विगत लामो समयदेखि विश्वभरि समग्र पर्यटन उद्योगलाई 'धुवाँरहित उद्योग'को मान्यता रहेको छ । अर्थात् विश्वमा पर्यटन उद्योगलाई ‘धुवाँरहित उद्योग !’ भनेर चिन्ने गरिन्छ ।

सामान्यतया पर्यटन उद्योग भन्नाले होटेल, मोटेल त्यस्तै कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होम स्टेका साथै पदयात्रा अर्थात् ट्रेकिङ, पर्वतारोहण अर्थात् माउन्टेनियरिङ, जलयात्रा अर्थात् र्याफ्टीङ, बरफ आरोहण (जमेको हिउँ जो नीलो ढिक्का चढ्ने अर्थात् आइस क्लाईम्बिङ), निकुञ्ज विचरण, बन्जी जम्पिङ, स्की खेल, चरा अवलोकन अर्थात् वर्ड वाचिङ, फिसिङ, शिकार पर्यटन, हट एयर बेलुनिर, जिप फ्लायर, चट्टान आरोहण अर्थात् रक क्लाइम्बिङ, कायाकिङ, साइक्लिङ, जङ्गल सफारी, मोटर ड्राइभिङ, बाइकिङ, हाइकिङ, स्काई डाइभ, माउन्टेन फ्लाइट, सांस्कृतिक भ्रमण अर्थात् कल्चरल टुर, औषधोपचार अर्थात् मेडिकल टुर, ध्यान पर्यटन अर्थात् योगा टुर, गाउँ अवलोकन भ्रमण, यस्तो भ्रमण कुनै जाति विशेषको बसोबास भएको ठाउँमा गरिन्छ, जसलाई अङ्ग्रेजीमा ‘भिलेज टुर’ भनिन्छ, त्यस्तै प्राचीन सहर अवलोकन भ्रमण, सम्पदा अवलोकन भ्रमण अर्थात् हेरिटेज टुर आदिलाई बुझिन्छ ।

तर, हाल पर्यटनको मेरुदण्डको रूपमा रहेको होटेल, मोटेल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टे आदि भने डामाडोल स्थितिमा रहेको छ । किनभने, गत डिसेम्बरको अन्त्यतिर चीनको दक्षिण-पूर्वी प्रान्त हुपेइको राजधानी सहर मुहानबाट फैलन सुरु भएको महामारी नोबेल कोरोनाभाइरस (कोभिड-१९) का कारणले गर्दा नेपालमा मात्रै नभएर विश्वभरि नै बिदा मनाउन निक्लने पर्यटकहरूको सङ्ख्या घट्यो । फलतः विश्वभरिकै होटेल, मोटेल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टे आदिको लगानी धरमरमा परेको अवस्था छ । अझ यो वर्ष त नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या गत वर्षको भन्दा लगभग ८१ प्रतिशतले घटेको छ ।

हुन पनि कुनै पनि मान्छे आफ्नो देश छाडेर दोस्रो देश जाने बित्तिकै वा आफ्नो घर छाडेर अन्यत्र जाने बित्तिकै सबैभन्दा पहिले बस्ने व्यवस्था हुनु जरुरी हुन्छ । त्यसपछि मात्रै उसले के खाने के पिउने ? भन्ने चिन्ता गर्छ वा खाने/पिउनेको व्यवस्था गर्छ । अथवा कुनै पनि मान्छेले आफ्नो देशमा पनि आफ्नो घर छाडेर २४ घण्टा वा एक रात बिताउने गरी दोस्रो ठाउँ जाने बित्तिकै उसलाई सबैभन्दा पहिले बस्ने व्यवस्थाकै आवश्यकता पर्छ । यस्तो खालको भ्रमणमा निक्लने मान्छेलाई नै पर्यटक मान्ने गरिन्छ ।

अर्को महत्वर्पुण कुरो के हो भने, जसले एक रात आफ्नो घर वा देश छाडेर बाहिर बिताउँछ, उसलाई मात्रै पर्यटक (आन्तरिक र बाह्य पर्यटक) मान्ने भन्ने संयुक्त राष्ट्र सङ्घसँग आबद्ध ‘विश्व पर्यटन सङ्गठन (युएन-डब्लुटिओ)’ को मान्यता वा भनौँ परिभाषा रहेको छ ।

