प्रा.डा.हरूको ज्ञान र बुझाइको स्तर देखेर हैरान !

  • आश्विन १८, २०७८
  • ३०१ पटक पढिएको
  • निनाम कुलुङ 'मङ्गले'
alt

गत असोज ६ गते यसै नयाँ पत्रिका दैनिकमा डा.तारामणि राई ज्युको 'राष्ट्रिय जनगणनाका चुनौती' शीर्षकको लेख छापिएको थियो । सर्वप्रथम सो लेख छापेकोमा नयाँ पत्रिका दैनिकका सम्पादक तथा लेख रचना प्रमुख ज्युलाई ‘हायाम-हायाम ओलोनुव के !’ अर्थात् धेरै धेरै धन्यवाद ।

हुन त नयाँ पत्रिका दैनिकमै लगातार तीन दिन पाठक प्रतिक्रिया नै भए पनि छापिएला कि भनेर पठाएँ । तर, छापिएन। नछापिनुमा पनि अनेक कारणहरू हुन सक्छन् । जस्तै लेख भन्दा प्रतिक्रिया लामो भएर, लेख भन्दा बाहिर गएर कमेन्ट गरेको भएर, लेखक र सम्पादक अथवा लेख रचना प्रमुखको 'यारी दोस्त' भएर वा...। हुन त मेरो यो प्रतिक्रिया धेरै नै छोट्याएर पनि पठाएँ, दोस्रो र तेस्रो पटक । तर, पनि छापिएन, ठिकै छ । हुन पनि म जस्तो ‘कुलुङे ढाक्रे !’ ले त्यत्रो पढालेखा मान्छेले लेखेको लेखको पाठक प्रतिक्रिया समेत छापिएन भन्दैमा ‘चिया चम्चामा पानी तताएर मर्ने !’ कुरो पनि भएन ।

तथापि मलाई नेपालमा प्रकाशित हुने दैनिक पत्रिका मध्यै धेरै नै राम्रो लाग्ने भनेको ‘नयाँ पत्रिका दैनिक’ नै हो । तर, ठिकै छ, आफूलाई धेरै नै राम्रो लागेको पत्रिकाले आफ्नै पाठकको प्रतिक्रिया छापेन । नो प्रोब्लेम ! मेरा लागि 'कपुरी न्यूज' पनि त छ नि ! ...

त्यसैले लगभग १२+१३ दिनपछि 'कपुरी न्यूज' लाई सम्झे है ! त्यसो त नेपालमा अनलाइन र पत्रपत्रिकाहरू अरू पनि जिन्दाबाद !’ छँदैछन् । तापनि आफ्नो पत्रिकामा कुनै लेखकले लेखेको लेखको (खासमा राई भाषा वक्ता सङ्ख्याका सम्बन्धमा गलत तथ्याङ्क उल्लेख भएकोले र राई जात नभएकोबारे) लेखेको जो कोहीको प्रतिक्रिया पनि नयाँ पत्रिकाले छाप्नैपर्ने थियो भन्ने मेरो जिरह हो । तर, मेरो प्रतिक्रिया छापिएन ।

जे सुकै होस्, डा.तारामणि राई साबले आफ्नो लेखमा राई भाषाको तथ्याङ्क दिने क्रममा '...प्रदेश नं. १ मा 'राई भाषा बोल्नेको सङ्ख्या एक लाख २० हजार सात सय ९१' उल्लेख गर्नु भएको छ । तर, मसँग भएको, केन्द्रीय तथ्याङ्क विभागले प्रकाशित गरेको 'सेन्ट्रल ब्युरो अफ स्टाटिस्टिक’ नामक किताब (जुन किताब सन् २०१२, नोभेम्बरमा प्रकाशित भएको हो) मा राई भाषा बोल्नेको सङ्ख्या एक लाख ५९ हजार ११४ रहेको छ । अब भन्नुहोस् त 'राई' भाषाका सम्बन्धमा केन्द्रीय तथ्याङ्क विभाग गलत हो कि डा.तारामणि राई साब चाहिँ गलत हो?

