धरान : धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख आइन्द्रविक्रम बेघाले पत्रकारहरू निष्पक्ष हुनुपर्ने आग्रह गर्दै भनेका छन् ‘कुनै आलोचनात्मक समाचार सम्प्रेषण गर्दा सम्बन्धित पक्षको भनाई राखिएन भने पत्रकारलाई एकपक्षीय भएको आरोप लाग्न सक्छ ।’ 
चलचित्र पत्रकार सङ्घ सुनसरी जिल्ला अधिवेशनको समापन कार्यक्रममा आज आइतबार उनले महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनमा उल्लेखित धरान उपमहानगरपालिकाको अनुगमन भत्ताका बारेमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै उक्त कुरा बताएका हुन ।
चलचित्रको होस या कुनै पनि विधाको पत्रकारितालाई अहिलेको सामाजिक सञ्जालमा आउने एक पक्षीय गालीगलौजको कन्टेन्ट हुनबाट जोगाए मात्र विश्वसनीयता हासिल गर्न सकिने उनको भनाई थियो ।
अधिवेशन उद्घाटन गर्न प्रमुख अतिथिका रूपमा निमन्त्रण गरिएका नगर प्रमुख बेघा अधिवेशनको खुला सत्र सकिएर बन्द सत्रले नयाँ कार्यसमिति चयन गरेर सपथ ग्रहण गराउने बेलामा आइपुगेका थिए ।
नगर प्रमुख बेघाको अनुपस्थितिमा अधिवेशन वरिष्ठ पत्रकार हर्ष सुब्बाले उद्घाटन गरेका थिए । उनले चलचित्र उद्योग मुलुकको आर्थिक क्षेत्रको महत्त्वपूर्ण अङ्ग भएकोले चलचित्र पत्रकारिताले त्यसको प्रवर्द्धनमा भूमिका खेल्नु पर्ने बताए । 
सङ्घका केन्द्रीय सदस्य,कोशी प्रदेश इन्चार्ज नरेन्द्र बस्नेतले नेपालमा चलचित्रको विकाससँगै चलचित्र पत्रकारितापनि अघि बढेको बताए । नेपाली चलचित्रको बजारीकरण,दर्शक वर्गमा रुचि चासो बढाउने क्षेत्रमा चलचित्र पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेल्दै आएको उनको भनाई थियो । 
याक्थुङ चलचित्रकर्मी सङ्घका अध्यक्ष नवीन मेन्याङबोले चलचित्र पत्रकारितामा धरानको स्थानीय छापा पत्रपत्रिकाको महत्त्वपूर्ण भूमिका रहेको बताए । चलचित्र बारे समाचार लेख्ने पत्रकारहरू नभएको बेला आफै पत्रकार भएर सिनेमा सम्बन्धी समाचार लेखेको स्मरण समेत उनले सुनाए ।
उद्घाटन समारोहको सभापतित्व अध्यक्ष विनोद विश्वकर्माले गरेका थिए । उनले बन्द सत्रमा सङ्घले सुनसरी जिल्लामा गरेका गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गरे । सञ्चालन जिल्ला सचिव सुमन भट्टराईले गरेका थिए ।
सुवास सङ्कल्प श्रेष्ठ सर्वसम्मत अध्यक्ष
चलचित्र पत्रकार सङ्घ नेपाल सुनसरी जिल्ला समितिको तेस्रो जिल्ला अधिवेशनले सुवास सङ्कल्प श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ ।अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिमा सङ्घका केन्द्रीय सदस्य नरेन्द्र बस्नेत संयोजक, प्रदेश अध्यक्ष सञ्जु राई, नेपाल पत्रकार महासङ्घ जिल्ला सदस्य रोहित राई कुलुङ सदस्य थिए ।
नव निर्वाचित कार्यसमितिमा उपाध्यक्ष रविन राउत, सचिव मनोज दाहाल, सहसचिव आरती थापा (रश्मी) र कोषाध्यक्ष सुमित कार्की रहेका छन् ।
कार्यसमिति सदस्यहरूमा रविना काफ्ले, आरबी कटवाल, आशिका दाहाल, तुलसी घिमिरे, मनिषा विश्वकर्मा, सञ्जीव तिम्सिना, एलएन गच्छदार, मोहन अधिकारी, इजन तामाङ र विशाल काफ्ले चयन भएका छन् । 
अधिवेशनले निवर्तमान जिल्ला अध्यक्ष विनोद विश्वकर्मा र आरती थापा (रश्मी)लाई केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।
यसै गरी कोशी प्रदेश अधिवेशन प्रतिनिधिमा एलएन गच्छदार, तुलसी घिमिरे, मनोज दाहाल, सुमित कार्की र सुमन भट्टराईलाई चयन गरेको छ ।
chalchitra-patrakar