नेपाल एकीकरण कि उपनिवेशका लागी राज्य बिस्तार !

  • पुष २७, २०७८
  • ४२० पटक पढिएको
  • नन्द कन्दङवा
alt

पृष्ठभुमी :

प्राचीन नेपाल र नेपाल राज्यको निर्माण सम्बन्धमा अस्पष्ट भएको कारणबाट वर्तमान नेपाल राज्यको निर्माण एकीकरणबाट भएको हो या असली हिन्दुस्तान बनाउने आकाङ्क्षाका साथ उपनिवेश कायम गर्ने गोर्खा राज्यको बिस्तारको फौजी अभियानबाट भएको भन्नेमा वाद विवाद भइरहेको छ। यसमा एकीकरणबाट भएको भन्नेहरूले गोर्खाका राजा पृथ्वीनारायण शाहलाई राष्ट्र पिता र उनको जन्मजयन्तिलाई राष्ट्रिय एकता दिवस भनेर मनाउने गरिरहेका छन् । अर्थकारीले पृथ्वीनारायण शाहको असली हिन्दुस्तान बनाउने आकाङ्क्षाका साथ उपनिवेश कायम गर्ने गोर्खा राज्यको बिस्तारको फौजी अभियान थियो भन्नेहरूले पृथ्वीनारायण शाह एक उपनिवेशकारी र आक्रमणकारी राजाको रूपमा लिन्छन् र त्यसको विरोध गर्दछन् भने उनको जन्मजयन्ति राष्ट्रिय एकता दिवस हुन सक्दैन भन्दछन् । वास्तवमा भएको के हो भनेर प्रस्ट्याउनु जरुरी छ।

इतिहासको वास्तविकता

वर्तमानको राष्ट्र, राज्य, राष्ट्रवाद, राष्ट्रियता र नेपाल राज्यको निर्माणसँग जोडिएको विषय नेपाल एकीकरण कि उपनिवेशको लागी राज्य बिस्तारबारे भइरहेको विवादलाई तथ्यपरक ढङ्गले विवेचना गर्न आवश्यक भएको छ। यहाँ नेपाल राज्य निर्माण र एकीकरण की राज्य बिस्तार भन्ने बारेमा विवेचना गरिन्छ। नेपालमा उठिरहेको पहिचानको मुद्दाले यी विषयहरूमा फेरी इतिहासलाई तथ्यपरक ढङ्गले केलाउन विवश बनाएको छ । कतिपय विद्धान मित्रहरूमा नेपाल इस्वीको १/२ शताव्दीतिरै अहिलेको नेपालको आकारमा थियो । सो देश बाइसे, चौबिसे, गोर्खा, मुस्ताङ, कान्तिपुर, भक्तपुर, पाटन, पाल्पा, मकवानपुर, विजयपुर आदिमा टुक्रियो । यिनै टुक्रिएका राज्यहरूलाई गोर्खाका राजा पृथ्वीनारायण शाहले फेरी एक सूत्रमा आबद्ध गरेकाले उनको कार्य राज्य विस्तार या दिग्विजय नभएर एकीकरण हो भन्ने मत रहेको देखिएको छ।

पृथ्वीनारायण शाहको काम एकीकरण हो भन्नेहरूले नेपाल पहिले पनि अहिलेकै आकारमा थियो र बिचमा टुक्रियो र पृथ्वीनारायण शाहले फेरी एउटै बनाए, यसर्थ सो कार्य एकीकरण हो भन्ने विद्धान मित्रहरूले खास गरी ४ वटा आधारमा यस्तो निष्कर्ष निकालेको देखिन्छ । नेपाल पहिले पनि अहिलेको आकारमा थियो भन्ने कुरालाई निष्कर्षमा पुग्न मित्रहरूले २०४० मा प्रकाशित भएको नेपाल नामक आलेखमा मगधका गुप्त सम्राट् समुन्द्र गुप्तको प्रयागको अभिलेख, योगीनरहरीनाथले २०१३ सालमा सङ्कलन गरेको हिमवत्खण्ड पुराणको कथन, मानदेवको चाँगुनारायणको अभिलेख र ५० भन्दा बढी स-साना भुरे टाकुरे राज्यहरू जो आपसमा लडिरहन्थे तिनीहरूलाई हराएर अहिलेको विशाल नेपाल निर्माण गर्नु त्यसबेलाको माग थियो भन्ने भनाइलाई आधार बनाएका छन् ।

