हिमायती-'अ म्युजिकल जर्नी' '.......तर धुरीमा गीद्द चै बसेकै हो'

  • माघ १०, २०७७
  • ११९७ पटक पढिएको
  • जसकुमार राई
alt तस्विर : कुन्ता योञ्जन, विष्ण सुब्बा, चन्डी राई, हर्क चुम्मे, शिव सुब्बा र किशोर श्रेष्ठ

२०७७ साल पुस सात गते नेपाल कम्युनिस्ट पार्टीको झन्डै दुई तिहाइ बहुमतको प्रधानमन्त्री खड्ग प्रसाद ओलीले अकस्मात् संसद् विघटन गरे । कम्युनिस्ट आचार-विचारमा आस्था राख्ने धरानका धरानमा हिमायतीका सङ्गीतकार जीवन भट्टराई दाजुलाई उहाँको तत्कालीन विचार बुझ्न फोन गरेर “लाल अभिवादन दाजु” मात्र के भनेको थिए । अकस्मात् कड्कनु भयो । “के को लाल अभिवादन ? भाइ अहिलेको यो समय काल अभिवादन ” भन्नु भयो । एक छिन पछि “अब त यहाँ त को कता जाने भनेर मोलभाउ र भागबन्डा सुरुवात भएको छ । साँच्चीकै कम्यूनिष्टहरुको लागि भने यो काल अभिवादन नै हो । भाइ”

हिमायतीका जनसङ्गीतकार तथा स्रष्टा जीवन भट्टराईको यो प्रतिक्रिया बर्तमानमा सान्दर्भिक नै छ जस्तो लाग्यो । नेपालको रोयल कम्युनिस्टहरू गाउँगाउँमा नक्कली सिंहदरबार पुर्याउने सपना देखाएर, साँच्चीकै सिंहदरबारमा बसेर जनताको सिंहदरबार विघटनको घोषणा गर्छन् । गाउँको माटोसँग जोडिएको यौटा माटोको घर भएको कार्यकर्तालाई भने 'लाल' हैन 'काल' आईरहेको आभास हुँदो हो र नै जनसङ्गीतकार अहिलेको यो सरकारी ‘चाल’ लाई ‘लाल’ हैन ‘काल’ भनेर तर्सन्छन् ।

तर तीनै जीवन भट्टराईहरू जीवनभर सत्ता भजन नगाई जनताको गीत गाँउनेहरुलाई भने कस्तो दिक्क लाग्दो हो । गणतन्त्र प्राप्ति पछि पनि आफ्नो सङ्गीत मार्फत नै बारम्बार खबरदारी गर्दै आई रहे पनि नेताहरूको अर्दुदर्शी, क्षणिक लोभ, अहङ्कार अनि स्वार्थको विरुद्धमा हिमायतीहरू हजारौँ बार जन्म लिन्छन् अनि करोडौबार जनताको अदालतमा गाँउछन पनि ।

फीरेन सुदिन आएन वसन्त छाएन सुवास
उठेथे वीर एक भै यहाँ उचाली आकाश

हेरफेर केवल सिमीतै रह्यो सारथी माझमा
शोषणको भार बढी नै रह्यो गरिब दुःखीमा
अवसर नयाँ आएछ साथी चेतना फीजाउने
सहिदको सपना सम्झेर फेरी जनता ब्युँझाउने ।

सङ्गीत र रचना : जीवन भट्टराई
स्वरः वसन्त राई

विगत ४० वर्ष देखि हिमायती जनसाँस्कृतीक मञ्च देशमा साङ्गीतिक अभियान मार्फत न्याय समानता र आवाज विहीन जनताको पक्षमा अन्याय, अत्याचार कुसंस्कारको विरुद्ध सरकारलाई खबरदारी गर्दै आईरहेको छ । यो गीत हिमायतीको साङ्गीतिक अभियानमा डिजीटल्ली रेकर्डिङ भएर बाहिर आए पनि रेडियो एफ एम र टेलिभिजनले बजाइ दिदैनन। किन भने यहाँ तरुनीको फुलबुट्टे सारी सपक्क पारिएको छैन । न नौजवान कान्छाको केश नै फीजारीएको छ । न यस्ता गीतलाई बहुराष्ट्रिय कम्पनीले स्पोन्सर गरिदिन नै मिल्छ । किनकि हिमायतीहरू पुँजीवादको कट्टर विरोधीहरू हुन । अझ भनूँ कोही धनी कोही गरिब होइन सबै समान हुनुपर्छ भन्ने सैद्धान्तिक स्कुलको फर्स्ट डिभिजनका खेलाडीहरू हुन । अझ भनौँ सर्वहाराको हिमातीहरु हुन ।
चालीस वर्ष हिमायतीले दजर्नौ गीतहरू बजारमा ल्याए । तर बजारले पत्याए पो ।

