- डा. श्रीराम प्रसाद शाह
आधारभूत स्वास्थ्य सेवामा खोप कार्यक्रम नेपाल सरकारको प्राथमिकता प्राप्त लागत प्रभावकारी जनस्वास्थ्यको अत्यन्तै सफल कार्यक्रमको रूपमा लिइन्छ । यस कार्यक्रमले लाखौँ बालबालिकालाई खोप प्रदान गरेर खोपबाट बच्चाहरूलाई बचाउन सकिन्छ ।
रोगहरूबाट हुने बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदर समेतमा उल्लेख्य रूपमा कमी ल्याउन सकिन्छ । खोप कार्यक्रम आफ्नो मुख्य लक्ष्य निर्धारण गरी सफलता पूर्वक कार्यक्रम सञ्चालन भइरहेको पाइन्छ ।
राष्ट्रिय खोप कार्यक्रम बाट हाल नेपालमा ५ वर्ष मुनीका सबै बालबालिकाहरू र गर्भवती महिलाहरूको लागी निःशुल्क खोप सेवा प्रदान गर्दै उल्लेखनीय सफलताहरू हासिल गरेको छ । खोप कार्यक्रम हाल सम्मको स्वास्थ्य क्षेत्रमै उच्चस्तरको कार्यक्रम प्रमाणित भएको कुरासँग कोहीको पनि असहमत नहोला ।
खोप कार्यक्रम मार्फत १३ किसिमको सरुवा रोगहरू जस्तै: क्षयरोग, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बि, ईन्फ्लुएन्जा र टाइफाइड विरुद्धको खोप र गर्भवती महिलाहरूको लागि टिट्नास तथा भ्यागुते रोग विरुद्धको खोप टिडी सेवा देशभरिका सम्पूर्ण स्वास्थ्य संस्थाहरूले प्रदान गर्दै आएको छ ।
करिब १६ हजार खोपकेन्द्रहरु, पहाडी र हिमाली जिल्लाहरूमा घुम्ती खोप सेवाको साथै शहरी क्षेत्रमा निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरूले समेत खोप सेवालाई प्राथमिकतामा राखी निर्बाध रूपमा सेवा उपलब्ध गराई रहेको पाइन्छ ।
यसले नेपालमा खोप बाट बचाउन सक्ने रोगहरूलाई शून्य अवस्थामा ल्याउन राष्ट्रिय खोप कार्यक्रम मार्फत निम्नानुसार उद्देश्यहरू लिएको देखिन्छ ।
१. खोपबाट बचाउन सकिने रोगहरूको नियन्त्रण ,निवारण र उन्मुलन कार्यलाई निरन्तरता दिँदै सो कोदिगोपन कायम राख्ने ।
२. प्रत्येक बालबालिकाले पूर्ण खोप लगाएको सुनिश्चित गर्ने ।
३. सङ्घीय, प्रादेशिक तथा स्थानीय तहका सबै वडाहरूमा सबै खोपको कभरेज ९५ प्रतिशत भन्दा माथि पुर्याउने र दिगोपन कायम राख्ने ।
४. गुण स्तरीय खोप सेवाको लागि दिगो बितिए व्यवस्थापन सुनिश्चित गर्ने ।
५. खोप कार्यक्रमको अनुसन्धानलाई प्रवर्द्धन गर्ने र नयाँ कार्यक्रम बिस्तार गर्ने ।
नेपाल सरकारले खोप कार्यक्रम प्रभावकारी सञ्चालन तथा व्यवस्थापनका लागी खोप ऐन २०७२ जारी गरी बालबालिकाको खोप पाउने अधिकार सुनिश्चित गरेको देखिन्छ । दिगो विकास लक्ष्य र समृद्धि हासिल गर्न खोप तथा आधारभूत स्वास्थ्य सेवालाई स्थानीय सरकारले उच्च प्राथमिकता दिने नीति लिएको देखिन्छ ।
यसबाट जनताको संवैधानिक मौलिक हकहित संरक्षकत्व सहित विगतमा स्वास्थ्य क्षेत्रले हासिल गरेको ऐतिहासिक उपलब्धिहरूलाई समेत जगेर्ना गरेको छ । तथापि कतिपय स्थानीय सरकारले आधारभूत स्वास्थ्य सेवालाई आफ्नो प्राथमिकतामा भन्दा अन्य विकास निर्माणका कार्यक्रममा तल्लीन भएको देखिन्छ ।
विगतदेखि हाल सम्म स्वास्थ्य क्षेत्रले हासिल गरेको मुख्य उपलब्धिहरुः
१. बिफर उन्मुलन ।
२. पोलियो रोग सन् २०१० देखि हाल सम्म शून्य ।
३. नेपाल बाट कुष्ठरोग, नवजात शिशुको धनुष्टङ्कार जस्ता रोगहरू निवारण भएको ।
४. बाल मृत्यु दर तथा मातृ मृत्यु दरमा उल्लेखनीय कमी ल्याएकोमा अन्तर्राष्ट्रिय स्तरमै नेपाल पुरस्कृत भएको ।
५. नेपालीको औसत बाच्ने उमेर ६९.२ वर्ष पुगेको ।
