सङ्क्रमणको दर बढ्न थालेपछि धरान नगर सरकारले कार्यालय नै बन्द गर्यो । नगरभरी सङ्क्रमितहरूको सङ्ख्या दिनहुँ बढिरहेको छ । यो महामारीबाट कसरी कम भन्दा कम क्षतिमा जनतालाई सुरक्षित राख्न सकिन्छ, सङ्क्रमितहरूलाई कसरी आधारभूत उपचार पुर्‍याउन सकिन्छ, महामारी नियन्त्रण गर्न कालागि नगरका सबै तहको जनशक्तिलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने जस्ता विषयमा नगर नेतृत्व अलमलमा परेको या महामारीबाट आफै डराएको जस्तो देखिएको छ ।

अस्पताल पुरै भरिएको छ, घर-घरमा सङ्क्रमितहरू अस्पतालमा जत्तिकै सख्यमा छन् । यो त्रासदिपुर्ण अवस्थामा नेतृत्वको कौशलताले जनतालाई सुरक्षित राख्दछ । तर यहाँको नगरको नेतृत्व आफै सातो हराएको जस्तो भएको छ । केही व्यक्तिहरूले लकडाउन गर भनेर फेसबुकमा लेखेको विषयमा भन्दा बाहेकको रचनात्मक समाधानको खोज गर्नेतिर लागेको पाइएन ।

यस्तो कठिन परिस्थितिमा जनताको सुरक्षाको दायित्वबाट भाग्ने या डराएर घरभित्र लुक्ने, जनतालाई जेसुकै होस हामीचाहिँ बाच्नु पर्दछ भनेर कार्यालय बन्द गराउने जस्ता सुविधा जनताले काम गर्न पठाएकाहरूलाई हुँदैन। कसैले नमागे पनि नागरिक हुनुको दायित्वबोध भएकाले केही बुँदागत सुझावहरू दिँदै छु जसले परिस्थितिलाई समाने अवस्थामा फर्काउन सहयोग गर्न सक्दछ ।

१. नगरका नागरिक अगुवा, पेसाकर्मी बुद्धिजीवी, स्वास्थ्य क्षेत्रका व्यक्तिहरु सँग यो परिस्थितिको समाधानको उपायहरूका विषयमा छलफल चलाउने ।

२. नगरपालिकाका कर्मचारी, टोल विकास संस्थाहरू र नगरमा रहेका सरकारी र निजी क्षेत्रका शिक्षकहरूलाई सम्भावित र सङ्क्रमितहरूको खोजी गर्न (लक्षणका आधारमा ,ज्वरो रुघाखोकी, शरिरदुख्ने, गन्ध थाहा पाउने नपाउने आदि) वडा वडा र टोल टोलमा पठाउने ।

३. सम्भावित र सङ्क्रमितहरूको त्यो तथ्याङ्कको द्रुतगतिमा प्रशोधन गरी अप्ठ्यारो अवस्थाका व्यक्तिहरूलाई उपचारका लागि आइसोलेसन या अस्पतालमा लैजाने ।

४. अहिले बिपी प्रतिष्ठानमा बिरामीलाई उपचार र अक्सिजन दिन पनि समस्या हुन थालेको छ । नगरले पनि अलग्गै स्थानमा आइसोलेसन सेन्टर या अस्थायी उपचार केन्द्र स्थापना गरेर कम्तीमा ज्वरो घटाउने औषधि र अक्सिजनको व्यवस्था गरी प्राथमिक उपचार गराउने र प्रतिष्ठानको चापलाई कम गर्ने वातावरण बनाउने । अक्सिजन उत्पादन गर्न कालागि पोर्टेवल मेशिन पाइन्छ । बिजुलीमा जोडेपछि त्यसले अक्सिजन उत्पादन गर्छ नगरको क्षमताले भ्याउने त्यो मेशिनको कमिसन नखाई खरिद गर्दा नेरु ७० हजारमा पाइन्छ । १५/२० वटा मेशिन खरिद गर्न सक्ने क्षमता नगरपालिकासँग छ ।

५. प्रतिष्ठानमा जाने बिरामीलाई उपचार भन्दा पनि अक्सिजन र भ्यान्टिलेटरको अभाव हुन थालेको बुझिएको छ ।पोर्टेवल भ्याण्टिलेटर पनि पाइन्छ कम्तीमा नगरले पाँच वटासम्म पोर्टेवल भ्याण्टीलेटर खरिद गर्न सक्दछ।

६. वडा वडा र टोल टोलबाट फेला परेका सङ्क्रमित र सम्भावित सङ्क्रमितलाई अवस्था हेरेर नगर पालिकाले बनाएको अस्थायी अस्पतालमा प्राथमिक उपचार सुरु गर्ने, अधिकांश बिरामी त्यहीबाट घर फर्कन सक्छन्, अलि गम्भीर बिरामीलाई बिपीमा पठाउने

७. नगर भरी भएका पारामेडिक्सहरु, अहेव, अनमी र स्वास्थ्य कार्यकर्ताहरूलाई स्वयंसेवाकालागि आव्हान गर्ने । त्यसले जनशक्ति अभाव हुन दिँदैन ।

८. मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने र दुरी कायम गर्ने जस्ता सचेतनामूलक काममा शैक्षिक क्षेत्रका जनशक्तिलाई प्रयोग गर्ने र बजार वडाहरू र टोलहरूमा खटाउने ।

९. २०७२ सालको भूकम्प, त्यसयता भएका साना ठुला महामारीमाबाट जनतालाई सुरक्षित राख्नेहरू अहिले पनि धेरै जना छन् ।उनीहरूको त्यो वेलाको उद्धार र व्यवस्थाको तरिका सिकेर उपयोगी भए ग्रहण गर्ने ।

अहिलेलाई यी प्रारम्भिक र सामान्य काम मात्रै नगर सरकारले गरेको खण्डमा सङ्क्रमण दर बढ्न पाउँदैन । मालपोत, नापी या घरेलु कार्यालयहरू जत्तिको पनि हैसियत नभएको हो कि जस्तो देखियो नगरपालिकाको ।

आँफुहरु सुरक्षित भएपछि सबै सुरक्षित हुन्छन् भन्ने भ्रमबाट मुक्त भई नगरपालिकाले सेवा बन्द गर्ने होइन बरु अझै थप्नु पर्छ । यो सङ्कटपूर्ण अवस्था हो यस्तो बेलामा राती ९ बजेसम्म कार्यालय खुल्ला राखेर जनताको काम र आक्रमणबाट पार लगाउनका लागि काम हुनु पर्दछ ।

सङ्कटमा भाग्ने भन्दा नअत्तालिईकन जनतालाई एकाकार बनाउन सक्ने क्षमता राजनीतिक नेतृत्वमा हुनु पर्छ । यस्तै कठिन परिस्थितिसँग जुधेर खारिनेहरूले नै भोलिको नेतृत्व लिन सक्दछ । सङ्कटका बेलामा भाग्नेलाई सधैँ सबैले भगौडा भन्दछन् । त्यसैले कोरोना भगाउने अचुक औषधी लकडाउन हो भनेजस्तै गरी लकडाउन गरेर सुत्ने भन्दा यी काम गरेर जनतालाई बचाउने र बढी क्षति हुनबाट रोक्न सकिन्छ भन्ने सुझाव हो । , आगे नगरपालिका र यसमा नेतृत्व गर्नेहरूको मर्जी ।

घिमिरे नेपाल पत्रकार महासंघ सुनसरीका पुर्व अध्यक्ष एवम् फास्ट टाईम्स दैनिकका सम्पादक हुन ।