हिमायतीहरू खाली खुट्टा गाउँबाट विचार बोकेर आएको नेताहरूको भाषण जनतालाई सुनाउन, साङ्गीतिक माहौल बनाएर नेताको स्पेस बनाई दिन्थे अर्थात् भर्याङ भइदिन्थे । नेताको चुनावी नाराहरू बोकेर गाउँगाउँ , टोल टोलमा हिमायतीको बाक्लो उपस्थिति हुन्थ्यो । जनताको गीतहरू र यसका उदघोषकहरु निक्कै चर्चामा रहन्थे । नेता भन्दा बढ्ता चर्चामा रहेको कारण नै हिमायतीहरूले नै सिँचिएको खाली खुट्टे नेताबाट टाई सुट लाएर पजेरो चढ्ने महान् तथा सुकिला मुकिला गौरवशाली नेताको रूपमा परिचय फेर्ने बनाए ।

चप्पले नेतालाई सिंहदरबार सम्म पुर्याएर तिनै नेता अगाडी नचल्ने अनि नसुहाउने फेशन विहीन डेढ एक्पायर सङ्गीतको सेल्फ क्वारेन्टाईनमा बसी रहेको भान हुन्छ आजकल । जो अधिकारका लागी लडेका थिए उनै अधिकार विहीन भएर चुपचाप बसे जस्तो ।

बगेथ्यो यहाँ सहिदको रगत देशलाई सिँचेर
सुन्दर सपना सरिको जीवन अर्पण दिएर
उज्यालो ल्याउने सपना तीन्को देशलाई हँसाउने
भेद र भाव मासेर यहाँ सबै फुल फुलाउने
फीरेन सुदिन.........

सुदिन, समृद्दीको चर्चा घाँटीको नशा फलाएर भाषण गरे । गाउँ गाउँमा सिंहदरबारको सपना बाँडेको जनपक्षिय सरकारको पक्षमा लागेर हिमायतीले अभियान चाले पनि 'पार्टीमा चाकडी चाप्लुसी तथा नातावादको बोलवाला छ ।' भनेर एक्काईसौ शताब्दी मासिक पुसको अङ्कमा २३ वर्ष अगाडी नै हिमायतीका कलाकारहरूले भनेका थिए । “कलाकारहरू एमालेको दमाई जस्तै भएका छन” शीर्षकमा अनुशील श्रेष्ठले लामो फिचर नै लेखेका छन । कथा ब्याथा आजको हुँदै होइन । नयाँ चोट हुँदै होइन पुरानो घाउ बल्झेको मात्रै हो ।

भुमिगतकालमा अनुशासनको फलामे जन्जिर भन्न रुचाउँथे कम्युनिस्टहरू जो सहर्ष उनीहरू पालना गर्थे । अनि बन्थ्यो यौटा परिवार जसले हिमायतीको परिवारको परिकल्पना गर्यो । सूर्य दाहालको अगुवाइमा २०३८ सालमा शुक्रपथ अध्ययन समूहको स्थापना भयो । धरान वडा नम्बर सात स्थित शुक्रपथमा खास गरी कम्युनिस्ट विचारधारा अध्ययन गीत सङ्गीतको प्रशिक्षणको काम सुरु भयो ।

२०३६ सालको जनमत सङ्ग्रह, पञ्चायती शासन व्यवस्थाका चरम बर्बरता साइड एफेक्टको कारण नै शुक्रपथ अध्ययन समुहको जन्म भएको थियो । शुक्रपथ अध्ययन समूहका २५ जना डम्बर बहादुर राई , हरीकुमार राई, सूर्य दाहाल, लीला राई, लीना राई, सुमित्रा राई , हर्क चुम्मे, शिव सुब्बा, कुन्ति योञ्जन, विशु राई, शारदा राई, शान्ता राई, श्याम राई, शिव राई, स्वः भक्त राई, रजनी राई, सुभद्रा राई, अभिनारायण राई, रोशन राई, जयकुमार राई, शिव कुमार राई , सनवीर राई, कृष्ण राई, भीम राई र भीष्म शर्मा थिए ।

सुक्रपथ अध्ययन समूहको आर्थिक उपार्जनको देउसी टाली बन्यो यही देउसी टोलीसँगै यसको नामाकरण हिमायती जनसाँस्कृतिक मञ्च बन्यो । हिमायतीको न्वारान हर्क चुम्मेले गरेका थिए ।

जनतामा चेतना बढे केही न केही कहीँ न कहीँ परिवर्तनको उज्यालो देखिन्छ । जनता ब्यूझाउन दुखी गरिब, श्रमजीवी अन्यायमा पारिएका जनताको गीत गाउँदै हिँड्ने राल्फा स्थापना पछि २०३४ साल तीर रामेश, मञ्जुल धरान आउनु , बम देवान, जेवी टुहुरे सँग भेट हुनु पनि यौटा गज्जबको संयोग थियो । जेवी टुहुरे रामेश र बम देवानको सामूहिक प्रयासमा यही जन्मियो, अमर गीत “आमा दिदी बहिनी हो कति बस्छौ दासी भै सुख सधैँ प्यासी बनेर । को प्लट ।” त्यो बेला शम्भु राई, लोचन भट्टराई पनि भेटिए । “बैसाखी मुना हुरीले लग्यो अनायासै चुँडेर”... गाउँदै अनि धरान मै भेटिए चेत नारायण राई पनि । धरान मै थिए गोविन्द विकल अनि फेरी भेटिए भोजपुरबाट धरान झरेका श्याम तमोट अनि जन्मियो अर्को गीत

