धरान : धरान-५ को देउराली क्षेत्रमा स्थानीयवासीले श्रमदान गरेरै खानेपानी ल्याउने अभियान अघि बढाएका छन् ।

त्रिवेणी टोल विकास संस्थाको आयोजनामा मङ्गलवार भएको श्रमदानमा ७५ घर धुरी मध्ये ४१ घरधुरी श्रमदानमा सहभागी भए । देउराली खानेपानी कार्यालयको समन्वयमा सेरा खोलाको मुहानबाट ठिंगाबारी हुँदै देउराली सम्म पानी ल्याउन श्रमदान गरिएको हो ।

धरान जनसहभागिताको नमुना सहरका रूपमा चिनिँदै आएको छ । पछिल्लो समय पूर्व मेयर  हर्क साम्पाङको श्रमदान चर्चाको विषय बन्दै आएको छ । देउरालीमा सुरु भएको श्रमदान अभियान त्यसको निरन्तरता भएपनि अति भिन्न छ ।

अघिल्लो श्रमदान कार्यकर्ता चिनाउन आफ्नै तस्बिर अङ्कित टिसर्ट समेत प्रयोग हुँदै आएको थियो । हालको श्रमदान पहिलेको भन्दा दृश्यमा केही फरक देखिन्छ ।

श्रमदानको उद्देश्य र काम उस्तै भए पनि यहाँ हर्क साम्पाङ अङ्कित टिसर्ट प्रयोग भएको देखिँदैन। वनभोज र भतेरको उत्ताउलोपन नदेखिएको सहभागीहरूको भनाइ छ ।

यो अभियान धरानका कार्यवाहक नगरप्रमुख अईन्द्र विक्रम बेघाको नैतिक समर्थनमा अघि बढिरहेको उनीहरूले बताए ।
श्रम अभियानमा संलग्न माया चाम्लिङले सामाजिक सञ्जाल फेसबुकमार्फत कार्यवाहक नगरप्रमुख बेघालाई ट्याग गर्दै अभियानको जानकारी सार्वजनिक गरेकी छन् ।

सामाजिक सञ्जालमा गरिएको पोस्टमा भनिएको छ, ‘अहिलेसम्म दिन बिराएर मात्र पानी पाइरहेका हामी देउरालीवासी, यो योजना सफल भएमा दैनिक पानी पाउनेमा विश्वस्त छौँ ।’

‘पानी जीवनको आधार भएकाले यसले सामान्य घरदेखि व्यवसाय, कलकारखाना र गाउँ विकासमा ठुलो सहयोग पुग्नेछ’ भन्ने श्रमदान अभियानको मूल नारा छ ।

khanepani shramdan