धरान : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र १ मा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचनमा प्रतिस्पर्धा गरेका २६ उम्मेदवारमध्ये २४ जनाले कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा जमानत जोगाउन सकेनन्।

निर्वाचन कानुनअनुसार जमानत जोगाउन कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ। यस क्षेत्रमा कुल ७९ हजार ६२६ सदर मत खसेकाले जमानत जोगाउन कम्तीमा ७ हजार ९६३ मत आवश्यक थियो।

तर नेपाली काँग्रेसका सुजेन्द्र गोले तामाङ, नेकपा एमालेका टिकाराम लिम्बु र नेपाल कम्युनिस्ट पार्टीका मनोज भट्टराईसहित २१ उम्मेदवारले उक्त मत सङ्ख्या पुर्‍याउन सकेनन्।

सुनसरी १ का उम्मेदवारमध्ये विजेता श्रम संस्कृति पार्टीका हर्क साम्पाङ र उपविजेता गोमा तामाङ शरिनले मात्र जमानत जोगाउन सफल भएका छन्।

निर्वाचनमा नेकपा एमालेका टिकाराम लिम्बुले ६ हजार ४६३ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे भने नेपाल कम्युनिस्ट पार्टीका मनोज भट्टराईले ६ हजार ३३१ मत ल्याउँदै चौथो स्थान हासिल गरे। नेपाली काँग्रेसका उम्मेदवार सुजेन्द्र गोलेले भने ३ हजार ९९० मत मात्र प्राप्त गरे।

फागुन २१ गते सम्पन्न निर्वाचनमा यस क्षेत्रमा कुल १ लाख ५० हजार ३९३ मतदाता रहेकामा ८७ हजार ८६५ मत खसेको थियो। त्यसमध्ये ७९ हजार ६२६ मत सदर र ४ हजार २५३ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचनमा श्रम संस्कृति पार्टीका हर्क साम्पाङ ३४ हजार ६२ मत प्राप्त गर्दै विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले २३ हजार ४२५ मत प्राप्त गर्दै उपविजेता बनेकी छन्।

जमानत जफत हुने अन्य उम्मेदवारमा राप्रपाका उद्धव श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठ, मङ्गोल नेशनल अर्गनाइजेसनका राजेन्द्र गुरुङ, राष्ट्रिय साझा पार्टीका भूपी राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजकुमार लिम्बू, नेकपा माओवादीका दिलकुमार बास्तोला, नेपाली जनश्रमदान संस्कृति पार्टीका राजकुमार राई, जनता समाजवादी पार्टीका सञ्जय राई, संयुक्त नागरिक पार्टीका नरेश बिक, उज्यालो पार्टीका डम्बर लावती जेन्टल लगायत रहेका छन्।

यस निर्वाचन क्षेत्रबाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेको समर्थनमा जनता समाजवादी पार्टीका अशोक राई विजयी भएका थिए भने रास्वपाकी गोमा तामाङ उपविजेता भएकी थिइन्।