धरान : धरान-२० की बिरमाया तामाङले ७९ वर्षको उमेरमा आइतबार जीवनको सबैभन्दा महत्वपूर्ण कागजाकाे रूपमा रहेकाे नेपालको नागरिकता प्राप्त गरेकी छन्। लामो समयदेखि औपचारिक पहिचानविहीन जीवन बिताउँदै आएकी उनी नागरिकता हातमा लिएपछि मुस्कुराउँदै भनिन्, '७९ वर्षकाे उमेरमा नागरिकता पाइयाे, अब त छिट्टै भत्तापनि आउँछ हाेला नी !'
बिरमायाले समयमै नागरिकता पाउन नसक्नुको मुख्य कारण अशिक्षा, गरिबी र दुर्गम बस्तीको जीवनशैली रहेछ। उनका बुबा भिमबहादुर तामाङले दुई छोरालाई नागरिकता बनाए पनि छोरी भएकै कारण बिरमायालाई नागरिकता नबनाइदिएको परिवारको भनाइ छ।
दाजु-भाउजुले समेत दस्तावेज सुरक्षित राख्न नसक्दा प्रक्रिया झन् जटिल हुँदै गएको बिरमायाका भदै भाइ भिमबहादुर तामाङ बताए।
दाजु जितबहादुरको मृत्यु भएपछि उनकी श्रीमती नरमायाले बुबाका पुराना कागजात समेत सुरक्षित नराखी अन्त्येष्टिसँगै जलाइदिएको जानकारी पनि भिमबहादुरले दिए। यही कारणले वंशजको आधारमा नागरिकता बनाउन कठिनाइ भएकाे उनले उल्लेख गरे।
नागरिकता प्राप्तिको यात्रा बिरमाया र उनका भदै भिमबहादुरका लागि निकै थकाउने बन्यो। कहिले शरीर अस्वस्थ त कहिले कागजात नमिल्दा उनीहरूलाई बारम्बार जिल्ला प्रशासन कार्यालय इनरुवा, इलाका प्रशासन कार्यालय धरान र वडा कार्यालय धाउनुपर्यो।
भिमबहादुरले भदौ १३ गते वडा नम्बर २० बाट फुपु अविवाहित रहेको प्रमाणसहित जन्मदर्ता गराए। त्यसपछि जिल्ला प्रशासन कार्यालय इनरुवाबाट बुबाको अभिलेख खोजी सिफारिस, धरान इलाका प्रशासनबाट सनाखत सिफारिस लगायतका कागजात जुटाउन महिनौँ लाग्यो।
तीन महिना अघि इलाका प्रशासनमा दिएको निवेदन अभिलेख नमिलेका कारण परिमार्जन गर्नुपर्ने अवस्था पनि आयो।
अन्ततः मंसिर १० गते धरानमा सुनसरी उद्योग वाणिज्य संघद्वारा आयोजित शान्ति–सुरक्षा अन्तरक्रियामा सुजन तामाङले बिरमायाको समस्या उठाएपछि प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सहुलियत दिने आश्वासन दिए। पछि सबै कागजात मिलेसँगै आइतबार इलाका प्रशासन कार्यालय धरानले बिरमायालाई नागरिकता प्रदान गर्यो।
नागरिकता पाएपछि राहत र आशा
नागरिकता पाएसँगै बिरमाया अब वृद्धभत्ता पाउने आशामा छिन्। जीवनभर पछाडि परिरहेकी उनले पहिलो पटक सरकारी सेवा–सुविधाबाट लाभान्वित हुने अवसर पाइनेछ।
'नागरिकता दिने प्रक्रिया केही जटिल भए पनि कागजात मिलाएर नागरिकता प्रदान गरिएकाे इलाका प्रशासन कार्यालयका शाखा प्रमुख फणिन्द्र दाहालले बताए।
स्थानीय सुजन तामाङका अनुसार बिष्णुपादुका क्षेत्रका धेरै नागरिक अझै नागरिकताविहीन छन्। पहाडी डाँडापाखामा बस्नेहरूले नागरिकताको आवश्यकता नबुझेका कारण पछाडि पर्ने गरेको बताउँदै उनले राज्य सेवा पाउन नागरिकता अनिवार्य रहेको दोहोर्याए।


































