यसरी हेर्दा भारतीय सीमा क्षेत्रको होटेल वा लजमा बसेर दिउँसो एकै छिन नेपाल घुमेर बास बस्न भारत तिरै जाने विदेशी पर्यटकहरूलाई पर्यटक मान्ने कि नमान्ने ? खास गरी बुद्ध धर्मका प्रवर्द्धक गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न एक छिन नेपाल आउने र सोही दिन भारत तिरै फर्किने विदेशी पर्यटकहरूलाई पर्यटक मानेर पर्यटकको सूचीमा राख्ने कि नराख्ने ? यस बारेमा हामीले गम्भीर भएर सोच्ने दिन पनि आईसकेको छ ।     

जे भए तापनि समग्र नेपालको पर्यटन उद्योगको पनि विशेषतः होटेल क्षेत्रको कुरो गर्दा (कोभिड-१९) को महामारीअघि ‘दिन दुई गुणा रात चौ गुणा’ले उन्नति वा भनौँ प्रगति भई रहेको थियो । किनकि लगभग दुई वर्षअघि आएको एक समाचारअनुसार नेपालको होटेल उद्योगमा लगभग ११ खर्ब लगानी भैसकेको भनी रिपोर्ट आएको थियो । त्यो आधारमा हेर्दा हाल १५/१६ खर्बभन्दा बढी नै नेपालको होटेल उद्योगमा लगानी भैसकेको हुनुपर्छ । हुन पनि कैलाली जिल्लाको धनगढी लगायत विभिन्न स्थानमा मात्रै होटेल उद्योगमा ८ अर्बभन्दा बढी लगानी भएको भनी लगभग १६ महिनाअघि एक अनलाइन पोर्टलमा समाचार आएको थियो ।

उता सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले मुस्ताङ जिल्लामा रहेको हिन्दुहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको भ्रमण गरेका थिए । यसरी भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले मुस्ताङ जिल्लामा रहेको हिन्दुहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको भ्रमण गरेपछि हिन्दुहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको भ्रमण गर्न आउने भारतीय पर्यटकहरूको घुइँचो सोचेभन्दा बढी नै लाग्न थालेको छ ।

यसरी भारतीय लगायत अन्य देशका पर्यटकहरूको चाप बढ्न थालेपछि हाल मुस्ताङ जिल्लाको मुक्तिनाथ लगायत माथिल्लो मुस्ताङ क्षेत्रमा समेत नयाँ होटेल खुल्ने क्रम बढ्दो कममा रहेको छ । त्यसो त विसं २०७६ साउनको अन्त्यतिर रातोपाटी अनलाइन पोर्टलमा छापिएको समाचारमा उल्लेख भएको एक तथ्यांक अनुसार सन् २०१५ मा मुक्तिनाथ क्षेत्र वरिपरि १५ वटा पर्यटक स्तरीय होटेल थिए भने हाल त्यहाँ पर्यटक स्तरीय होटेलको सङ्ख्या २२/२३ वटा पुगेको छ ।

भन्नै पर्दा सन् १९९३/९४ तिर यो पङ्क्तिकार ट्रेकिङ भरियाको रूपमा पहिलो पटक थोराङपास जाँदा मुक्तिनाथ क्षेत्रमा दुई वटा मात्रै होटेल देखेको थियो । त्यसो त त्यो वेला थोराङपास ट्रेकिङ रुटमा मात्रै नभएर नेपालका प्रायः सबै ट्रेकिङ रुटहरूमा त्यो वेला होटेल वा लज हुन्थेन । त्यसरी होटेल वा लज उपलब्ध नभएकैले प्रायः क्याम्पिङ ट्रेक गर्ने प्रचलन रहेको थियो । त्यो वेला मुक्तिनाथ दर्शन गर्न आउने धेरै जसो भारतीय र नेपाली हिन्दु तीर्थयात्रीहरू पाटी, पौवा वा भनौँ धर्मशालामा वास बस्थे भने, युरोप, अमेरिका लगायत विकसित देशका पदयात्रीहरू क्याम्पिङ (पाल टाँगेर) गरेर बस्थे ।