उक्त बिचार प्रस्तुत गर्नु हुने मित्रहरूले भारतका गुप्त सम्राट् समुद्र गुप्तको प्रयाग अभिलेखमा असाम र कुमाउ बिचको भूभागलाई नेपाल भनिएको छ (नेपाल, २०४० तः२०) को रेफरेन्स दिएको छ। यसैगरि सो प्रस्तुतिले हिमवत्खण्ड पुराणमा पूर्वमा कोसी प्रदेश, पश्चिममा गण्डकी प्रदेश, उत्तरमा गोसाईंकुण्डदेखि माथिको नीलकण्ठ हिमाल र दखिनमा पश्चिमी चम्पारण स्थित नटेश्वरको बिचको भूभागलाई देवभूमि नेपाल भनिएको छ (योगी २०१३तः संः १७४, ने. १६१) को रेफरेन्सका साथै मानदेवले पूर्व कोसी प्रदेश र पश्चिम कर्णाली प्रदेशका सामन्त शासकहरूलाई आफ्नो अधीनमा राखेर राज्य गरेको वर्णन उनको चाँगुनारायणको अभिलेखबाट थाहा पाइन्छ जसबाट लिच्छविकलामा पनि नेपाल अहिले जत्तिकै विशाल रहेको स्पष्ट हुन्छ भनी जिकिर गरिएको छ । यसैगरि, एकीकरण हो भन्ने मत राख्ने मित्रहरूले ५० भन्दा बढी भुरे टाकुरे राजाहरू रहनु भन्दा एउटै विशाल राज्य हुनु अङ्ग्रेज उपनिवेशकारीलाई रोक्न सामरिक हिसाबले त्यस बेलाको आवश्यकता थियो भन्ने जिकिर रहेको छ ।

पहिलो त, तत्कालीन मगधका गुप्त सम्राट् समुद्र गुप्तको प्रयाग (अल्लाहवाद) अभिलेखमा असाम र कुमाउ बिचको भूभागलाई नेपाल भनिएको छैन । उक्त अभिलेखको लाइन २२ र २३ मा मगधको सीमावर्ती ५ राज्यहरू समातारा, देवका, कामरुपा, नेपाला र कर्तिृपुरा, का शासकहरूको नाम उल्लेख गरिएको छ । उक्त समयमा असमलाई कामरुप र कुमाउ गडवाललाई कर्तिृपुर भन्ने गरिन्थ्यो भने हालको काठमाडौँ उपत्यका सहित थोरै वर परको भूभागलाई नेपाल भनिन्थ्यो । नेपाल, कामरुप र कर्तिृपुरलाई सीमावर्ती छुट्टा छुट्टै राज्यहरू भनेर उल्लेख गरिएकोलाई असाम र कुमाउ बिचको भूभागलाई नेपाल भनेर भ्रम दिनु नितान्त गलत नियतले प्रस्तुत गरिएको छ । यो नितान्त गलत कुरा हो, सही होइन । सीमा अलि यता उता भए पनि प्राचीन कुमाउ गढवाल सहितको राज्यलाई कर्तिृपुर/कार्तिकेयपुर /कीर्तिपुर भनिन्थ्यो जसको राज्य सीमा पछि १४ शताब्दीसम्म पूर्वमा कर्णाली नदीसम्म थियो । डोटी राज्य कत्युर राज्य भित्र थियो । कत्युर राज्यको पतन पछि डोटी सहित स-साना राज्यहरूमा विभाजन भयो । १५/१६ औ शताब्दी पछि डोटी सहित कर्णाली क्षेत्रमा खस राज्यको उदय भयो । समुद्र गुप्तको समय भनेको इस्वीको ३३५-३८० मानिन्छ जुन बेला नेपाल (तत्कालीन नेपाल अर्थात् हालको नेपाल उपत्यका) मा किरात वंशको पतन र लिच्छवी राजवंशको उदय भएको थियो । सो समय अर्थात् लिच्छवीकालमा तत्कालीन नेपालको सीमा नेपाल उपत्यका सहित पश्चिममा त्रिशूली नदी र पूर्वमा कोसी नदी सुरु हुने शाखा नदी सुनकोसीको आसपास इलाकासम्म रहेको देखिन्छ । त्रिशूली देखि पश्चिम कर्णाली सम्म स-साना राज्यहरूमा विभिन्न राजवंशहरूले राज गर्दथिए । यसैले प्रयाग प्रशस्तिमा समुन्द्र गुप्तले उल्लेख गरेको कर्तिृपुर र नेपालको सीमा अहिले रहेको नेपाल र भारत उत्तराखण्डको सीमालाई बुझ्नु गलत हो। समुन्द्र गुप्तले आफ्नो अधीनस्थ, आफूलाई मान्ने र आफ्नो कमाण्डलाई मान्ने सीमावर्ती शासक र देशको नाम लिएका हुन् उनलाई नमान्ने र उनको कमाण्डमा नहिँड्नेको नाम लिएका छैनन् । यसले, कामरुप, नेपाल र कर्तिृपुरले समुन्द्र गुप्तलाई मान्दथे, समुन्द्र गुप्तको आदेश मान्थे र ट्याक्स तिर्थे भन्दैमा कामरुप देखि कर्तिृपुर बिच नेपाल थियो भन्ने अर्थ लगाउनु गलत हो । यस बिचका धेरै राज्यहरू समुन्द्र गुप्तलाई मान्दैनन्थे । यसले नेपाल भनिएको देश समुन्द्र गुप्तको समयमा अहिलेको नेपालको आकारमा थियो भन्ने कुरा शतप्रतिशत गलत हो । यस्तो गलत र भ्रमपूर्ण जिकिर गर्ने विद्धान मित्रहरूले इतिहास र अभिलेखको राम्रो जानकारी राख्नु जरुरी छ।