“सघर्ष हो जीवन जीवन सङ्घर्ष हो ,
जीवन देखि थाकेर मर्छु नमन ” ।
न्याय निम्ति जिन्दगी यो चम्की रहन्छ ।
चेतनाको प्रवाहलाई रोक्न सकिन्न
जति छोप्न खोजे सत्य छापिन्न ।
सङ्घर्ष हो जीवन ।

सायद धरान साहित्य सृजना र सङ्गीतको यौटा गज्जबको त्रिवेणी थियो । जहाँबाट अहिले टाढा टाढा जानेहरू र आउनेहरू भेटिने गर्छन् । त्यी बेला धरानलाई कम्युनिष्टहरुका सघाई त्यसै भनेको कहाँ हो र? त्यो बेला राल्फाले गाउने गीत

गाईत बाँध्यो ढुङ्ग्रोमा मोही छैन
गरिबको चमेली बोल्दिने कोही छैन ...

कोही त भने जहाजमा हरर,
कोही त भने पसिना तरर.. हाम्रो नेपालमा,

सारङ्गी बजाउँदै गाउँदै गीत सुनाउँदै ।

गाउँ गाउँ बाट उठ बस्ती बस्ती बाट उठ
यो देशको मुहार हेर्नलाई उठ

चरन विग्रयो घँगारु काँडाले..
गाउँ विग्रयो गाँउमारा साडाँले

Himayati-Family
जनगायक रामेश श्रेष्ठ संग हिमायतीको धरान १० स्थीत कार्यालय अगाडी २०५० सालमा हिमायतीको कलाकारहरु  

जस्ता गीत नगाउने कुनै धराने हुँदैन थिए । यस्ता गीत नगुन्गुनाई कोही प्रगतिशील हुँदै हुँदैन थिए । यो चार दशक अघिको धरानको अनिवार्य फेशन नै थियो ।

विसं २०३२ देखि ०३८ साल सम्मको निरन्तर धरानको राजनीतिक चेतनाको विकाशमा जनवादी गीतहरूका प्रभावले नै हिमायतीको आधारशिला तयार गरेको थियो । हिमायतीको संस्थापक मध्ये एक शिव सुब्बा सम्झन्छन् “राल्फाहरु र्पुवाञ्चलमा कार्यक्रम गर्दै घुम्दै गर्दा धरानमा हामीले पनि उहाँहरूलाई सुन्ने मौका पायौ । त्यसपछि हामीले शुक्रपथ अध्ययन समूहबाट देउसी खेल्दा रामेश मञ्जुले गाएर हिँडेका गीतहरू नै गाएका थियौ ।” देउसी भैलोको संस्कृतिको आडमा नै जनवादी कला र संस्कृतिको विकाश एक प्रकारले धरानमा हुन थाल्यो ।

देउसी खेलेर उठेको रकमले साङ्गीतिक सामानहरू जोडेर हिमायतीले फल्ने र फुल्ने मौका पनि पायो । हिमायती पूर्व मालेको संगठनको बलियो आर्थिक सहयोगीको रूपमा पनि देखा पर्यो । बर्सेनि देउसी खेलेर, विभिन्न ठाउँमा कार्यक्रम गरेर जम्मा गरेको रकमको केही प्रतिशत पार्टीको लागी भनेर जम्मा गर्ने गर्थे ।

हिमायतीको चेतनशील कलाकारहरू पञ्चायत प्रशासनको आँखाको तारो बने पनि आम पूर्वाञ्चलको दर्शकका लागि भने प्रिय बन्दै गयो । पञ्चायतको जर्जरता मानै घर भित्रै रेकर्ड गरी २०४३ सालमा “बाध्यताको सुसेली भाग १”नामक एल्बम निकालेर प्रगतिशील गीतको जीवनलाई आम श्रोताका लागि पस्केका थिए ।

हिमायतीको यो कामले पञ्चायतलाई चस्का लागेको थियो । त्यसको तीन वर्ष पछि “बाध्यताको सुसेली भाग-२” क्यासेट निकालेर अझ सशक्त जनवादी गीतहरू जनता माझ पस्किएका थिए । यी गीतहरू हिमायतीका सदस्यहरूले आफ्नो खल्तीबाट पैसा भेला पारेर लगानी गरेका थिए । यही बेला प्रजातन्त्रको लागि धरानमा जन पक्षीय उम्मेदवार कृष्णकुमार राई र बम देवानको जीतमा हिमायतीको कलाकारहरूका योगदान रहेको अहिले सम्म कसैले बिर्सिएका छैनन् ।

२०४६ को प्रजातन्त्रको प्राप्तिकोलागी पञ्चायत विरुद्ध प्रचार प्रसारमा लाग्दा हिमायतीको विष्णा सुब्बा, रेनुका राई, हर्क चुम्मेले हिरासतमा यातना पूर्वक बिताएका दिनहरू ताजैछन । देउसी भैलो खेल्दा प्रहरी प्रशासनको हुल पछि लाग्नु, कति पटक कार्यक्रममा नै हस्तक्षेप गर्नु, मण्डले कुन्डलेहरुको पिटाइ , प्रहरीहरुसंगको लुकामारी हिमायतीको सामान्य दिनचर्या थियो ।