यसरी हेर्दा गत वर्षको तथ्यांक अनुसार मात्रै पनि नेपालको होटलहरुले वार्षिक २५ लाख विदेशी पर्यटकहरू धान्न सक्ने  क्षमता रहेको छ । यसबिचको एक वर्षमा केही नभए तापनि १०/१२ हजार बेड क्षमता बढेको हुन सक्छ । यसरी हाम्रो देश नेपालमा होटेल क्षेत्रले अपेक्षा गरेभन्दा छिटो छिटो गति लिएको मान्न सकिन्छ । तर, त्यही अनुसार विदेशी पर्यटकहरू नेपाल भ्रमणमा आएनन् भने, होटेल क्षेत्रमा लगानी गरेका लगानीकर्ताहरूले नाफा कमाउने त कता हो कता सञ्चालन खर्चसमेत उठाउन कठिन पर्ने देखिन्छ ।

उनीहरूमध्ये धेरैले आफ्नो पकेटको पैसा भन्दा पनि बैङ्क तथा वित्त कम्पनीहरूसँग ऋण लिएर लगानी गरेका छन् । त्यसमाथि सहर वा बजार क्षेत्रमा खुलेका ‘होस्टेल’ र ‘होम स्टे’हरू ठुला वा भनौँ तारे होटलहरुका लागि प्रतिस्पर्धी रहेको देखिन्छ । यसरी हेर्दा काठमाडौँ लगायत सुविधा सम्पन्न क्षेत्रमै ‘होस्टेल’ र ‘होम स्टे’हरू चलाउन दिनु हुँदैन ! भन्ने ठुला व भनौँ तारे होटेलका सञ्चालकहरूले राखेको मागलाई पनि सम्बोधन गर्ने हो कि ? यसतर्फ पनि सरकारको मातहत रहेको नियामक निकायले सोच्नुपर्ने देखिन्छ ।

नेपालमा हाल १५ वटा पाँचतारे होटेल सञ्चालनमा आएको छ । त्यस्तै चार तारे होटेलको सङ्ख्या १३ वटा रहेको छ भने, तीनतारे होटेलको सङ्ख्या ३३ वटा रहेको छ । उता दुई तारे होटेलको सङ्ख्या पनि ४३ वटा रहेको छ । उता एकतारे होटेलको सङ्ख्या ३५ वटा रहेको छ भने, पर्यटक स्तरीय होटेलको सङ्ख्या ५ सय २७ वटा रहेको छ ।

भनिन्छ, हाल होमस्टे मात्रै ५ सय ५७ वटा रहेका छन् । यसबाहेक होस्टेल पनि सञ्चालनमा रहेको छ । जुन अवैध रूपमा चलेका छन् भन्ने भनाइ होटेल व्यवसायीहरूको छ । जे होस्, होटेल सचालकहरुको संस्था (हान) ले दिएको जानकारीअनुसार अरू तीन-चार वटा ठुला तारे होटलहरु बन्दै छन् । यसरी पाँचतारे होटेल बढ्ने क्रममा छ भने, एकताका दक्षिण एसियाकै उत्कृष्ट होटेल भनी चर्चामा आएको फूलबारी रिसोर्ट हालसम्म बन्द अवस्थामा छ ।

विसं २०७२ को भूकम्पपछि  बन्द अवस्थामा रहेको एभरेस्ट होटेल भने गत वर्षदेखि खुलेको छ । बन्द भएका होटलहरुको कुरो गर्दा होटेल शेर्पा, होटेल काठमाडौँ, ब्लु स्टार होटेल, नारायणी होटेल, क्लिष्ट होटेल लगायत धेरै होटलहरु विगतमा बन्द भएका थिए भने अहिलेको अवस्थामा खुलेका होटेलहरू मध्ये केही होटेले भने आफ्नो स्टाफहरूलाई बेतलबी बिदा वा आधा तलब दिएर आफ्ना स्टाफलाई काम दिएर राखेका छन् भने केही होटलहरु अनिश्चित कालसम्म बन्द भएका छन् । 

ninam-kulung-mangale