धरान : गढी गाउँपालिका २ औरावनी चोक स्थित शिवमहिमा मेडिकल हल फार्मेसीबाट प्रतिबन्धित लागुऔषध सहित फार्मेसी सञ्चालिका ३२ वर्षिया मोनिका चौधरीलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।

मोरङको सुन्दरहरैचा-८ घर भई हाल सोही स्थानमा डेरा गरी मोनिका चौधरीले सटर भाडामा लिई फार्मेसी सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।

फार्मेसीमा प्रतिबन्धित लागू औषध बिक्री वितरण हुने गरेको सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले फार्मेसीमा खानतलासी गरेको थियो ।

खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा ट्रामाडोल र स्पास्पेन गरी जम्मा २ हजार ९३० ट्याब्लेट बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

साथै विराटनगर-३ बरगाछी चोकबाट भारत अररियाका पृथ्वी कुमार सिंह, कृष्ण कुमार सिंहलाई ११ किलो ५२ ग्राम गाँजा सहित जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।