धरान : आदिवासी समुदायको उधौली पर्वमा मङ्सिरे पूर्णिमाको दिन आज आइतबार देखी धरानमा किरात याक्थुङ चुम्लुङद्वारा आयोजित चासोक तङनाम उत्सव सुरु भएको छ ।

आजकै दिन लेख्य परम्परामा रहेको नेपालको मौलिक लिपि किरात सिरिजंगा लिपिका प्रवर्द्धक त्येअङसी सिरिजंगाको ३२०औँ जन्म जयन्ती मनाइएको छ ।

चासोक तङनामको अवसरमा आज बिहान लिम्बु च्याब्रुङ सहितको सांस्कृतिक र्‍याली प्रदर्शन गरियो । छाता चौकबाट सुरु भएको वृहत् र्‍याली बजार हुँदै चासोक उत्सव स्थल चुुम्लुङ हिम पुगेको थियो । च्याब्रुङ नाच सहित र्यालीले भानुचौकको एक फन्को परिक्रमा गर्‍यो ।

यस अघि च्याब्रङ सहितको टोलीले धरान-८ सिरिजंगा चौक स्थिति त्येअङसी सिरिजंगाको पूर्णकदको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेको थियो । च्याब्रुङ नृत्य सहितको टोलीले शालिकको परिक्रमा गरी याक्थुङ शैलीमा श्रद्धाञ्जली दिएको हो ।

यसै गरी धरान-१४ विजयपुर स्थित किरातकालिन लिम्बुवानका राजाको दरबार स्थलमा च्याब्रुङ सहितको चासोकको पूजा अर्चना गरेको थियो ।

प्रकृति पूजक लिम्बू/याक्थुङ समुदायले नयाँ अन्न पाके पछि प्रकृतिलाई चढाएर पूजा अर्चना गरेपछि मात्र उपभोग गर्दछन् । उनीहरू कृषि युगमा प्रवेश गरेपछि सुरु भएको धार्मिक संस्कार सामूहिक चासोक पर्वको रूपमा विकास भएको हो ।

यसै अवसरमा धरानमा प्रत्येक वर्ष किरात याक्थुङ चुम्लुङको आयोजनामा चुम्लुङ हिम परिसरमा सांस्कृतिक मेला हुँदै आएको छ ।आज देखी सुरु भएको चासोक तङनाम उत्सव ४ गते सम्म चलन चुम्लुङ नगर अध्यक्ष तीर्थ मादेम्बाले बताए । उत्सव सञ्चालनका लागि चुम्लुङले १०१ सदस्यीय आयोजक समिति गठन गरेको छ ।

उत्सवमा २१ वटा स्टलहरू राखिएका छन् । पाँच दिन सम्म प्रत्येक साँझ सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ । कार्यक्रममा राष्ट्रिय कलाकार सहित याक्थुङ/लिम्बु कलाकारहरूद्वारा गायन तथा नृत्य प्रदर्शन गर्नेछन् ।

उत्सवको औपचारिक उद्घाटन समारोह भोली सोमवार हुने बताइएको छ । अध्यक्ष मादेम्बाका अनुसार यसपालि लिम्बु समुदायको लोकप्रिय ‘धान नाच’ प्रतियोगिता पनि हुनेछ । प्रत्येक वर्ष उत्सवमा परम्परागत बाजा च्याब्रुङ प्रतियोगिता हुँदै आएको थियो ।

उत्सवमा याक्थुङ/लिम्बु जातिको परम्परागत खेलकुद प्रतियोगिता, कपडा बुन्ने ‘थाकथाक्मा’ प्रतियोगिताको तयारी गरिएको छ । उत्सवका स्टलहरूमा लिम्बु जातिका मौलिक परिकार लगायत खानपिनका उत्सव सञ्चालन गरिएको छ ।

Chasok tangnam 2