दोस्रो कुरा, एउटा पुराणले अर्को पुराणका कुराहरूलाई काट्ने, समय र तिथीमिति नमिल्ने र एकले उल्लेख गरेको नाम अर्को पुराणमा नमिल्ने, सूचनाहरू सही नहुने पुराणहरूको हवाला दिएर पूर्वमा कोसी प्रदेश, पश्चिममा गण्डकी प्रदेश, उत्तरमा गोसाईंकुण्डदेखि माथिको नीलकण्ठ हिमाल र दखिनमा पश्चिमी चम्पारण स्थित नटेश्वरको बिचको भूभागलाई देवभूमि नेपाल भनी त्यसबेलाको नेपालको आकार जिकिर गर्नु बुद्धिमानी हुँदैन । प्रायजसो पुराणहरू ईसा पूर्व चौथो शताब्दी देखि इस्वीको आठौँ शताब्दीसम्ममा निर्माण गरिएका हुन । हिमवतखण्डको उल्लेख स्कन्द पुराणमा भएको छ । स्कन्द पुराणको निर्माण इस्वीको पाचौ शताब्दीको आसपासमा भएको मानिन्छ । यसरी नै नेपाल माहात्म्य को निर्माण यस भन्दा पछि बनेको हो । फेरी उक्त हिमवत्खण्ड अर्थात् नेपाल माहात्म्यमा उल्लेख गरिएको पूर्वमा कोसी प्रदेश र पश्चिममा गण्डकी प्रदेश भनेको किरातकालीन नेपाल उपत्यका भन्दा अलि वरपर लिच्छवीकालीन नेपालको नेपाल उपत्यका सहितको राज्य हो जसको सीमा पूर्वमा कोसी नदी अहिलेको दोलालघाट देखि तामाकोशीको आसपासको इलाका र पश्चिममा त्रिशूली गण्डक देखि काली गण्डकको आसपास इलाकासम्म थियो । कोसी र गण्डकी प्रदेश भनेर अहिले बुझिएको कोसी र गण्डकी प्रदेश बुझ्नु हुन्न र बुझाइनु हुन्न । यसले नेपाल पहिले नै अहिलेको आकारमा थियो भन्ने पुष्ठी गर्दैन ।

