धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा रहेको डेन्टल क्यान्टिन ‘सन्तोषजनक’ श्रेणीमा वर्गीकृत भएको छ । तर मुख्य अस्पतालको लागि सञ्चालित अर्को क्यान्टिन भने प्रतिष्ठान सँगको सम्झौता विपरीत सञ्चालन भइरहेको पाइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, कोशी प्रदेश कार्यालयले प्रतिष्ठानस्थित डेन्टल क्यान्टिन (डी फास्ट फुड)को खाद्य स्वच्छताको मापदण्डअनुसार स्तरीकरण गरेको हो।
क्यान्टिन सञ्चालक रोमन श्रेष्ठको निवेदनका आधारमा स्तरीकरण गरिएको कार्यालय प्रमुख पुष्पलाल राईले जानकारी दिए।
उनका अनुसार होटल तथा रेस्टुराँ स्तरीकरण निर्देशिका २०७४ अनुसार बाहिरी सरसफाइ, भान्सा तथा भण्डारण कक्षको अवस्था, खाद्यवस्तु सम्पर्क हुने स्थानको सरसफाइ, रसायन तथा विषादीको प्रयोग, ढल निकासको व्यवस्थापन, प्रकाश तथा भेन्टिलेसन लगायतका सूचकका आधारमा मूल्याङ्कन गरिएको हो।
निर्देशिका अनुसार ५० वटा सूचकका आधारमा होटल, रेस्टुराँ तथा क्यान्टिनको वर्गीकरण गरिन्छ। ९० भन्दा बढी अङ्क ल्याउने ‘अति उत्तम’, ८० देखि ८९ अङ्क ल्याउने ‘उत्तम’, ६५ देखि ७९ अङ्क ल्याउने ‘सन्तोषजनक’ र ५० देखि ६० अङ्क ल्याउने ‘सामान्य’ श्रेणीमा वर्गीकृत हुने व्यवस्था छ।
अनुगमनका क्रममा डेन्टल क्यान्टिनले ७६ अङ्क प्राप्त गर्दै ‘सन्तोषजनक’ अर्थात् ‘गं’ वर्गको स्तरीकरण प्राप्त गरेको प्रमुख राईले बताए। कार्यालयका अनुसार यसअघि भेडेटार र बिर्तामोड लगायतका पर्यटकीय क्षेत्रमा पनि होटल तथा रेष्टुराँको स्तरीकरण गरिएको छ। वर्गीकरणको अवधि एक वर्षको हुने कार्यालयले जनाएको छ।
यसैबीच प्रतिष्ठान मुख्य अस्पताल परिसर भित्र ‘सुनिल क्यान्टिन तथा खुद्रा कपडा पसल’ को नाममा चमेना गृह सञ्चालन भइरहेको छ । 
उक्त चमेना गृहले खाद्य स्वच्छता गुणस्तर प्रमाणीकरण नगरेको मात्र होइन क्यान्टिनमा सम्झौता विपरीत अन्य व्यवसाय समेत सञ्चालन भइरहेको पाइएको छ।
प्रतिष्ठानले २०८० चैत २२ गते उक्त क्यान्टिन काठमाडौँस्थित सञ्चालक रोशन साहलाई तीन वर्षका लागि दिने सम्झौता गरेको थियो। सम्झौतामा प्रतिष्ठान परिसरभित्र भाडामा लिएको स्थान चमेना गृह सञ्चालनका लागि मात्र प्रयोग गर्न पाइने र अन्य व्यवसाय गर्न निषेध हुने स्पष्ट उल्लेख छ।तर हाल क्यान्टिनमा विभिन्न प्रकारका पेय पदार्थ, लत्ताकपडा, खाद्यान्न सामग्री तथा फलफूलसमेत बिक्री भइरहेको देखिएको छ।
यस विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राईले भने आफू सो विषयमा अनभिज्ञ रहेको बताए। उनले भने, “त्यस्तो त हुनु नपर्ने हो, हामी कुनै समयमा अनुगमनमा जान्छौँ।”
यसरी प्रतिष्ठान परिसरभित्र एउटा क्यान्टिन स्तरीकरण प्राप्त गर्दै सञ्चालनमा रहँदा अर्को क्यान्टिन भने नियम विपरीत सञ्चालन भइरहेको देखिएको छ।
सञ्चालक साहले भने ‘चमेना गृहमा आउने पाहुनालाई आवश्यक सामान उपलब्ध होस भनेर केही सपोर्टिङ पसल राखिएको बताएका थिए ।
hospital-canteen