धरान : आदिवासी जातिको उभौली पर्वमा धरानमा आयोजना गरिने चासोक तङनाम उत्सव यसपालि पनि ५ दिन सम्म मनाइने भएको छ ।
प्रकृति पूजक आदिबासीहरुको पर्व याक्थुङ/लिम्बु समुदायले चासोक तङनामको रूपमा मनाउँछन् । धरानमा प्रत्येक वर्ष किरात याक्थुङ चुम्लुङको आयोजनामा धरान-१५ स्थित चुम्लुङ हिम परिसरमा सांस्कृतिक मेला हुँदै आएको छ ।
मङ्सिरे पूर्णिमा ३० गते देखी सुरु हुने चासोक तङनाम उत्सव ४ गते सम्म चलन चुम्लुङ नगर अध्यक्ष तीर्थ मादेम्बाले बताए । उनका अनुसार बिहीबार बसेको चुम्लुङ केन्द्रीय, जिल्ला, नगर तथा वडा समितिका पदाधिकारीहरूको संयुक्त बैठकले उत्सव सञ्चालनका लागि १०१ सदस्यीय आयोजक समिति गठन गरेको छ ।
उत्सवका लागि चुम्लुङ हिम परिसरमा २१ वटा स्टलहरू रहने छन् । पाँच दिन सम्म प्रत्येक साँझ सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ । कार्यक्रममा राष्ट्रिय कलाकार सहित याक्थुङ/लिम्बु कलाकारहरूद्वारा गायन तथा नृत्य प्रदर्शन गर्नेछन् ।
यसपालि लिम्बु समुदायको लोकप्रिय ‘धान नाच’ प्रतियोगिता पनि आयोजना गरिने भएको छ । सदा झैँ यसपालिमा पनि याक्थुङ/लिम्बु जातिको परम्परागत बाजा च्याब्रुङ प्रतियोगिता हुनेछ ।
याक्थुङ/लिम्बु जातिको परम्परागत खेलकुद प्रतियोगिता, कपडा बुन्ने ‘थाकथाक्मा’ प्रतियोगीताका कार्यक्रम निर्धारण गरिएको बताइएको छ । उत्सवका स्टलहरूमा लिम्बु जातिका मौलिक परिकार लगायत खानपिनका उत्सव सञ्चालन गरिने बताएको छ ।
चासोक तङनाम उत्सवको अवसरमा याक्थुङ/लिम्बु जातिको पहिरन, च्याब्रुङ सहित सांस्कृतिक र्याली प्रदर्शन गरिने छ । पूर्णिमाकै दिन किरात सिरिजंगा लिपिका प्रवर्द्धक सिरिजंगा जयन्ती पनि मनाइने छ । धरान-८ सिरिजंगा (तीनकुने) चौक स्थित सिरिजंगाको शालिकमा माल्यार्पण र च्याब्रुङ नृत्य परिक्रमा गरी जयन्ती मनाई किरात याक्थुङ चुम्लुङ धरान नगर समितिले जनाएको छ ।