तेस्रो कुरा, लिच्छवी राजा मानदेवको ७८ पङ्क्तिको चाँगुनारायणको अभिलेखमा आफ्नो विजयको बारेमा वर्णन गर्दा पूर्व प्रदेशका विद्रोही सामन्तहरूलाई सबल आक्रमणद्वारा दमन गरी आफ्नो बसमा पारेको र पश्चिममा गण्डकपारी मल्लपुरमा आक्रमण गरी अधीनमा लिएको उल्लेख छ। पूर्व प्रदेश भनेको उही कोसी नदी अहिलेको दोलालघाटदेखि तामाकोशीसम्मको क्षेत्र र पश्चिममा त्रिशूली गण्डक पारीको केही भूभाग देखी काली गण्डक मल्लाज (मल्लपुरी) सम्मको भूभाग मल्लपुरलाई अधीनमा लिएको देखिन्छ । यसले त्यसबेलाको नेपाल अहिलेको आकारको नेपाल थियो भनेर पुष्ठी गर्दैन ।  लिच्छवीकालको नेपालको सीमाभन्दा बाहिर पूर्वी र पश्चिमी भागहरूमा अनगिन्ती सामन्त शासकहरूले स-साना राज्यको रूपमा शासन गरिरहेका थिए। मानदेव पछि लिच्छवी शासनकालको उक्त राज्य सीमा बाह्रौँ शताब्दीको मध्यसम्म कहीँ टुटेको इतिहासमा देख्न पाइन्न । यसपछि बाह्रौँ शताब्दीको अन्त्यतिर लिच्छवीहरूको पतन पछि अभ्युदय भएका मल्लहरूले सोही राज्य सीमालाई कायम राखेको देखिन्छ । भादगाउँका राजा जगज्ज्योतिर्मल्ल लेखिएको नरपतिजयचर्याटिका नामक ग्रन्थमा यक्ष मल्लसम्म आई पुग्दा यक्ष मल्लले मिथिला जितेर मगधसम्म पुगेका, अनेक पहाडी राजाहरूलाई जितेका, पूर्वमा बंग देश, दक्षिणमा सुरनदी र गयासम्म तथा पश्चिममा गोरखासम्म आफ्नो राज्य बिस्तार गरेको उल्लेख भएको पाइन्छ । तर यक्ष मल्लले आफ्ना छोराहरूलाई राज्य भागबण्डा गर्दा कान्तिपुर, भादगाउँ, बनेपा र पाटन देखि बाहेक नेपाल खाल्डोभन्दा बाहिरका भूभागहरूको नाम उल्लेख नभएकोले यक्ष मल्लले राज्यको सीमा मगध, बंगदेश, सुरनदी, गया र गोरखासम्म पुर्‍याएको भन्ने कुरा प्रमाणित गर्न गाह्रो मात्र होइन पुष्ठी हुँदैन । यक्ष मल्लले माथि उल्लेख गरिएको सीमासम्म नै राज्य बिस्तार गरेको मानेमा पनि नेपाल पहिले नै अहिलेको आकारमा थियो भन्ने पुष्ठी हुँदैन ।

चौथो कुरा, इतिहासको लामो कालखण्डसम्म अर्थात् प्राचिनकाल देखि १९ औ शताब्दीसम्म अहिलेको भारत र नेपालसहितको हिमाली-पहाडी खण्डमा एउटा राज्यले अर्को राज्यलाई अधीनमा लिने, कहिले टुट्ने र नयाँ राज्यहरूको उदय हुने क्रम जारी रह्यो । १६ औ शताब्दीमा कर्णाली क्षेत्रमा खस राज्य बन्यो । त्यस बेला खस र नेपाल राज्य बिच स-साना धेरै राज्यहरूमा स्थानीय राजवंशहरूले राज गरिरहेका थिए । पूर्व र दक्षिणमा मकवानपुर, विजयपुर, लिम्बुवान भित्र ८ राजाहरू र खम्बुवान किरात भित्र पनि विभिन्न राजाहरूले राज गरिरहेका थिए। पछि, १५/१६ औ शताब्दी पछि लिम्बुवानका स-साना राज्यहरू र चौदण्डी लगायतका राज वंशहरू विजयपुर सेन राज्य भित्र समावेश भए । नेपाल राज्य अलग र फरक राज्य थियो भन्ने कुरा लिम्बुवान र खम्बुवान किरात क्षेत्रमा आजका पिँढी भन्दा अघिल्लो पिँढीसम्म नेपाल भनेको काठमाडौँ उपत्यका भन्ने बुझिन्थ्यो । त्यहाँबाट हालको काठमाडौँ उपत्यकामा जान नेपाल जाने भन्दथिए । यी सबै तथ्यहरूले नेपाल पहिले नै अहिलेको आकारमा थिएन र यो केवल अहिलेको काठमाडौँ उपत्यका भन्दा पश्चिम त्रिशूली नदी देखी काली गण्डक नदीसम्म, पूर्वमा कोशी भन्न सुरु गरिने सुनकोशीदेखि तामाकोसी आसपास क्षेत्रसम्म थियो भन्ने पुष्ठी गर्दछ । यी कुराहरूले नेपाल पहिले नै अहिलेको आकारमा थियो भन्ने पुष्ठी हुँदैन।

