धरान : जनस्वास्थ्य सम्बन्धी ऐनमा अनुमति पाए पनि तोकिएको मापदण्ड विपरीत स्वास्थ्य सेवा सञ्चालन गर्न नपाइने व्यवस्था छ । बजार खुलेका थुप्रै क्किलिकहरु मापदण्डमा चलका छन् छैनन् अनुगमन हुने गरेको छैन ।
यस्तो अवस्थाले सजिलो मानेर उपचार गराउन क्लिनिकमा जाने सर्वसाधारणको स्वास्थ्योपचार जोखिममा पर्न सक्ने स्थिति धरान जस्तो शहरमा पनि विद्यमान छ । धरान–१२ स्थित सुनसरी पोलिक्लिनिक एण्ड डाइग्नोसिस सेन्टर प्रालि सञ्चालनको व्यवस्था त्यस्तो देखिएको छ ।
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार सम्बन्धित प्राविधिक जनशक्ति बिना ल्याब तथा एक्स–रे सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था छ । नियम विपरीत सेवा सञ्चालन गरेको पाइएमा सम्बन्धित संस्थामाथि जरिवाना, सेवा बन्द वा इजाजत पत्र रद्द सम्मको कारबाही हुन सक्ने व्यवस्था छ ।
पोलिक्लिनिकमा अनिवार्य रूपमा ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट, रेडियोलोजिस्ट तथा एक्स–रे सहायक जस्ता प्राविधिक कर्मचारी सहित सेवा सञ्चालन हुनुपर्ने छ । तर सुनसरी पोलिक्लिनिकमा आवश्यक प्राविधिक कर्मचारी राखिएको छैन ।
क्लिनिकका कर्मचारी अनुसार प्रबन्ध निर्देशक लालुप्रसाद यादव आफैँले नै ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट, रेडियोलोजिस्ट तथा एक्स–रे सहायकको काम समेत गर्दै आएका छन् । निर्देशक यादव भने आफै स्वास्थ्य प्राविधिक होइनन् । उनी भन्छन् ‘म सञ्चालक मात्र हुँ ।’
यादवले आफूलाई सञ्चालक बताए पनि पोलिक्लिनिक सञ्चालन इजाजत पत्र उनको नाममा छैन । श्रोतका अनुसार यादवले दुहबीका दुर्गानन्द चौधरीको लाइसेन्स प्रयोग गरी उक्त पोेलिक्निनिक सञ्चालन गर्दै आएका छन् ।
पोलिक्लिनिकले निरोगिताको प्रमाणपत्र पनि उपलब्ध गराउने गरेको छ । नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार दर्ता प्राप्त चिकित्सक बाहेक अन्य व्यक्तिले स्वास्थ्य सम्बन्धी प्रमाणपत्र जारी गर्न पाउँदैन ।
क्लिनिक कानुनी मापदण्ड बारे सञ्चालक यादवसँग फोन सम्पर्क गर्दा उनले भने ‘सुनसरी पोलिक्लिनिकले सबै मापदण्ड पूरा गरेर नै अनुमति पाएको हो, मलाई तपाईँहरूसँग के दुस्मनी छ र क्लिनिकको बारेमा गलत कुरा लेख्नु हुन्छ ?’