२०४१ सालमा मोरङको दुलारीमा भएको साङ्गीतिक कार्यक्रममा प्रहरी र हिमायती कलाकारको भिडन्तको ताजा स्मरण हिमायतीको हस्ती कुन्ता योञ्जनको मनभरी छ । दिनभर जनताको घरमा लुकेर राती चारकोशे जङ्गलको बाटो भोकै प्यासै हिँडेर धरान सम्म आएको पाइलाको आवाज अहिले पनि हिमायतीहरूमा ताजै छ । २०४६ चैत्र २६ गतेको पञ्चायतको अन्त्य स्वतन्त्रताको त्यो खास पल हिमायतीको भागमा कति पर्यो थाहा छैन । प्रजातन्त्र प्राप्तिको तीन वर्ष सम्म यस्तै रह्यो ।

त्यो बेला हिमायतीमा महिला सहभागिता गज्जबको थियो । जुन बेला धरानमा मात्रै हैन काठमाण्डौको प्रज्ञाप्रतिष्ठान लगायत पूर्वका दजर्नौ स्थानमा हिमायतीको आफ्नै महिला ब्यान्डले कार्यक्रम प्रस्तुत गर्थे भन्दा दन्त्यकथा जस्तो होला । अहिले पनि गायिका हर्षु राई, उद्घोषक बर्षा लिम्बु, ड्रम बादक कुन्ता योञ्जन, गिटारिस्टद्वय विष्ण सुब्बा र हुमा बोखीमले स्टेजमा प्रस्तुति दिएको नबिर्सने दर्शक अझै बाँकी नै छन् । त्यो मध्ये म पनि एक हुँ । प्रजातन्त्र प्राप्ति २०४७ पछि यो अघोषित महिला हिमायती ब्यान्ड तीनवर्ष सम्म रहिरह्यो ।

२०५१ सालमा एमालेको नौ महिने मनमोहन अधिकारीको प्रधानमन्त्रीको सरकार हुँदा एमालेको “आफ्नो गाउँ आफै बनाऊ” कार्यक्रमको प्रचार प्रसारक बनेर कोसी अञ्चल भरी तीन महिना सांस्कृतिक तथा साङ्गीतिक अभियानमा बाहेक हिमायती अन्य कुनै सरकारी भत्ताको यात्रामा निस्किएको छैनन् ।

हिमायतीको खातामा अलिकति दैनिक भत्ता र बाटो खर्च बाहेक आत्मसन्तुष्टि मात्रै थियो । फेरी पनि हिमायतीले आफ्नै खल्तीको पैसाले साथै रिन लिएर “बाध्यताको सुसेली भाग ३” क्यासेट एल्बम २०५२ सालमा कस्टका साथ निकाले । हिमायतीमा भने रिन मात्रै थपियो, तर नेपाली जनवादी साङ्गीतिक इतिहासमा भने गज्जबको यौटा बहस थपियो ।

जब दुख्यो खोकूँ छिन्ताङ र आँखीसल्ला

खोकूँ छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा
मन सबको रुन्छ की दुख विसाँउदा

अन्धकारमा बन्दुकहरू पढ्कीएको बेला
छाती भरी सङ्गिनहरू गाडिएको बेला
धनकुटाको छाती दुख्यो चाल पायौ की
अन्यायको विरोध गर्ने कसम खायौ की

वसन्तको पालुवामा सहिदहरू फुल्छन्
सल्लेरीको सुसाईमा हावा भई डुल्छन ।
धनकुटाले आफ्नो घाउ सम्झी राख्नु पर्छ ।
नशाभित्र तातो रगत बहाई राख्नुपर्छ ।

गणेश ईजमको रचना अनि शिव सुब्बाको सङ्गीत रहेको यो मार्मिक तथा जर्बजस्त सङ्गीतको यो गीत जब रेडियोमा गायक किशोर थुलुङको आवाजमा बज्न सुरु गर्यो । यस्ले अलग्गै मौलिक आन्दोलनको पहिचान गरायो । पञ्चायतले धनकुटाको खोकूँ, छिन्ताङ र आँखीसल्लामा सूर्य बहादुर थापाद्वारा मारिएको १६ जना सहिदहरूको बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलायो । हिमायतीको खोकूँ छिन्ताङ गीतले पञ्चायतको बर्बरताको वर्णन गरेको थियो । अझ प्रजातन्त्र प्राप्ति पछि पनि शहीद परिवारले कुनै न्याय पाएका थिएन ।

त्यो छिन्ताङ हत्याकाण्डको खलनायक भने अझ आन बान र शानमा नेपाली राजनीतिको केन्द्रमा नरहेका थिए । जसको विरुद्धमा यो गीतको जन्म भएको थियो । जसको विरुद हिमायतीले प्रजातन्त्र, समानता र स्वतन्त्रताको निम्ति सङ्घर्ष गर्यो । पछि तीनै सुर्य बहादुर थापालाई देशको प्रधानमन्त्री बनाउन आप्नै एमालेका नेताहरुनै 'निगुर मुन्टी न' भएर थापा सामु झुके । जुन दिन एमालेको कारण सूर्यबहादुर प्रधानमन्त्री बने त्यही दिन रेडियो नेपालको “मेची काली” कार्यक्रममा अन्तिम पटक बजेको थियो । हिमायतीहरुको त्यो दिनलाई न्यायको हार भएको ठान्छन् ।