खोप कार्यक्रमबाट पोलियो रोग शून्य भएको, मलेरिया, काला जार, दादुरा र जापानीज इन्सेफलाटिस जस्ता रोगहरू नियन्त्रणमा रहेको अवस्थामा पुगेको छ । यी उपलब्धिहरूलाई निरन्तरता दिन र स्वास्थ्य क्षेत्रमा थप उपलब्धि हासिल गर्न स्थानीय सरकारको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको छ । किनभने नेपालको संविधान २०७२ को धारा ३५ मा प्रत्येक नागरिकलाई राज्य बाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक ‘इमर्जेन्सी’ स्वास्थ्य सेवा बाट वञ्चित गरिने छैन भनी स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको छ ।
त्यस्तै राष्ट्रिय स्वास्थ्य नीति अनुसार आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने राज्यको दायित्व हो । सङ्घीय कानुनले तोके बमोजिमको आधारभूत स्वास्थ्य सेवाहरू स्थानीय सरकारले प्रवाह गर्नुपर्छ ।
राष्ट्रिय स्वास्थ्य नीति २०७६ को बुँदा न ६.५ मा स्वास्थ्यमा सर्वव्यापी पहुँच ‘युनिभर्सल हेल्थ कभरेज’का अवधारणा अनुरूप प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुर्नस्थापनात्मक तथा प्रशासक स्वास्थ्य सेवालाई एकीकृत रूपमा विकास तथा बिस्तार गरिनेछ भनी स्पष्ट रूपमा उल्लेख गरेको छ ।कम लगानीमा बढी प्रतिफल दिने आधारभूत स्वास्थ्य सेवा, खोप सेवा, सुरक्षित मातृत्व सेवा आदिलाई
प्रमुख प्राथमिकता प्राप्त स्वास्थ्य सेवाहरूमा स्थानीय सरकारको लगानी वृद्धि गरी स्वास्थ्य र उत्पादनशील बनाउन जरुरी छ ।
उत्पादनशील नागरिक बनाई गरिबी न्यूनीकरण गर्दै समृद्ध समाजको विकासमा आफ्नो सम्पूर्ण श्रोत परिचालन गरी बाल मृत्यु दर, मातृ मृत्यु दरमा कमी ल्याई आम नागरिकको जीवन स्तर माथि उठाउनुपर्ने क्रियाकलाप गर्न जरुरी छ ।
त्यसबाट ब्याक्तीको आयमा वृद्धि भई समृद्धि तर्फ उन्मुख हुने र देश तथा जनताको स्वास्थ्य अवस्था क्रमिक सुधारको बाटोमा अघि लाग्नेछ । केही वर्ष यताको स्वास्थ्य क्षेत्रमा भएको लगानी समृद्धि र विकासको मुद्दा यसै उद्देश्यमा परिलक्षित छ ।
विगतमा हासिल भएको स्वास्थ्य क्षेत्रको उपलब्धिहरू समेत कतै गुमाउने तिर त हामी उन्मुख छैनौँ भन्ने ठुलो प्रश्न सहितको डर र त्रासको स्थिति पैदा भएको अनुभूति भइरहेको उदाहरण पनि देखिन्छ ।
यसै वर्ष मात्रै विगतमा नियन्त्रण भई सकेको केही सरुवा तथा किट जन्यरोगहरु जस्तै जापनिज इन्सेफालिटिस,डेङगु, मलेरिया, कुष्ठरोग र दादुराका नयाँ रोगीहरू भेटिनु निश्चित रूपमा राम्रो सङ्केत मान्न सकिँदैन ।
जापनिज इन्सेफलाइटिस रोगले त देशको करिब आधा भागमा आफ्नो आधिपत्य जमाएर सयौँ मानिसहरूलाई आक्रान्त पारी २०÷३० जनाको जीवन नै समाप्त पारेको छ भने बाँकी सयौँ मानिस बिकलाङ भएर जीवन जिउन बाध्य भएको कुरा त कसै बाट लुकेको छैन ।
त्यस्तै विगतमा नियन्त्रणमा आईसकेको अन्य रोगहरू पनि बेला बखत आफ्नो उपस्थितिको जानकारी
हामीलाई गराई रहेको अवस्थामा छ । यसको नियन्त्रणका लागि जिम्मेवार निकायहरू सङ्घीय, प्रादेशिक र स्थानीय सरकार बिच समन्वय, सहयोग र सहकार्यको अत्यन्तै जरुरी देखिन्छ ।
त्यस अतिरिक्त यस अवस्थालाई बेलामा नै नियन्त्रण लिन जिम्मेवार सहयोगी गैरसरकारी संस्था, दातृ निकाय र अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरू समेतले सरकारलाई प्राविधिक राय, सल्लाह, सुझाव र अतिरिक्त सहयोग गर्न आवश्यक छ ।
किनकि भविष्यमा हुन सक्ने ठुलो क्षति र जनस्वास्थ्यको समस्या समाधान गरी विगतमा स्वास्थ्य क्षेत्रले हासिल गरेको उपलब्धिको जगेर्ना गर्न सकियोस् ।