धरान : प्रतिनिधि सभामा १० सिट नपुर्‍याएको पार्टीका सचेतकले सेवा सुविधा नपाउने भएपछि हर्क साम्पाङले आक्रोश सामाजिक सञ्जालमा पोखेका छन् ।
श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले फेसबुकमा स्ट्याटस लेखेका छन् ‘मन्त्रीले पनि सेवा सुविधा र सुरक्षाकर्मी नलिनु।’
राष्ट्रिय स्वतन्त्र पार्टी,नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी,श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् ।तर सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ अनुसार श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने भएका हुन । 
ऐनको दफा २ को (ञ) मा तोकिएको व्यवस्थाका अनुसार यी दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका हुन । 
‘दलको प्रमुख सचेतक भन्नाले प्रतिनिधि सभामा दश जना भन्दा बढी सदस्यहरू रहेको दलको नेताले सो दलको प्रमुख सचेतक भई काम गर्न तोकेको त्यस्तो सभाको सदस्य सम्झनुपर्छ ।’ ऐनको दफा २ को (ञ)  मा लेखिएको छ ।
ऐन अनुसार प्रमुख सचेतकको सुविधा नपाउने भएपछि सांसद साम्पाङले फेसबुकमा लेखेका छन् ‘राष्ट्रिय पार्टी श्रम संस्कृतिलाई कुनै सुविधा नदिने हो भने मन्त्रीहरूले पनि सुविधा नलिनु होला, सुरक्षाकर्मी पनि नलिनु, आफै हिँड्नु, काम छैन..’