पाचौ कुरा, बाईसी चौविसी राजाहरू सहित ५० औ राजा रजौटाहरु हुनु भन्दा एक विशाल राज्य हुनु ठिक हो भन्ने तर्कको सन्दर्भमा स-साना राज्यहरू हुनु भन्दा विशाल राज्य हुनु ठिक हो भन्ने हो भने नेपाललाई विशाल भारत या चीनमा मिलाउँदा झन् विशाल राज्य बन्छ । त्यसो किन नगर्ने भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ । यस्तो खालको सोच, बिचार तथा चिन्तन हिजो पनि ठिक थिएन आज पनि ठिक छैन र भोलि पनि ठिक हुँदैन । सानो र धेरै हुनु नराम्रो होइन । जहाँसम्म अङ्ग्रेज उपनिवेशकारीलाई रोक्न त्यस बेलाको अवस्थामा ठिक थियो भन्ने तर्क छ त्यो वास्तविकतामा आधारित छैन । पृथ्वीनारायण शाह र अङ्ग्रेज बिच गोरखाले अङ्ग्रेज–तिब्बत व्यापारलाई नरोक्ने र गोरखाले यस क्षेत्रका स-साना राज्यलाई फौजी आक्रमणबाट गोरखामा गाभ्ने कुरामा अङ्ग्रेजले हस्तक्षेप नगर्ने गोप्य सम्झौताको आधारमा अङ्ग्रेजले नै पृथ्वीनारायण शाहलाई केही हतियार दिएको कुरा अङ्ग्रेज लेखकहरूले नै बाहिर ल्याएकोले स्पष्ट भइसकेको छ । यसैले, पृथ्वीनारायण शाहले सन १७६७ देखि सुरु भएको गोर्खा राज्य बिस्तारको सैनिक अभियानलाई सन् १८१३ सम्म अङ्ग्रेजले कहीँ पनि रोकेन। 

सन् १७९२ तिर अङ्ग्रेजले नेपाल भएर तिब्बतसँगको व्यापारबारे नेपालका राजासँग लगातार कुरा गरेपछि सो विषयमा दुई पक्षबिच द्वन्द्व पैदा भएको थियो । त्यसपछि क्रमशः अङ्ग्रेज र नेपाल बिच बुटवल र मकवानपुरको तराई क्षेत्रलाई लिएर द्वन्द्व सुरु भयो जुन सन् १८१६ को सुगौलीको सन्धिमा गएर टुङ्गियो । यसर्थ सामरिक हिसाबले त्यस बेला ठिक थियो भन्ने कुरा गलत हो । त्यो सिर्फ यस क्षेत्रका स-साना राज्यहरूमाथि उपनिवेश कायम गर्न र असली हिन्दु साम्राज्य बनाउनको लागी थियो । उपनिवेश टाढाको या नजिकको जहाँको भए पनि उपनिवेशकारी नै हो । टाढाको डाकूँ चाही नराम्रो हुने र नजिकैको डाकूँ चाही राम्रो हुने भन्ने कुरा हुँदैन । डाकूँ जहाँको भए पनि डाकूँ नै हो । त्यसैको फलस्वरूप आज विभिन्न आदिवासी समूह तथा विभिन्न राष्ट्रका जनसमूहले भाषा, संस्कृति, अस्तित्व, पहिचान, अवसर, प्रतिनिधित्व, राज्य शक्तिमा साझेदारीता, स्वायत्तता, स्वशासन, आत्मनिर्णयको अधिकार, विकास लगायतका मामिलाहरूमा औपनिवेशिक पिडा भोगिरहेका छन् । उनीहरू दोस्रो नागरिकको रूपमा जीवन बिताइरहेका छन् । पहिलो नागरिक अर्थात् अभिजातिय वर्गका लागी नेपाल र पृथ्वीनारायण शाहको उपनिबेशीक फौजी आक्रमणबाट बनेको राज्यको लागी गर्व होला तर दोस्रो र तेस्रो नागरिकका लागी गर्व छैन । शायद अङ्ग्रेजले लगेर भारतमै गाभि दिएको भए पनि यहाँका आदिवासी समूह तथा विभिन्न राष्ट्रका जनसमूहले त्यही औपनिवेशिक पिडा भोगिरहेका हुन्थे होला । त्यसलाई कथित एकीकरणले नेपाली नागरिक हुनु बाहेक कुनै फरक पारेको छ र ?

