वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका २ स्थित चतरा अस्पतालले सार्वजनिक सुनवाई , वार्षिकोत्सव एवम् लेखा प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा अस्पतालको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक लेखा परीक्षण प्रतिवेदन,दैनिक विवरण,सेवा,आय व्यय ,
सामाजिक , आन्तरिक तथा बाह्य लेखा परीक्षणको बारेमा जानकारीसँगै सेवा,चुनौतीको विवरण र सुझाव,जिज्ञासा , जानकारी आदान प्रदान गरिएको थियो ।
शुक्रवार अस्पताल परिसरमा आयोजना भएको उक्त कार्यक्रममा कोशी प्रदेशसभा सदस्य ममता तामाङ प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अस्पतालका संरक्षक तथा नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक डाक्टर आशिष् श्रेष्ठ, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं २ का अध्यक्ष होम प्रसाद गौतम,अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरू,अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवीन अधिकारी, जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा सरोकारवालाको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा न २ का अध्यक्ष होमप्रसाद गौतमले अध्यक्षतामा आयोजना भएको कार्यक्रममा अस्पतालका लेखा प्रमुख योगेन्द्र कट्टेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक लेखा परीक्षण प्रतिवेदन,दैनिक विवरण,सेवा,आयव्यय,सामाजिक,आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रस्तुत गरेका थिए ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवीन अधिकारीले अस्पतालबाट प्रदान भई रहेको सेवा , सुविधा बारे सेवाग्राहीहरूको प्रतिक्रिया , सुधार गर्नु पर्ने कुराहरूको विषयमा सेवाग्राही र सरोकारवालाहरूका बिच सार्वजनिक सुनुवाइ कार्यक्रम तथा अस्पतालको वार्षिकोत्सव एवम् लेखा प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रम आयोजना गरिएको बताए । उनले अस्पतालले प्रदान गरी रहेको सेवाको जानकारी प्रस्तुत गरेका थिए ।
अस्पतालका सूचना अधिकारी यम भण्डारीले सञ्चालन गरेको कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष प्रदीप बस्नेतले स्वागत मन्तव्य गरेका थिए ।
कार्यक्रममा सञ्चालक समितिका पूर्व सदस्य, कर्मचारी , सेवा निर्मित हुनु भएका महिला स्वास्थ्य संयम सेविका , सहयोगलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
२०२९ साल साउन २५ गते इलाका स्वास्थ्य चौकीको रूपमा स्थापना भएको हालको १५ शैयाको चतरा अस्पताल २०५६ माघ २१ गते प्राथमिक स्वास्थ्य केन्द्रबाट स्तरोन्नति भएको थियो ।
२०७५ भदौ १ गतेदेखि वर्षभर बिहान ७ बजे देखि बेलुकी ८ बजेसम्म निःशुल्क ओपिडी सेवा सञ्चालन गर्दै आएको चतरा अस्पतालमा सुनसरीसहित उदयपुर, धनकुटा र भोजपुरका बिरामी उपचारका लागि आउने गरेका छन् ।
हाल दैनिक अस्पतालमा २ सय ७५ देखि ३ सय २५ को संङख्यामा सेवाग्राहीहरू आउने गरेका छन् । हाल अस्पतालले वर्षको ३६५ दिनै बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म चिकित्सकद्वारा ओपिडी सेवा र आकस्मिक सेवा दिँदै आइरहेको छ ।
२४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्स-रे, फिजोयोथेरापी सेवा, आँखा उपचार सेवा, दन्त सेवा, प्रसुती सेवा लगायत हप्ताको दुई दिन सोमबार र बिहीबारका दिन भिडियो एक्स-रे र सबै सरकारी नियमित सेवाहरू यथावत् रूपमा सञ्चालन भई राखेको छ ।
यसैबिच २०७८ सालमा वडालाई पूर्ण स्वास्थ्य बीमा युक्त वडा घोषणा गर्न सफल चतरा अस्पताल देशकै नमुना अस्पतालको रूपमा स्थापित भएको छ