यो गीतले राजनीतिको स्वार्थको भारमा हारे जनताको सारमा सुपरडुपर हिट भईसकेको थियो । अब जनवादी गीत भनेर गाउँदा पनि आफ्नै पार्टीलेको कारबाहीको भागी बन्नु पर्ला भनेर त्यस पछि हिमायतीको वितृष्णा सुरु भएको हुनुपर्छ । त्यसपछि हिमायतीले वर्षमा एक पटक देउसी खेल्नु भन्दा अरू कुनै कार्यक्रम ल्याएन तयारै भएनन् । एक प्रकारको जिउँदो मुर्दा जस्तो उनीहरू आप्नै पुरानो गीत गाँउदै आफै सुन्दै बसीरहे ।

अविरल जीवनका यात्राहरूमा आधी र हुरी मडारिन सक्छन्
यात्रामा पुग्न अगाडी बढ्दा चुनौतीका पहाड उभिन सक्छन् ।
उर्लँदो खहरे हैनौ , एक छिन बगेर सुक्ने
बाँस जस्तो हामी होइनौ आकाश नछोई झुक्ने ,

हिमायतीको यो गीतमा भने जस्तै धेरै अप्ठ्याराहरू आए जिन्दगीमा तर पनि हामी खहरे र बाँस जस्तो होइनौ, अँध्यारो भित्र रहे पनि भोलिको उज्यालोको प्रतीक्षामा बस्न सक्ने हिमायतीहरू फेरी कहिले जनताको गीत लिएर फेरी आउने हुन थाहा छैन ।

हिमायतीको यौटा सिग्नेचर अनुहार ‘खोकूँ छिन्ताङ दुख्यो कि........ ’ का गायक किशोर थुलुङ बेला बेलामा ठट्टा गर्दै मसँग भन्ने गर्थे । “प्रगतिशील गीत अथवा कम्युनिस्ट गीतहरूले जाग उठ हान ठोक पुरानो भत्काऊ भन्छ । भत्काए पछि नयाँ के बनाउने कस्तो बनाउने भन्ने तीर गीत नै कन्फीउज हुने भएकोले मैले पनि नयाँ गीत नगाएको हो ।” हुन पनि यौटै गीत पछि प्रगतिशील गीत गाउन आज सम्म भ्याएका छैनन् उनले । हिमायतीको काम जाग उठ, हिँड भन्ने मात्रै भयो । तर जागेर, पुगेर, उठेर के गर्ने भन्ने डिजायनमा अलि कम कसरत भएको हो भन्ने चाही लाग्छ नै मलाई पनि ।

हिमायतीको यो गीत जनताको गीत भएको छ । सारङ्गीको धुनमा जुन गीत मिल्छ त्यो गीत कहिल्यै पुरानो हुँदैन । पुर्वाञ्लको धुन बनेर साङ्गीतिक आकाशमा उज्यालो छरी रहेको छ ।

यौटा आवाज : उत्तर भुजेल

पञ्चायती बर्बरताको बुट र बन्दुकबाट जाँगीन्दै भोक भोकै रातदिन गाउँगाउँ जनताको घर घर गएर, अधिकार प्रप्तीको लागि जागरण गीत गाउनु चानचुने कुरै होइन । एक दिन होइन दशकौँ सम्म । सबै भन्दा धेरै गीतसङ्गीतको जागरणले मानिसको मन छिट्टो कन्भीन्स हुँदो रहेछ । हिमायतीको चालिस वर्षको यो उमेरमा पञ्चायतको र्बवतालाई जो भोगेर आए । पञ्चायतको समाप्ति पछि पनि उनीहरूको कुनै दुःख भने कम हुँदै भएन । नेताहरू बढ्ता बिलासी बन्दै गए । हिजो सर्वहाराको नेताहरू लालची र पुँजीपतिहरूको मतियारको रूपमा देखा पर्दै गए । यही बेला दुःखै दुखमा हिमायतीको यौटा जब्बर स्वरको अवसान भयो । हिमायतीको प्रगतिशील गायनको रेशमी स्वर भएको गायकको रूपमा उत्तर भुजेलले पहिचान आफ्नो पहिचान बनाएका थिए । साम्यबादी स्कुलका विधार्थी उनि यो पुजीबादी समाजमा टिक्न सकेनन ।