साथै अर्को भनेको डा.साबले ‘...'राई' भाषा नभएर जाति हो भन्ने त घाजतिकै (घाम जतिकै भन्न खोजिएको होला) छर्लङ्ग....’ भनी लेखेको देखिन्छ। यदि डा.तारामणि राई ज्युले भनेझैँ 'राई' जात हो भने त्यो वेला (२०२१ मा आएको र २०२५ मा संशोधन भएको भूमि सुधार ऐन गाउँगाउंँ, टोल टोलमा लागू हुनुअघि सम्म किन असली राईहरू, जसलाई 'जिम्मावाल/तालुकदार' पनि भनिन्थ्यो, उनीहरूले आफ्नो अधिकार क्षेत्रभित्रका 'रैती/ढाक्रे'हरुले, हालको भाषामा भन्नु पर्दा 'जनता/नागरिक'हरुले आफ्नो नामको पछाडि राई !’ लेख्दा/भन्दा -“तैँले नपाएको ‘राई’ किन लेखिस्/निस् !?” भनेर कारबाही गर्थे, ठिँगुरोमा हाल्थे ?

त्यस्तै राई पदवी वा पगरीको कुरो गर्दा आफू असलीयतमा याक्खा जातिका भएर पनि पछिल्लो पटक सङ्खुवासभा जिल्लामा दुर्गामणि देवान वि.सं २०५१/०५२ सम्म राई भएका थिए । के उनलाई पनि राई जातवाला कामरेडहरुले राई बनाउने, भनाउने हो ? सक्नु हुन्छ, त्यसो गर्न ? स्मरणीय छ, हाल उहाँ ललितपुर जिल्लाको भैंसेपाटीमा बस्नु हुन्छ । त्यसैले वास्तवमा राई के हो ? भन्ने सम्बन्धमा गएर उहाँलाई सोध्दा पनि भई हाल्छ, मेरो कुरो नै ध्रुवसत्य हो, म भन्दिन ।

त्यसो त भोजपुर जिल्लाको दिल्पा-नागी-अन्नपूर्ण क्षेत्र (गाऊँ) मा ५२ पगरीको ठूलो (साबिक राई !) राई भएका परशुराम राईका छोरा, नाति, पनाति, खनाति+छोरी, बुहारी, नातिनी, नातिनी बुहारी, पनातिनी, पनातिनी बुहारी, खनानितीहरु हाल काठमाण्डौमै प्रशस्तै भेटिन्छन्, जसले आफ्नो नामको पछाडि राई नलेखेर, नभनेर मुकारुङ लेख्छन्, भन्छन् । त्यस्तै भोजपुर जिल्लाकै बोया गाउँका डा.शिवकुमार राई पनि काठमाण्डौमै बस्नु हुन्छ, त्यसैले उहाँहरूसँग पनि भेटघाट गरेर, राईबारे वास्तविकता के हो ? सोधखोज गरेर लेख्नु सक्नुहुन्छ।

त्यसैले डा.तारामणि राई डा.साबको आगामी लेख सोही बारेमा (राई जात हो कि, जाति हो कि वा समूह अथवा वर्ग मात्रै हो ? भन्ने बारेमा) अध्ययन अनुसन्धानमा आधारित भएर आओस् ! भन्ने अपेक्षा छ । जहाँसम्म भाषा आयोगको कुरो छ, उसले त कथित् ‘राई !’ भाषा छैन/होइन भनेर सरकारलाई जनाऊ दिएको लगभग २, ३ वर्षअघि नै हो । त्यसैले गर्दा नै १ नं. प्रदेशमा कथित् राई !’ भाषा र बान्तवा भाषा प्रदेशस्तरीय सरकारी भाषामा सिफारिस नभएको हुनु पर्छ । किनभने २०६८ को जनगणनामा बान्तवा भाषा एक लाख ३२ हजार ६२२ वक्ता रहेको देखिए तापनि सोही जनगणनामा आएको तथ्याङ्कमा बान्तवा जातिको जनसङ्ख्या भने केवल ४ हजार ६०४ मात्रै रहेको छ । बाँकी एक लाख २८ हजार चानचुन बान्तवा भाषा कसले बोल्छ ?, कहाँ बोलिन्छ ? त्यसैले सो बारेमा टुङ्गो नभई बान्तवा भाषा पनि प्रदेश १ को सरकारी भाषाका रूपमा सिफारिस हुने कुरै भएन । हुनु पनि हुँदैन ।

