धनकुटा : दसैँमा धनकुटाको आकाशमा विभिन्न रगींबिरगी चङ्गाहरू उडेको देख्न थालिएको छ ।

चङ्गा उडाउने चलन लोप हुँदै गइरहेको बेलामा धनकुटामा भने चङ्गा उडाउनेहरूको सङ्ख्या बढ्दै गइरहेको छ । बजारमा चङ्गा उडाउने धेरै खाली ठाउँ त छैन । तर खाली भएको ठाउँमा केटाकेटी देखि युवाहरू भेला भएर चङ्गा उडाइरहेका भेटिन्छन । उनीहरू चङ्गा उडाएर घण्टौँसम्म रमाइरहेका छन् ।

घरको वरपर खाली चौर नभएका ठाउँमा भने घरको छतबाट चङ्गा उडाएर रमाइलो गरिरहेको देखिखन्छ । उनीहरू चङ्गा चेट पार्ने प्रतिस्पर्धा नै गर्न निकै उत्साहका साथ लागिपरेका छन् । यसले गर्दा चाडपर्वको रौनक सुरु भएको छ ।

केही महिना अघि सरकारले गरेको लकडाउनका कारण घरमै बस्नुपर्ने भएकाले आआफ्नो घरको छतबाट चङ्गा उडाउन थालिएको र यो क्रम निरन्तर रहेको धनकुटा–५ माथिल्लो कोप्चेका कोमल आठपहरियाले बताए । उनले चङ्गाको उडाएको इतिहास खासै थाहा नभएको बताउँदै विशेषगरि दसैँमा चङ्गा उडाउने गरिएको हुनाले नयाँ स्फूर्ति आओस् भनेर उडाइने गरिएको हुनसक्ने बताए ।

‘धेरैले मनोरञ्जनका लागि एक्लै चङ्गा उडाउने गरेका छन् ।’ उनले भने, ‘हामी चैँ तल्लो कोप्चे, माथिल्लो कोप्चे, छोम्देन, वडाङ, कर्मिटार, माझगाउँ लगायतका स्थानका घरको छतबाट चङ्गा उडाएर जुधाइ गरेर रमाइलो गरिरहेका छौ ।’ चङ्गा उडाएर जुधाएपछि जस्को धागो चुँडिन्छ त्यसलाई हकेट भनेर चैट भएको घोषणा गरिने गरिएको आठपहरियाले बताए ।

चङ्गा उडाउन प्रयोग गरिने धागोमा आआफ्नो तरिका अनुसार माच गरिएको हुन्छ । माच गरिनु भनेको सिसाको धुलो, साधना, ध्यूकुमारी, सिमलको चोप, चिप्लेझार प्रयोग गरेर माड बनाएर धागोमा लगाइन्छ । यसरी उडाएको चङ्गाको धागोले अरूको धागो काट्ने गरिएको छ ।

जसको धागो राम्रो हुन्छ त्यसले काटेर अर्कोको चङ्गा झार्ने गरिएको स्थानीय नारायण श्रेष्ठले बताए । उनले धागोमा के के प्रयोग गरिएको छ भनेर अर्को व्यक्ति वा समूहलाई थाहा नदिने गरिएको बताए ।

चङ्गाको इतिहास :
चङ्गा प्राचिनकालमा चीनको हान वंशबाट सुरुवात भएको इतिहास पाइन्छ ।

त्यो समयमा चीनका एक व्यक्तिले काठ र बाँसको चरा आकारको चङ्गा बनाएर तीन दिनसम्म आकाशमा उडाएका थिए । त्यही समय देखिनै चङ्गा उडाउने परम्परा रहेको इतिहास पाइन्छ । नेपाल र भारतमा चङ्गाको चलन जापानबाट आएको विश्वास गरिन्छ ।

जापानमा यसको प्रचलन चीनबाट आएको मानिन्छ । नेपालमा चङ्गाको प्रचलन कहिलेदेखि सुरु भयो भन्ने आधिकारिक प्रमाण फेला नपरे पनि इतिहास भने छोटो नभएको जानकारहरू बताउँछन् ।

प्राचीन दन्त्यकथालाई विश्वास गर्ने हो भने, चीन र जापानमा चङ्गाको प्रयोग सैन्य उद्देश्यका लागि पनि गरिन्थ्यो । चीनमा राजा राजवंशको क्रममा उडेको चङ्गालाई त्यतिकै छाड्नु भनेको दुर्भाग्य वा रोगलाई निम्तो दिनु समान मानिन्थ्यो ।

