पुर्णिया : कोशी प्रदेशको इटहरीमा चैत १४, १५ र १६ गते आयोजना हुन लागेको इस्टर्न ट्राभल मार्टलाई लक्षित गर्दै प्रचारप्रसार अभियान अन्तर्गत भारतका विभिन्न सहरहरूमा अन्तरक्रिया कार्यक्रम तीव्र बनाइएको छ। नेपाल पर्यटन बोर्डको सहयोग, कोशी प्रदेश सरकार तथा इटहरी उपमहानगरपालिकाको समन्वयमा उक्त मार्ट हुन लागेको हो ।
नेपालबाट आएको मार्ट आयोजक टोलीले फारबिसगंज, पूर्णिया र दरभंगापछि राजधानी पट्नामा पनि पर्यटन व्यवसायी तथा सञ्चारकर्मीसँग विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको जानकारी दिएको छ।
पुर्णियास्थित श्रीनायक होटेलमा आयोजित कार्यक्रममा स्थानीय पर्यटन व्यवसायी र पत्रकारहरूले नेपालबाट आएको मार्ट आयोजक प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए। कार्यक्रममा इस्टर्न ट्राभल मार्टका प्रतिनिधिहरूले नेपालमै उत्पादन भएको रुद्राक्षको माला तथा ढाका टोपी प्रदान गर्दै भारतीय सहभागीहरूलाई इटहरीमा हुने मार्टमा सहभागी हुन औपचारिक निमन्त्रणा दिएका थिए।
अन्तरक्रियाका क्रममा सहभागी भारतीय पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरूले नेपाल भ्रमणका क्रममा भन्सार प्रक्रिया, बाटोमा हुने ट्राफिक व्यवस्थापन तथा केही स्थानमा प्रहरीबाट हुने असहज व्यवहारबारे गुनासो व्यक्त गरेका थिए । उनीहरूले यी समस्याहरू समाधान भएमा नेपाल भारतबिचको पर्यटन प्रवाह अझ वृद्धि हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा बोल्दै मार्टका संयोजक पुण्यप्रसाद भट्टराईले नेपाल र भारतबिचको पर्यटन सम्बन्धलाई थप सुदृढ बनाउन यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताए। उनले भारतीय पर्यटकलाई नेपालका पर्यटकीय स्थलहरूको अवलोकन गराउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
त्यसैगरी नेपाल पर्यटन बोर्डकी मार्केटिङ प्रमुख रोहिणी खनालले नेपाल भारत पर्यटन प्रवर्द्धनलाई सशक्त बनाउन भारतका विभिन्न स्थानमा अन्तरक्रिया गर्दै मार्टमा सहभागी हुन निमन्त्रणा गरिएको बताइन्।
कार्यक्रममा नेशनल जर्नालिस्ट एसोसिएसन महिला बिहारकी अध्यक्ष पूजा मिश्र, होटेल एसोसिएसन पट्नाका अध्यक्ष पङ्कज नायक, मार्टका सचिव उमेश दाहाल, सदस्य दीपक पोखरेल, खिलकुमार सुवेदी लगायत पत्रकार तथा पर्यटन व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।



































