यसर्थ, पृथ्वीनारायण शाह एक उपनिवेशकारी बिस्तारवादी-साम्राज्यवादी थिए । इतिहासले उनलाई यसरी नै मूल्याङ्कन गर्नु पर्दछ । अर्को एउटा कुरा के पनि प्रस्ट हुन जरुरी छ भने नेपाल राज्यको जन्म र निर्माण किरातकालमा भएको हो यद्यपि त्यो बेला नेपालको सिमाना अहिलेको भन्दा कम थियो । पृथ्वीनारायण शाहले नै नेपालको जन्म गराएका र नेपालको निर्माण गरेका हुन भन्ने भ्रम पनि हट्न जरुरी छ ।

एकीकरण या राज्य बिस्तार या दिग्वीजय

नेपाल राज्य त पहिले देखि नै थियो तर त्यो अहिलेको आकारमा थिएन । नेपालको इतिहास किरातकालदेखी नै छ । १८ औ शताब्दीको उत्तरार्धसम्म अहिलेको नेपालको आकार भित्र स्वतन्त्र अस्तित्वमा रहेका अनगिन्ती स-साना राज्यहरू अस्तित्वमा थिए । यही समयमा यिनै स-साना राज्यहरू मध्ये गोर्खाका राजा पृथ्वीनारायण शाहले असली हिन्दुस्तानी साम्राज्य बनाउने आकांक्षाकासाथ आफूसँग जोडिएका राज्यहरूमाथि एक पछि अर्को आक्रमण गर्दै राज्य बिस्तारको अभियान सुरु गरेको तथ्य हामीसँग छदै छ त्यसको लागी थप प्रमाण जुटाउन परेन। भारत अधीनमा लिएको अङ्ग्रेजको सल्लाह र अङ्ग्रेजसँगै हतियार लिएर यहाँका स-साना राज्यहरूमाथि खुनी आक्रमण गरी अधीनमा लिने कार्य अङ्ग्रेजसँग प्रतिरोध गर्न थिएन भन्ने पनि स्पष्ट भइसकेको छ । यसमा एउटा के कुरा सत्य हो भने सबै राज्यहरू आक्रमण गरी गोर्खाले विजय गरेर नेपालमा मिलाएको होइन । यसमा कतिपय राज्यहरू ती राज्यलाई स्वायत्तता दिने गरी सन्धि सम्झौताबाट नेपाल भनिएको राज्यमा समावेश गरिएको थियो ।

यसैले, पृथ्वीनारायण शाहको विभिन्न सानातिना स्वतन्त्र राज्यहरूलाई आक्रमण र सन्धि सम्झौताबाट नेपालमा गाभ्ने काम एकीकरण नभएर राज्य बिस्तार तथा उपनिवेश कायम गर्ने काम नै थियो र हो भन्ने कुरामा अव विवाद गरिरहनु पर्छ जस्तो लाग्दैन । प्राचिनकालको नेपालको भूभाग (कालीगण्ढक नदी देखि कोसी-तामाकोसी) भित्र टुक्रिएर रहेका विभिन्न राज्यहरूलाई पुन नेपाल राज्यमा गाभिएको भए एकीकरण भन्न मिल्थ्यो । तर यथार्थता त्यस्तो रहेन । यसर्थ, पृथ्वीनारायण शाहको यस्तो कार्यलाई एकीकरण बुझ्नु र देख्नु गलत मात्र होइन पृथ्वीनारायण शाहले बनाएको जगमा उभिएको वर्तमान अभिजातिय शासकहरूको गुलामी र दावेदरी गर्नु हो । गुलामी र दलालीको लागी इतिहास र तथ्यहरू बङ्ग्याउने र भ्रम दिने काम अनैतिक मात्र होइन वास्तविक इतिहासका पक्षधरहरूमाथि गद्दारी पनि हुन्छ । यस्तो काम गरिनु हुँदैन। 

nanda-kandangqa-photo

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2022 - Kapurinews.com All rights reserved