धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आवश्यकता अनुसार पसल खोल्नुपर्ने बताएका छन् ।
सुनसरी उद्योग वाणिज्य सङ्घका विभिन्न वस्तुगत सङ्घका प्रतिनिधिसँगको छलफल कार्यक्रममा मेयर राईले सो कुरा बताएका हुन् । कोभिड १९ सँग सतर्क रही सुरक्षाका मापदण्ड अपनाएर आवश्यकता अनुसार व्यवसाय सञ्चालन गर्नुपर्ने र त्यसका लागि वाणिज्य सङ्घको सहभागितामा एउटा टिम तयार गरी मोडेल तयार गर्ने पनि बताएका छन् । मेयर राईले कर निर्धारण र रात्रिकालीन बजार सञ्चालनका लागि समेत अब छलफल गरिने बताएका छन् ।

कार्यक्रममा सङ्घका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले सुनसरी उद्योग वाणिज्य सङ्घले तयार पारेको बजार खोल्ने मोडालिटी प्रस्तुत गरेका थिए । सो प्रस्ताव पत्रमा बजारमा १४ देखि ५९ वर्षसम्मका स्वस्थ्य व्यक्तिले मात्र प्रवेश पाउनु पर्ने र पसललाई २ तहमा वर्गीकरण गरिनुपर्ने उल्लेख गरिएको छ । श्रेष्ठले प्रस्तुत गरेको सो मोडालिटीमा “बजारलाई तीन तहमा वर्गीकरण गर्नुपर्ने, बिग्रने सामान बिक्री गरिने पसललाई बिहान ६ देखि ९ बजेसम्म र नबिग्रने वस्तुको पसललाई दिउसो ११ देखि ४ बजेसम्म खोलिनु पर्ने, मोटरसाइकल जोर बिजोर नम्बरमा चलाउनु पर्ने र धरान बजार छिर्ने नाकाहरूमा सुरक्षा चेकपोस्ट स्थापना गरिनुपर्ने लगायतका बुँदाहरू उल्लेख गरिएको छ ।

सौन्दर्यकला व्यवसायी सङ्घका सचिव नेबिका शाहीले अब सौन्यदर्यकला व्यवसायीलाई पनि पीपीई उपलब्ध गराउनुपर्ने बताएकी छिन । सचिव शाहीले “ब्यूटिसियनको पेसा स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकोले स्थानीय सरकारले व्यूटिशियनलाई पीपीई उपलब्ध गराउनु पर्ने तथा बाहिरबाट आई व्यवसाय गरेका सौन्दर्यकला व्यवसायीलाई राहतको समेत आवश्यकता भइसकेको” बताएकी छिन् ।

सङ्घका कार्यसमिति सदस्य विष्णु बरालले व्यवसायीहरुले सञ्चालन गरेको पसलको घर भाडा छुट सम्बन्धमा घरवालाहरूको प्रतिनिधिलाई समेत सहभागी गराई धरान उपमहानगरपालिका, सुनसरी उद्योग वाणिज्य सङ्घ समेत सम्मिलित समिति बनाई छलफल गरिनुपर्ने बताएका छन् । सदस्य बरालले “धरान उपमहानगरपालिकाले धरानका कुनै ४ वटा वडालाई नमुना वडाको रूपमा लिई बजार खोल्नु पर्ने र राष्ट्रमै नमुना सहरको रूपमा बजार खोल्ने नगर बनाउन सुरुवात गर्नुपर्ने तथा घर बहाल छुटको सम्बन्धमा घरवालाको प्रतिनिधि सम्मिलित समिति बनाई छलफल गरिनुपर्ने” बताएका छन् ।

त्यसै गरी सुनसरी सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष किसन मास्केले “पहेलो धातु व्यवसाय अब १ वर्षसम्म नचल्ने भएकोले व्यवसायीलाई सरसफाई दोहोरो कर र व्यवसाय कर छुट गरिनुपर्ने” बताएका छन् ।
सङ्घका कार्यसमिति सदस्य नविनराज भण्डारीले धरान नगरभरि उपमहानगरपालिकाको स्वामित्वमा रहेका खाली जग्गामा टहरा निर्माण गरी उपमहानगरपालिकाले आम्दानीको श्रोत वृद्धि गर्नुपर्ने” बताए ।

सङ्घका महासचिव राजेश अग्रवालले सञ्चालन गरेको सो कार्यक्रममा संयुक्त व्यापार एकता सङ्घका अध्यक्ष रामकुमार दास, धरान मदिरा व्यवसायी सङ्घका अध्यक्ष नवीन तामाङ, संयुक्त ग्रील उद्योग व्यवसायी सङ्घका अध्यक्ष राजकुमार राई, होटेल व्यवसायी समितिका सचिव वासुदेव बराल, सुनसरी डिलर तथा थोक व्यवसायी सङ्घका अध्यक्ष माणिक सुराना, होटेल एसोसिएसन अफ धरानका अध्यक्ष सरोज भट्टराई, वस्तुगत समन्वय समितिका संयोजक रामस्वरुप शर्मा लगायतले बजार खोलिनुपर्ने र कर निर्धारण सम्बन्धमा आ–आफ्ना धारणा बनाउनुपर्ने बताएका थिए ।

सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाले स्वागत गरी शुभारम्भ भएको सो कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारीले व्यवसायी र स्थानीय सरकारको नङ-मासुको सम्बन्ध रहेको बताएकी छिन् ।

उपप्रमुख भण्डारीले व्यवसायी बिना सरकार र सरकार बिना व्यवसायी चल्न नसक्ने अनि पसल खोल्ने क्रममा कसैलाई काखा पाखा नगरिएको र सामाजिक दुरी र सुरक्षा संयन्त्रलाई मध्यनजर गरिनुपर्ने बताएकी छिन् ।