दा पुनः सुरु भएको छ । यसअघि पनि बैङ्कले सय रुपैयाँमा निष्कासन गरेको सेयर दलालीहरूले कित्ताकै ३५ सयमा बेचेर सर्वसाधारण डुबाएका थिए । र, अहिले पनि डुबाउन लागिपरेका छन् । तर, बैङ्क पनि टाट पल्टिने अवस्थामा पुगेपछि अहिले महँगोमा सेयर किन्नेहरू भोलि डुब्दैनन् भनेर कसरी भन्न सकिन्छ ?

महँगोमा घरजग्गा र गाडी किन्नेहरूको पनि बिजोग नै हुनेछ । सरकार अर्थतन्त्र चलायमान बनाउँछु भन्छ । दिनहुँ ज्ञापन पत्र बुझ्नमै सरकारका निकायहरू व्यस्त छन् । सरकारले अर्थतन्त्र सुधारको बाटोमा दाबी गरिरहँदा बजार भने दुर्गा प्रसाईँको भनाइ अनुरूप अघि बढेको देखिन्छ । उनले भनेझैँ अहिले पनि बजार पूरै मन्दीमा छ ।

प्रसाईँले केही समयअघि मात्र भनेका थिए कि काठमाडौँका सबै सटर, कोठा खाली हुनेछन् । अहिले यस्तै भएको छ । उपत्यकामा कोठा, सटर र फ्ल्याट धमाधम खाली हुँदै गएका छन् । प्रसाईँले जानेर वा नजानेर बोले, त्यो कसैलाई थाहा छैन, उनैलाई थाहा होला । तर, उनको बोलीका कारण बैङ्क, वित्तीय संस्था भाग्नुपर्ने अवस्थामा पुग्यो ।

जनताको विश्वास समेत बैङ्क, वित्तीय संस्थाले गुमाए । कुनै मानिसलाई गोली लागेमा त्यो व्यक्ति बाँच्ने सम्भावना निकै कम हुन्छ । त्यसरी नै अहिले बैङ्क, वित्तीय संस्थाका लागि प्रसाईँको बोली गोली बराबर भएको छ । बजारमा आम नागरिक भन्छन्, ‘प्रसाईँले विभिन्न बैङ्कबाट दश खर्ब ऋण लिएका छन् ।’

त्यसमाथि उनले करोडको धितो राखेर एउटै बैङ्कबाट अर्बौँ ऋण लिएको बताइन्छ । अनि बैङ्कले कसरी उनलाई करोडको धितो राखेर अर्बौँ ऋण दियो ? यसको जवाफ प्रसाईँले आफैँले समेत दिने गरेका छन् । उनले बारम्बार भनेका छन् कि बैङ्कका सञ्चालक, अध्यक्षहरू घुसमा बिक्छन् । घुस दिएपछि जस्तोसुकै कमसल धितो राखेर पनि कर्जा प्रवाह गर्छन् ।

बैङ्कले दुर्गा प्रसाईँजस्ता सयौँ व्यक्तिलाई करोड मूल्य पर्ने धितो राखेर खर्बौँ कर्जा दिएको छ । तर, आम नागरिकलाई ऋण दिएन । जनतालाई ऋण दिँदा पनि करोडको धितो राखेर लाख रुपैयाँ दिने । अनि तीन किस्ता नतिर्ने बित्तिकै पत्रपत्रिकामा नाम निकाल्ने, कालो सूचीमा राख्ने र धितो पनि लिलाम गर्ने ।

यद्यपि, प्रसाईँजस्ता व्यक्तिले भने ऋणी नतिरे पनि बैङ्क केही गर्न सक्दैन । पहिलापहिला बैङ्कका कारण सुकुम्वासी भएकाहरू मात्र बैङ्क चोर, ठग हो भन्थे । अहिले प्रसाईँले बैङ्क ठग भनेसँगै करोडौँ जनता उनको पछि लागेका छन् । सबैभन्दा ठुलो जनता नै हुन् । जसले जनताको पीडा बोल्छ, उसैलाई जनताले मन पराउँछन् ।

अहिले बजारमा प्रसाईँको चारैतिर चर्चा हुनुको कारण पनि यही नै हो । उनले बैङ्क, वित्तीय संस्था विरुद्ध मात्र बोलेनन्, उनले जनताको आवाज बोलिदिए वा बाहिर ल्याए । २०८० मंंसिर ७ गते दुर्गा प्रसाईँले बल्खुमा हजारौँ जनता जम्मा पारे । त्यतिबेला उनले देशमा राजतन्त्र चाहियो भने । त्यसैले, जनता निराश भए ।

यदि उनले बैङ्क, वित्तीय संस्था विरुद्ध बोलिदिएको भए त्यतिबेला करोडौँ जनता उनको साथमा हुने थिए । प्रसाईँले अहिले पनि बैङ्क, वित्तीय संस्था विरुद्ध आन्दोलन आह्वान गरेमा करोडौँ जनतामा सडकमा उत्रिने छन् । किनकि जनता भन्छन्, ‘बैङ्क, वित्तीय संस्था ठग हुन् । यस्ता संस्थामा काम गर्ने कर्मचारी त झन् चोरै हुन् ।’

बैङ्कका कर्मचारीहरूद्वारा बचतकर्ताको रकम चोरिएको घटना बाहिरिएपछि जनताको बैङ्क, वित्तीय संस्थाबाट झनै विश्वास गुमेको छ । जो समय अनुसार हिँड्छ, बोल्छ, उसलाई सबैले मन पराउँछ । चाहे सरकारले साथ दियोस् नदियोस् । अहिले राजनीतिक दलका नेताभन्दा बढी चर्चित दुर्गा प्रसाईँ छन् । हरेक जनताको मुखमा उनकै नाम झुन्डिएको छ ।

सायद प्रधानमन्त्री ओलीलाई समेत जनता यति सम्झिँदैनन् । भनिन्छ कि अतिले खति हुन्छ । त्यसरी नै बैङ्क, वित्तीय संस्थाको ठगी धन्दाले सीमा नाघिसकेको थियो । र, प्रसाईँले यस विरुद्ध बोल्ने बित्तिकै अहिले बैङ्क पनि भाग्नुपर्ने अवस्थामा पुगेको छ । त्यसैले, अब चाहिँ बैङ्क, वित्तीय संस्थाहरू सुध्रिने कि ?