हिमायतीको डकुमेन्ट्री ‘हिमायती ए म्यूजीकल जर्नी’ खिच्ने क्रममा उत्तर भुजेल जीवनको अन्तिम वर्षमा थिएछन सायद । भेट हुँदा गायक उत्तर भुजेल अल्कोहलीक भईसकेको थिए । दिनभरको केही ट्वाक रक्सी र खानाको लागी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रमुख गेट अघि खोलीएको होटलहरुमा क्याम्प सार्वजनिक धाराको पानी होटलको ट्याँकी भाँडा सम्म भरिदिने काम गर्दै गर्दा भेटिएका थिए । होटलहरुमा पानी भरिदीए बापत रक्सी र खानाको ब्यवस्था थियो । उनि शामु रहेको विशाल अस्पताल अघि मानसिक रूपमा कम्जोर बनेको उनको शरीरले उपचारको भागी बन्न पाएन । उनि त्यही कुनै सटरको अगाडी बेवारीस सुत्थे । परिवार देखी टाढा तर कुनै बेला उनैले हिमायतीको चीर परिचीत गीत गाएका थिए ।

Himayati-3
जनगायक उत्तर भुजेल र संगीतकार जीवन भट्टराई, क्याम्प गेट अगाडी

अन्तिम हुँदैन कहिले सन्सार बनाउने यात्रा
रोकीने छैन पाईला अल्मलीदैमा मात्र ......

आधी आँउछ हुरी चल्छ , पर्छ खडेरी,
मौलाई रन्छ आश्था मेरो सधै दुवो सरी
प्रभातको लाली किरण कस्ले छेक्न सक्छ ,
छलछाम क्षणभरको सबले बुझनु पर्छ ।
अन्तीम हुँदैन कहिल्यै सन्सार बनाउने यात्रा ...

धरान-१७ निवासी भुजेल, गित गाएर परिवारको पेट पाल्न नसक्ने भए । नभएपछि उनि डकर्मी भए, सीकर्मी भए तर पनि उनको आर्थीक जीवन सामान्य बनेन । अझ श्रीमतीलाई वैदेशीक रोजगारका लागि पठाए । उनको सम्बन्ध पनि राम्रो हुँदै भएन । उनी धरानमा नै निर्माणधीन घरमा डकर्मीको श्रम गरि रहेका थिए । त्यही बेला धनकुटा प्रसारणबाट घर बनाउने मालिकको रेडीयोमा उनको यही गीत बज्यो ।

पुर्णीमाको जुन जस्तै अध्यारोमा चम्कीएर ,
अन्यायको विरोध गर्दै न्यायतीर लम्कीएर
अन्तिम हुँदैन कहिल्यै सन्सार बनाउने यात्रा
रोकीने छैन पाईला अल्मलीन्दै मात्र

उनि खुशी भए र उफ्रीएर भने आहा मेरो गीत बज्यो । घर मालिकका श्रीमतीले उनलाई हेरेरब्यंग्य गर्दै भनिन “यस्तो गित गाउने गायक भए, कस्ले गर्छ बेल्चा हान्ने काम ? गफ दिन्छ ।”गायक भुजेल मलाई भेटमा भन्थे । बेल्चा हान्न छाडेर, घरमा भएको गिटार लिएर आँउ अनि ती दिदीलाई गित सुनाई दिँउ । ‘अन्तिम हुँदैन कहिल्यै सन्सार बनाउने यात्रा ...’ अनि भनु अर्जीनल गायक मै हुँ । त्यो दिनको रेडियोमा बजेको आफ्नै गितले नराम्ररी गिजोलेको गायक उत्तर भुजेल बेला बेला भेटहुँदा भनि रहन्थे ।

आर्थीक अवस्था सुधार गर्न उनि अरब नहिडेका हैनन । एजेन्टले पैसा खाएर बंगलादेशमा लगेर विच्चली बनाए पछि गलेर नेपाल फर्कीएका थिए। उनि त्यसपछि अझ शाहुको रिनको खाताहरुमा विचल्ली बने । भएको परिवार पनि भाँडीयो । आफ्नो माउ पार्टीबाट उनी विक्षिप्त बनेका थिए । उनलाई पार्टीको सदस्यता पनि दिइएको थिएन । बल बैस र तागत भईन्जेल एमालेले उनलाई प्रयोग गर्यो । अझ उनको स्वरलाई कहिले भुमिगत माओबादी पार्टीले पनि प्रयोग नभ्याएको हैन । माओबादीबाट पनि खुशी भएनन । उनि फेरी भाँडीए । उनि विरामी थिए । हतोत्साह, अविस्वासको अनि अल्कोहलको विरामी थिए । एक्लो थिए, विछिप्त थिए । गायनको बाटो अध्यारो बनेको थियो । सबै सम्बन्ध तोडेर एक्लो बनाईएका थिए उत्तर भुजेल ।

२०१५ अक्टोबर १ तारिकका दिन उनि बीपी कोईराला स्वास्थय विज्ञान प्रतिष्ठानको गेट बाहीर रहेको नालामा मृत बेवारीस अवस्थामा भेटिए । कसैले भने दुःखै लुकायो । कसैले भने रक्सी खाएर मर्यो । यौटा गज्जबको कलाकारको अवसान भयो । चुपचाप एक्लै मरेको अवस्थामा भेटिएको उत्तर भुजेललाई संगीतकार जीवन भट्टराईले थाहा पाएछन । चारकोशे झाडी भित्र अन्तिम संस्कार अघि उनैको स्वरमा गुँजीएको गित “अन्तीम हुँदैन कहिल्यै सन्सार बनाउने यात्रा ....” संगितकार जिवन भट्टराईको मोबाईलबाट पुरै गित बजाएर उन्को अन्तिम सदगत गरियो । कतिले त त्यही बेला थाहा पाए । उत्तर भुजेल साँच्चीकै गायक थिएछन । उनले गाएको क्रान्तिकारी दर्जन गितहरु रही रहनेछ । धरान-१७ कै रमेश चक्रको गित पनि गाइदिएका थिए । उनि यही गीतको हरफहरु जस्तै विलाए ।

