धरान : प्रदेश नं. १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिका संयोजक किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले प्रदेश सरकारले कोशी नाममा सहमति जुटाउन वार्ता समिति बनाएको हो भने सङ्घर्ष समितिले अस्वीकार गर्ने बताएका छन् ।

धरानमा चुम्लुङद्वारा आयोजित चासोक तङनाम उद्घाटन समारोहमा सोमवार उनले प्रदेश सरकारले कोशी नाममा सहमति जुटाउने उद्देश्यले वार्ता समिति बनाएको हो भने अस्वीकार गरिने बताउँदै भने ‘कोशी नाम खारेज गरेर पुनः नामकरणमा छलफल गर्न तयार भएमा मात्र वार्ता हुनसक्छ ।’

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचानवादीसँग वार्ता गर्न प्रदेश सरकारले वार्ता समिति गठन गरेको कुरा मिडियामा आएको उल्लेख गर्दै संयोजक येक्तेनले उक्त कुरा बताएका हुन । उनले वार्ताको लागि संयुक्त सङ्घर्ष समितिलाई प्रस्ताव आए/नआएको कुरा भने खुलाएनन् ।

अध्यक्ष येक्तेनले ठुला पार्टीहरूबाट बनेको प्रदेश सरकारले पहिचानलाई अलिकति पनि ठाउँ दिने पक्षमा नभएको बताए । उनले भाषा आयोगले सिफारिस गरेको प्रदेशमा सरकारी कामकाजमा लिम्बु र मैथिल भाषालाई मान्यता दिने कार्य अहिले सम्म कार्यान्वयन नगरेको उदाहरणको रूपमा प्रस्तुत गरे ।

उनले प्रश्न गरे ‘कोशी नाम राख्दा प्रदेश सभामा रातारात आदिवासी सांसदहरूलाई जबरजस्ती हस्ताक्षर गराउन सक्ने सरकारले प्रदेश सभामा पेश भैसकेको लिम्बु र मैथिल भाषाको विधेयक अड्काएर किन राखेको हो ?’

प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य तथा पूर्व प्रदेश मन्त्री खिनु लङवाले कोशी नामकरण गणितीय आधारमा भए पनि सडकमा त्यसलाई स्वीकार नगरेको आवाज उठिरहेको बताइन् ।

उनले भनिन् ‘एमाले, माओवादी र काँग्रेसले कोशी नामको प्रस्ताव गरे पनि प्रदेश सभामा ४ सांसदले किरात-लिम्बुवान नाम प्रस्ताव गरेको थियो ।’ उनी प्रदेश सभामा नेकपा एकीकृत समाजवादीकी सांसद हुन ।

कोशी प्रदेशकी पूर्व मन्त्री लङवाले लिम्बु र मैथिल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा मान्यता दिने सबै प्रक्रिया पुरा गरी प्रदेश सभामा आफूले विधेयक समेत पेश समेत गरिसकेको बताउँदै भनी ‘त्यस बेला राजनीतिक अस्थिरताले सरकार ढलेपछि अहिले सम्म पटक पटक बनेको सरकारले कार्यान्वयन गर्ने चासो दिएको छैन ।’

समारोहमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुवेर खापसङले चासोक उहिले घर घरमा पूजा अर्चनाको रूपमा मनाउने परम्परा रहेको बताए । अन्नबाली पाके पछि गरिने चासोक भौगोलिक अवस्था अनुसार फरक फरक ठाउँमा बाली पाक्ने भएकोले एकैसाथ पर्वको रूपमा मनाउने प्रचलन बढेको उनको भनाई थियो ।

समारोहमा लिम्बु भाषाकी प्रसिद्ध गायिका सुनिता मिभकलाई २५ हजार रुपयाको ‘किरात याक्थुङ चुम्लुङ उदय कला पुरस्कार’बाट सम्मानित गरियो । लामो समय देखी लिम्बु भाषाका सांस्कृतिक कार्यक्रममा मातृभाषाको गायन प्रस्तुत गर्दै आएकी सुनिताको लिम्बु गायनका थुप्रै एल्बम प्रकाशित छन् ।

चुम्लुङको क्यानडा शाखाले प्रदान गर्दै आएको १५/१५ हजार राशिको ‘लिम्बु भाषा लिपी छात्रवृत्ति पुरस्कार’ सेसेहाङ फियाक र अञ्जना नेम्वाङलाई प्रदान गरिएको छ ।

उक्त पुरस्कार कक्षा ११/१२ मा ऐच्छिक मातृभाषा लिम्बु लिएर उत्कृष्ट अङ्कमा परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीलाई प्रदान गरिदैं आएको छ । पाँचथर स्थित ‘लिम्बु मातृभाषा भाषा उच्च शिक्षा परीक्षा बोर्ड’ द्वारा लिम्बु भाषाको परीक्षा सञ्चालन गर्दछ ।

समारोहमा सिक्किमका लिम्बु भाषा/लिपिका लेखक/साहित्यकार हर्कबहादुर खाम्दाक लिम्बुलाई ‘किरात याक्थुङ चुम्लुङ किरात सिरिजंगा पुरस्कार’ प्रदान गरिने घोषणा गरिएको छ । २५ हजार राशिको उक्त पुरस्कार लिम्बु भाषा/लिपिका लेखक, साहित्यकारलाई प्रदान गरिदैं आएको छ ।

पुरस्कृत लेखक बयोबृद्ध खाम्दाक स्वास्थ्य अवस्थाका कारण पुरस्कार ग्रहण गर्न उपस्थित हुन नसकेकाले उनको पुरस्कार सिक्किम स्थित उनकै निवासमा पुर्‍याई प्रदान गरिने जनाइएको छ ।

सोही अवसरमा सुनसरी जिल्ला तथा धरामा किरात याक्थुङ चुम्लुङ स्थापना कालदेखी हाल सम्म योगदान गर्दै आएका अग्रजहरूलाई कदरपत्र प्रदान गरिएको थियो । केन्द्रीय सल्लाहकार चन्द्रमाया लिम्बुले चासोकका शुभकामना प्रकट गरिन् ।

चुम्लुङ धरान नगर अध्यक्ष तीर्थ मादेम्बाको सभापतित्वमा भएको उद्घाटन समारोहमा स्वागत मन्तव्य चुम्लुङ केन्द्रीय सदस्य सङ्गीता सुब्बाले दिएकी थिइन् ।

Chumling programChumulung him program 2