यसरी हेर्दा आफ्नो नामको अगाडि प्रा.,डा., प्रा.डा, भाषाविद्, भाषा वैज्ञानिक, प्राज्ञ, जानकार, महावरिष्ठ, वरिष्ठ, विद, कार, आदि लेख्ने नेपालका बुद्धिजीवी भनिने तर, वास्तविक धरातल भने केही पनि थाहा नहुने ? वा थाहा पाउन नचाहने (औपचारिक रूपमा स्कुल, क्याम्पस-कलेज, विश्वविद्यालयमा आफूले पढेको विषयगत...बाहेक अरू केही नपढ्ने/पढ्न नचाहने, बाहिरी ज्ञान लिन नचाहने !), तैपनि आफ्नो नामको अगाडि प्रा., डा., प्रा.डा, भाषा विज्ञ, भाषाविद्, भाषा वैज्ञानिक, प्राज्ञ, जानकार, महावरिष्ठ, वरिष्ठ, विद, कार, आदि लेख्ने/लेखाउने मोहले नछाडेका प्रा., डा., प्रा.डा.हरू जस्तै प्रा.डा. दानराज रेग्मी ज्यु, डा. भीमलाल गौतम ज्यु, डा.तारामणि राई ज्यु लगायत नेपालका अन्य प्रा., डा., प्रा.डा.हरुले कति मात्रै दिन कटनी र माना पचनी गरेर लेख्नुहुन्छ, बोल्नुहुन्छ ?

जस्तै प्रा.डा. दानराज रेग्मी ज्युको भाषाभाषी र ... बारेको लेख नयाँ पत्रिका लगायत अन्य दैनिकले विगतदेखि नै छाप्दै आएको छ। स्मरणीय छ, गत असोज १ गते पछिल्लो पटक रेग्मी ज्युको लेख नयाँ पत्रिकामा छापिएको थियो । त्यस्तै डा. भीमलाल गौतमको पनि भाषाभाषी, जातजाति, बहुभाषिकता, जनगणना,... आदिबारे लेख नयाँ पत्रिकालगायत दैनिकमा कताकति आउने गरेको छ । गौतम ज्युको लेख पनि गत भदौ २९ गते पछिल्लो पटक नयाँ पत्रिकामा छापिएको थियो, भन्ने मलाई सम्झना छ । त्यस्तै डा. तारामणि (कृष्णमणि !) राई ज्युको लेख पनि नयाँ पत्रिकालगायत राईवादी वा भनौँ राई जातवाला पत्रिका, अनलाइन र जर्नलहरूमा कताकति छापिने गरेकै छ । अझ यो पटक त लेखको अन्त्यमा “राई त्रिवि भाषा विज्ञान केन्द्रीय विभागमा प्राध्यापन गर्छन् भनी डा. तारामणि राई ज्युको परिचय पनि दिइएको छ।

हुन त नेपालका दैनिक, साप्ताहिक, पाक्षिक, मासिक लगायत अन्य पत्रपत्रिका र सञ्चारमाध्यमहरूले उनीहरूको पत्रपत्रिका, अनलाइन आदिमा प्रकाशित भएको/आएको समाचार, फिचर, लेख, टिप्पणी आदिमा आधारित रहेर लेखेको प्रतिटिप्पणी, प्रतिक्रिया वा प्रस्टीकरण लेखेर पठाएको सामग्री किन छाप्दैनन् ? भनी एक जना मिडिया अध्ययनकर्मीलाई प्रश्न गर्दा उनले ‘लेखक वा टिप्पणीकार र सम्पादक, समाचार प्रमुख, वा लेख रचना प्रमुखहरूबिच ‘यारी/जिगरी दोस्त !’ हुन सक्छ, त्यसो भएपछि आफ्नै ‘यारी-जिगरी दोस्त !’को लेख, रचना र टिप्पणीको विरुद्धमा आएको प्रतिटिप्पणी, प्रतिक्रिया वा प्रस्टीकरण छाप्दैनन्, बरु उल्टै उसको (लेखक भनिनेको) को विरुद्ध आएको त्यस्तो प्रतिटिप्पणी, प्रतिक्रिया वा प्रस्टीकरणलाई इमेल गरेर वा फोन गरेर जानकारी दिन्छ। अर्थात् त्यसरी पठाएको प्रतिक्रिया वा प्रति टिप्पणी छाप्नुको सट्टा उल्टै लेखक भनाउँदालाई इमेल गरेर पठाएको र, त्यस्ता लेखक भनिने केहीले मेरो मोबाइल नम्बर धुईँपत्ताल खोजेर, पत्ता लगाएर मोबाइलमा फोन गरेर मलाई आमाचकारी गालीसमेत गरेको छ, केही त्यस्ता लेखक भनिनेहरूले ।) ! उसले विषय हेर्दैन । किनभने लेखक भनिने मान्छे आफ्नो ‘यारी–जिगरी दोस्त !’ मात्रै नभएर नातागोता, आफन्त ! आदि पनि हुन सक्छ !? भन्नु भएको सम्झना हुन्छ ।

लेखमा प्रयोग भएका शब्द र सन्दर्भहरू लेखकका निजी विचार हुन ।
सम्पर्क : ९८४९९८५९९७, ९८६२४३६०४९ 
Email : [email protected]

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved