धरान : लिम्बु पत्रकार सङ्घको प्रथम महाधिवेशनबाट निर्वाचित भएकै भोलिपल्ट असामयिक निधन भएका केन्द्रीय अध्यक्ष युवराज लिम्बुको १३ औँ स्मृति दिवसमा आइतवार लिम्बु पत्रकारहरूले श्रद्धाञ्जली प्रकट गरेका छन् ।
२०६९ चैत ३० गते धरानमा भएको लिम्बु पत्रकार सङ्घको पहिलो महाधिवेशनबाट युवराज लिम्बु अध्यक्ष निर्वाचित भएका थिए । निर्वाचित भएको २४ घण्टा नबित्दै उनको इटहरीमा न्यून रक्तचापका कारण असामयिक निधन भएको थियो । उनी ३४ वर्षका थिए ।
सङ्घको केन्द्रीय समितिद्वारा धरान स्थित चुम्लुङ हिममा आयोजित स्मृति दिवसमा सङ्घका केन्द्रीय अध्यक्ष सन्देश सुब्बाले युवराज लिम्बुलाई लिम्बु पत्रकार सङ्घलाई वैधानिकताको पहिलो खुड्किलो चढाउने पहिलो अध्यक्षको रूपमा सम्झना गर्नु पर्ने बताए ।
उनले भने ‘उनी लिम्बु जातिको मात्र नभएर आदिवासी जनजाति समुदायको सवालहरूलाई पत्रकारिता मार्फत गर्न दक्ष जनशक्ति बढाउन लागि पर्ने अठोटका साथ अघि बढेका थिए ।’
वरिष्ठ पत्रकार हर्ष सुब्बाले युवराज पहिलो महाधिवेशनबाट अध्यक्ष चुनिए पनि उनको निधनबाट लिम्बु पत्रकार सङ्घले ठुलो क्षति व्यहोर्नु परेको बताउँदै भने ‘उनी भिजन, मिसन लिएर लिम्बु पत्रकार सङ्घको अध्यक्ष बनेका थिए ।’
युवराजमा गतिशीलता थियो, नेतृत्व गर्ने बहुमुखी क्षमता थियो, त्यसै कारण सङ्घको पहिलो महाधिवेशनको रौनक उत्साहजनक रहेको उनले बताए । त्यही स्पिरिटका कारण लिम्बु पत्रकार सङ्घको गति अघि बढेको सुब्बाको भनाई थियो ।
सभामा लिम्बु पत्रकार सङ्घ युकेका संस्थापक अमित थेबे, तुम्याङहाङ परिषद्का मोहन हुक्पा चोङवाङ, सङ्गीता सुब्बा, सेसेमी सिरेङ नाल्वोले स्वर्गियक युवराजप्रति श्रद्धाञ्जली प्रकट गरेका थिए । 
सङ्घका सुनसरी जिल्ला अध्यक्ष स्वर्णिमहाङ फोम्वोले स्वागत गरेको कार्यक्रमको अध्यक्षता केन्द्रीय अध्यक्ष सन्देश सुब्बा सेन्लपले गरेका थिए । महासचिव जीवन योङहाङ लिम्बुले कार्यक्रम सञ्चालन गरेका थिए ।
०६९ चैत ३० गते धरानमा लिम्बु पत्रकार सङ्घको पहिलो महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएको २४ घण्टा नबित्दै उनको इटहरीमा न्यून रक्तचापको कारण देहान्त भएको थियो । उनी ३४ वर्षका थिए । उनका श्रीमती र एक छोरी छन् । 
पुर्ख्यौली ताप्लेजुङको साँघु घर भएका स्वर्गीय युवराज लिम्बु मोरङको इटहरीमा सपरिवार बस्दै आएका थिए । गोर्खाज साप्ताहिकका कार्यकारी सम्पादक रहेका लिम्बु इन्डिजिनियस टेलिभिजनका संस्थापक टिममा समेत थिए । 
उनले काठमाडौँ रहँदा रत्नराज्यलक्ष्मी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता विषयमा अध्ययन गरेका थिए । किरात याक्थुङ चुम्लुङले उनको स्मृतिमा २०७० मा युवराज चोङवाङ स्मृति पुरस्कार स्थापना गरेको छ ।