बच्चाको सम्भावित वर्षभरिको दशा काटियोस् भनेर कोरियामा चङ्गामा बच्चाको नाम र उसको जन्म मिति लेखेर उडाइने गरिएको इतिहास पाइन्छ ।

चाडपर्वको सङ्केत :
चङ्गा उडाउनुलाई केवल मनोरञ्जन लिने तरिका मात्र भन्दा पनि चङ्गा उडाउनुलाई चाडपर्वको सङ्केत पनि भन्ने गरिएको छ ।

किम्बदन्ती अनुसार वर्ष याम भरि धेरै पानी परिसकेको हुनाले धान पाक्ने बेलामा पानीका राजा इन्द्रदेव लाई पानी चाहिँदैन भनेर चङ्गा उडाएर सन्देश पठाएको भनाइ रहेको छ ।

चङ्गा उडाएमा पानी पर्दैन भन्ने विश्वास पनि रही आएको पाइन्छ । विश्वमा धार्मिक, सामाजिक ,वैज्ञानिक उद्देश्यले तथा मनोरञ्जन लिन चङ्गा उडाउने चलन भए पनि नेपालमा भने दसैँ–तिहारलगायतका चाडपर्व आएको सङ्केत यसले दिने गर्छ ।

दसैँमा किन उडाइन्छ चङ्गा ?
दसैँ शरद ऋतुमा पर्छ । शरदीय वायुमा चङ्गा उडाउन सहज हुन्छ । त्यसमाथि दसैँको फुर्सद । यो एउटा रमाइलो गर्ने वा मनोरञ्जन लिने माध्यम पनि हो ।

त्यसैले पनि यस समयमा चङ्गा उडाइन्छ । तर, चङ्गाको साइनो रमाइलोसँग मात्र छैन । चङ्गा उडाउनुसँग धेरै अर्थ जोडिएको छ । यसलाई प्रतीक एवं विम्बको रूपमा पनि लिने गरिएको छ । यस्तै यसले मौसमी अवस्थाबारे पनि जानकारी दिन्छ । चङ्गा उडाउनु भनेको खुला र मोहक मौसमको सूचक हो ।

किनभने चङ्गा उडाउनका लागि अरू मौसम अनुकूल हुँदैन । यति बेला भने आकाश खुला हुन्छ । वायुमण्डलमा शीतल हावा चल्न थाल्छ । चङ्गा उडाउन मन्द हावाको बहाव चाहिन्छ । यस्तो बहाव शारदीय मौसममा मात्र उपलब्ध हुन्छ ।

लोप हुँदै चङ्गा उडाउने चलन :
अहिले गाउँघर या सहरमा चङ्गा उडाउने संस्कृति धेरै कम हुँदै गएको छ ।

जसका कारण शहर बजारमा पहिले पहिले किराना पसल देखी तरकारी पसलसम्म पाइने चङ्गा अहिले आएर बजारमै केही सीमित पसलमा मात्र भेटिने गरेको छ । अझ लट्टाइ त ठुला बजार या काठको सामान बनाउने स्थानमा अर्डर नै गर्नुपर्ने अवस्था छ ।

पछिल्लो १० वर्षमा चङ्गा उडाउनेको सङ्ख्या ज्यादै कम हुँदै गएको धेरैको अनुभव छ । गाउँघर र सहरमा पहिलोजस्तो खुला ठाउँ नहुनुले पनि पहिलेको भन्दा चङ्गा उडाउनेको सङ्ख्या घटेको धनकुटा नगरपालिका ४ का मोहन तामाङको ठम्याई छ ।

‘पहिला–पहिला खाली जग्गा चौर थिए, चङ्गा उडाउन ठाउँ हुन्थ्यो, अहिले ठुला घर बनेका छन्’, उनले भने, ‘पहिले खेल्ने साधन पनि अरू थिएन, अहिले धेरै अरू चिज छन् ।’

विशेषगरि अहिले नयाँ पुस्तामा चङ्गा मोह घट्दै गएको छ । मनोरञ्जनका सामाग्रीको तीव्र विकाससँगै अहिलेका पुस्ता चङ्गा उडाउने भन्दा पनि त्यही मनोरञ्जनका सामाग्रीमै रमाउनु र चङ्गा उडाउन खुल्ला ठाउँ अभाव हुँदा घरको छतबाट चङ्गा उडाउँदा दुर्घटना हुन थालेपछि अहिले चङ्गा प्रतिको आर्कषण घटेको बताइन्छ ।

मनोरञ्जन मात्रै नभई ऐतिहासिक र धार्मिक महत्त्व बोकेको चङ्गा उडाउने परम्परा पछिल्लो समयमा सकंटमा पर्न थालेको छ ।