धरान : बराहक्षेत्र नगरपालिका कार्यालयले सार्वजनिक सूचना जारी गर्दै चतरा मूल नहर क्षेत्रको सरकारी जग्गा अतिक्रमण गरी अनधिकृत रूपमा संरचना निर्माण गर्ने कार्य तत्काल रोक्न कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
मूल नहर क्षेत्रको सरकारी जग्गा अतिक्रमण अनधिकृत संरचना निर्माण हुँदा नहरमा पानी सञ्चालनका लागि गरिने पानी मापन, नियमित निरीक्षण, रेखदेख र मर्मत सम्भारका कामहरू कठिनाइ भएको सूचनामा उल्लेख छ ।
नहर प्रणालीलाई सुरक्षित राख्न र सिँचाइ सेवालाई निरन्तरता दिन यस्ता अतिक्रमण बाधक बनेको जनाउँदै सूचनामा ‘यो सूचनालाई बेवास्ता गरी सरकारी जग्गा मिच्ने कार्य जारी राखेमा कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने छ’ भनिएको छ ।
सुनसरी मोरङ सिँचाइ आयोजनाको पत्रलाई उद्धृत गर्दै नगरपालिकाले सुनसरी जिल्लाको झुम्कादेखि माथिल्लो भागसम्म रहेको चतरा मूल नहरको कमाण्ड क्षेत्रभित्र विभिन्न व्यक्ति तथा सङ्घसंस्थाहरूले आयोजनाको अनुमति बिना नै नहरको डिल खनजोत गर्ने, अवैध रूपमा घर टहरा निर्माण गर्दै आएको जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवालको हस्ताक्षरमा जारी सूचनामा सरकारी जग्गालाई निजी स्वार्थका लागि प्रयोग गर्ने क्रम नहरको डिल र आसपासको जग्गामा भइरहेको अवैध उपभोगप्रति गम्भीर ध्यानाकर्षण भएको सूचनामा जनाएको हो ।
































