रोई रन्छन , आँखा मेरा तिमीलाई सम्झेर
छोडी जाने मायालुको सम्झना गरेर
कस्तो भाग्य रैछ मेरो , शान्ती कहिले आएन ।
सोचेका ति सपनाहरु सजाउन पाईन ।
बैसालु यो जोबन दुई दिने हो ।
आज छु यहाँ भोली कहाँ हो ।

दुई दशक पछिको हिमायती

२३ बर्ष अघि “बाध्यताको सुसेली भाग-३” क्यासेट निस्कीएर सुपरहीट भए पनि हिमायतीलाई आर्थीक समस्या भने ज्यूँका त्यूँ नै रह्यो । यही बेला हिमायतीका कलाकारहरु रहरले भन्दा पनि बाध्यताले विदेशीने क्रम रह्यो । चण्डी राई कोरीया भाषीए, गणेश ईजम र अविरमान चाम्लीङ बेलायतमा छन । शिव सुब्बा, सारदा राई, किशोर श्रेष्ठ, विष्णा लिम्बु, अभिनारायण राई, किसन राइ, अडी राई , इन्द्र वनेम, मिरा रत्न, देवमान लिम्बु, देश सुब्बा र मन कुमारी राई हिमायतीहरु हङकङ तिर लागे ।

हिमायतीका केही सदस्यहरु नेपालमा नै संघर्ष गरिरहेका छन । हिमायतीकै सस्थापक सदस्य जयकुमार राई भने अहिले सुनसरी क्षेत्र नम्बर-१ बाट प्रतिनिधीसभाका सांसद छन । प्रजातन्त्र प्राप्ती पछि चुपचाप अलमलिएको हिमायती २०७३ सालमा हिमायती फेरी जुर्मूराउन कोशीस गरे। छिन्ताङ हत्याकाण्डमा मारिएका धनकुटाका शहिदहरुलाई श्रद्धाञ्जली दिँदै २० बर्ष पछि स्टेजमा उभिएर आफ्नो पुरानो प्रस्तुति ब्यूँझाएका थिए ।

त्यहीबेला हिमायतीका अध्यक्ष हर्क चुम्मे छिन्ताङ पुगेर भनेका थिए “जनता लाई भर्याङ बनाएर हाम्रा नेताहरु माथिल्लो कुर्सीमा पुगे । उनिहरुको कुर्कुच्चा फुटेको थियो त्यती बेला, अहिले हरियो झारले घोच्ला की जस्तो भएको छ । खाली खुट्टाको त्यो चप्पल टिलीक्क टल्कको कालो बुट भएर आएको छ । परिर्वतन त त्यहाँ आएको छ । गणतन्त्र त त्यँहा आएको छ । खोई हाम्रो यहाँ देखि रहेको छु । सबै शहिद परिवारका बालबच्चा होलान, आफन्त होलान । उहाँहरु निन्याउरो अनुहार बनाएर राज्यले मलाई कहिले दिन्छ भनेर हेरी रहनुभएको छ । गणतन्त्र कहाँ आयो ? कुर्कुच्चा फुटेका बा आमाको कुर्कुच्चा फुटेकै छ । ठेला उठेको हातहरुमा अहिले पनि ठेलै उठेकोछ । गणतन्त्र त मल्हम भएर आउनुपथ्र्यो । आज पनि यहाँ सहिदको विधवा म देखि रहेको छु गालामा हात लाएर बसीरहनु भएको छ ।”

खाल्सा क्षेत्रमा भएको आम नरसंहारको खोकु छिन्ताङ दुख्यो की अरुण सुसाउँदा गीत बनाएर धेरै पल्ट यही सभामा प्रस्तुति भए पनि हिमायतीहरु पहिलो पल्ट छिन्ताङ पुगेका थिए ।

असल नेता छान्न पैदल यात्रा

पुरानो हिमायती फेरी एक पटक जुर्मुराएकै हो । यसैगरि जनता ब्यूँझाउनै हिमायतीहरुले असल नेता छानौ भनेर तेह्रथुमको पाँचपोखरीबाट गुफापोखरी सम्म पैदल यात्रा गरी विसौनिमा आफ्ना प्रस्तुतीहरु दिदै आठघन्टा लामो यात्रा गरेका थिए । २०७३ बैशाखमा एक नम्बर प्रदेशमा चुनाव आउन एक पहिना अघिको यात्राले पनि निक्कै चर्चा बटुल्यो । त्यो बेला हिमायतीले आफ्नो प्रस्तुती दिदै भनेका थिए “हामी कुनै पार्टीको प्रचार प्रसारका लागि आएका होईनौ । गाँउको विकाश गर्न सक्ने र सक्षम उम्मेद्वारलाई छानेर भोट दिनुस । खराब मान्छेलाई भोट नदिनुस”

०३८ साल देखी २०५४ साल सम्म पार्टीको लागि भोट मागेका हिमायतीहरुले यो बेला भने असल नेता छान्न आफ्नै पैसा खर्च गरेर आठ घन्टा पैदल यात्रा गरेका थिए ।

हिमायती निष्कृय भए पनि यसका सदस्य र सुभेक्षुकले माया गर्न छाडेका थिएनन । फेरी एक जुट भए । पहिले जस्तो एक दल विषेशको लागि नभै जनताको लागि भन्ने पहिलो सर्तका साथ बढ्न संगठित बने । कुनै दलको छातामा नरहने जुनसुकै विचार भएको कलाकार पनि अटाउन सक्ने विधान नै बन्यो । हिमायती फेरी ब्यूझेकै हो ।

हङकङमा पहिलो प्रस्तुति

हिमायतीको अर्को प्रस्तुति हङकङमा भयो । हङकङ हिमायतीको भब्य आयोजनामा दुई बर्ष अघि अप्रील २१ , २०१९ मा याउमाताई कम्यूनिटी सेन्टरको हलमा सम्पन्न भयो । हिमायतीको बारेमा बनेको डकुमेन्ट्री “हिमायती अ म्यूजिकल जर्नी” पनि प्रदर्शन भएको थियो । हिमायतीको पुर्णरुपमा पुनरागमन भयो ।

चण्डी राई, हर्षु राई, किशोर श्रेष्ठ, गणेश कुमारी राई, कृष्णभक्त राई, खगेन्द्र पन्धाक, खगेन्द्र राई, सुजता पन्धाक लिम्बु, उत्तर भुजेल, किशोर थुलुङ, मिरा रत्न जस्ता प्रतिभाशाली कलाकारहरुको स्वरहरुको अग्लो विराषत बनाएको हिमायतीले अब फेरी जुर्मुराउनु छ । राजनितीक दल भन्दा देश र माटोको कसम धेरै माथि हुन्छ । त्यही भएर अहिले हिमातीले हिडेर आएको जनवादी कला र संस्कृतिको यात्रा अविचलित बनाई रहन हिमायतीहरु फेरी जनता जागरण गर्ने हिम्मत र नैतिक शासह राख्नै पर्छ । हिमायतीको गितले भने झै

हेरफेर केवल सिमीतै रह्यो सारथी माझमा
शोषणको भार बढि नै रह्यो गरिब दुःखीमा

Himayati-honkng
हिमायतीको कार्यक्रमको पोस्टर
 
हर्क चुम्मे हुन हिमायतीको दिर्घकालिन अध्ययक्ष । हिमायतीका हरेक साँगीतीक अभियानका उदघोषक पनि उनै हुन । उनको उदघोषण कला आज पनि देश विदेशमा चर्चाको विषय हुने गर्दछ । कुनै बेला गाँउ जागरण अभियानमा तत्कालीन प्रधानमन्त्री गिरीजा प्रसाद कोईरालाले संसद भंग गरी मध्यावधी चुनावको घोषणा गरेका थिए । त्यही प्रसंगमा गाँउ जागरण अभियानमा भनेका थिए । “यो देशको धुरीमा गिरीजा नामको गिद्द बसेको छ । घरको धुरीमा गीद्द बस्यो भने अपसकुन हुन्छ भन्थे ।”

आज ठ्याक्कै गिरीजाको ठाँउमा केपी ओलीको नाम राख्छन की राख्दैनन थाहा छैन । तर धुरीमा गीद्द चै बसेकै हो । अनि सुरुवातमा मैले “लाल सलाम” भनेर अभिवाद गर्दा हिमायतीको संगितकार “जीवन भट्टराईलाई लाल सलाम हैन काल सलाम” भएकै हो । कहिले काही सारथीहरु (नेता) स्वार्थी भए आत्मा केन्द्रीत भए भने जुटदा भन्दा फुट्दा गज्जब हुन्छ ।

अनि फेरी हिमायतीहरुको गीतहरु बजारमा एकपल्ट मजाले चल्छ । जो स्वयंले गाएर गएका थिए । उनिहरु पनि सडकमा आएर गाउन बाध्य हुनेछन । कुनै पार्टीको बाजा नबजाउने उदघोष गरेको हिमायतीले यो बेला जनता, माटो र देशको लागि एक पटक जर्मुराउने बेला भएन र ? अब त हिमायतीहरु देश विदेशमा राम्रो अभियान चाल्न सक्ने क्षमताका बनाईसकेका छन । अझ यहाँ त हिमायतीको रहरले हैन परिस्थीतीले निम्त्याएको कठोर समय जो छ ।

बर्ष है वित्यो यूद्धको खेलमा झुकेन हिमायती
गोलबद्ध हुँदै गर्जीदै गयो रोकिएन यसको गति ।

समाप्त
जसकुमार राई , वुडसाईड न्यूयोर्क
२३ जनवरी २०२१

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved