न्यूयोर्कको आप्रवासीहरुको बाक्लो वस्ती उडसाईड, अहिले जाडोले निक्कै चकमन्न छ । मेरो ब्यस्त दैनिकीमा विगत दुई बर्षदेखी कुनै परिर्वत छैन । जीवन एक किसिमको मेट्रो स्टेशनको रुटिनमा नै बितिरहेकोछ । परदेशको यो चकाँचौध दुनियाँलाई फेसबुक, ईन्सटाग्राम या ट्वीटले जाजल्यमान देखाए पनि आप्रवासीहरुको मन भने जहिले खै किन हो जन्मदेश झुप्रो नै किन नहोस उसकै मोहमा अल्झिरहन्छ ।

आप्रवासको एक बर्ष पछि संगै पत्रकारितामा समय विताएको समकालिन साथी २०१९ मध्य तिर पत्रकार मोहनसिंह लामा टुप्लुक्क ज्याक्सन हाईटमा प्रकटहुँदा पो अचम्म लाग्यो । आमसञ्चार पढाई पछि म विजयपुर एफएम खोल्न धरान हानिए । त्यसपछि हाम्रो भेट फेसबुकमा मात्रै सिमीत भएको १० बर्ष हुन लागेको थियो ।

अचानक यो ज्याक्सन हाईटको फुटानी (आप्रवासीहरुको भाषण गर्ने ठाँउ भएकोले संचारकर्मी सैलेश श्रेष्ठको शब्द सापटी) चौकमा भेट्दा हामीले काठमाण्डौमा संघर्षका दिनहरुमा संगै एउटा यात्रामा थियौ, जो मृत्यूको सामु पुगेर हामी फर्किएका थियौ । त्यही भेटमा फेरी हामी फेरी एक पटक त्यो घटनाको बारेमा सम्झियौ अनि जीवनको यो अमेरिकाको पुर्नमिलनको खुशीलाई विनिमय गरिरहेका थियौ ।

म, अनिज पछि फोनिज

म नेपाल आदिवासी पत्रकार महासघ (अनिज)को पुर्व सचिव भएकाले योे साल २०७६ फोनिजको बार्बिकोत्सवमा मलाई पनि सम्मान गरे । स्वदेशको माटोको सुगन्धको यो सम्झनामा परदेशको सानो झ्यालमा एक तमाश निक्कै बेर खुशी भईरहे । मेरो पत्रकारिताका अग्रज तथा गुरु राजकुमार दिक्पाल दाजुले पोर्चुगलबाट पहिलो पटक सम्मानको सुुसमाचार म्यासेन्जरबाट दिनुभयो । साथै पत्रकार मिलन लिम्बुले आधिकारीक रुपमा म्यासेन्जरमा सम्मान गरिने जानकारी तथा शुभकामना दिनुको मज्जा नै विल्कुल बेग्लै थियो ।

उ बेला, २०६० साल तिर, पहिलो पटक नेपाल आदिवासी जनजाति पत्रकार संघ(अनिज) ले नेपाल भरका आदिवासी जनजाति पत्रकारहरुलाई पत्रकारीताको एक हप्ते ट्रेनिङ देशभर दिने योजना बन्यो । त्यो बेला त्यो योजनालाई आदिवासी जनजाति महासघले आर्थिक सहयोग गरेको थियो । त्यो बेला म पनि आमसंञ्चार तथा पत्रकारिता स्नातकोत्तर पढ्दै काठमाण्डौमा संघर्ष गरिरहेको थिए ।

मिजासिलो र हकी राजकुमार दिक्पाल दाईकै मार्गदर्शनले नेपाल आदिवासी जनजाति पत्रकार संघ तत्कालिन अनिजसम्म पु¥यायो । कान्तिपुर दैनिकाका खिम घले हाम्रा पत्रकार नेता(अध्यक्ष) थिए । सबै कार्ययोजना बन्यो । पहिले पत्रकार आदिवासी पत्रकार प्रशिक्षकको तालिम संचालन भयो । त्यही तालिमबाट उत्पादन भएका हामीहरु देशभर आदिवासी जनजातिहरुलाई पत्रकारिता तालिम दिन तयार थियौं । सबै पत्रकारहरुको क्षेत्र र स्थान तयार भयो । संगठन पनि गर्नुपर्ने साथै तालिम पनि दिनु पर्ने ।

पत्रकारिता तालिमको देशभर जाने मिती र समय तय भयो । म पुर्वको तीन ठाँउको पत्रकारिताको तालिमको सहयोगीको रुपमा म चुनिएँ । मेरो तालिमको लागि लाहानमा खिम घले, खोटाङमा उजिर मगर र फिदिमममा हाल फेदेनमा मोहनसिँह लामाको साथमा प¥यो । पहिले लाहान, त्यसपछि खोटाङ सम्पन्न भयो । प्रशिक्षकको भुमिकामा मेरो पहिलो गज्जबको अनुभुति थियो । अन्तिममा जानु थियो । काठमाण्डुदेखि सुदुर पुर्व फेदेन । दुई क्षेत्रमा तालिम संचालन भैसकेपछि मेरो अन्तिम तालिमको लागि २०६३ साल भदौ महिना थियो । यही घटनाले मलाई र मोहनसिंह लामालाई धेरै आत्मीय मित्र बनायो । आजसम्म न्यूर्योकको ब्यस्ततामा पनि त्यो घट्ना सम्झेर हामी रोमाञ्चित या विष्मय दुवै हुने गछौं ।


कथा यसरी सुरु हुन्छः

ईलामेली ट्राभल्समा पहिलो र अन्तिम यात्रा

तालिमकोे आयोजना गर्ने पचास हजार रुपैयाकोे हिसाब किताब मोहनसिंह लामाले बुझेका थिए । लामाले नै ईलाम जाने प्रबन्ध मिलाए । मोहनले फोन गरेर भने हामी सातदोबाटोबाट ‘ईलामेली ट्राभल्स’ चढ्छौ । साथी लामा उत्साही थिए । जीवनमा पहिलो पल्ट सुदुर पुर्व जाँदै थिए, अझ रमाईलो हुने भयो । फेदेनको सात दिनको तालिम सकेर उनले सगठनको लागि ताप्लेजुङ जानु थियो । मैले ताप्लेजुङको तोङबा सुकुटी र आथित्य सत्कारको उच्चतम सविस्तार बर्णन गरिदिएको थिए । उनी बस चढेदेखि नै खुशी, रोमाञ्चित, हाँसमुख देखिन्थे ।

हामी सातदोबाटोबाट ‘ईलामेली ट्राभल्स’ चढ्यौ सीट नम्बर साईड ‘बी’ सात र आठ चक्काको छेउमा परेकोले मैले भने “मोहन यो त ज्यादती नै हुने भयो थेचारेर ज्यान थिलथिलो पार्ने भयो ।” उनले हास्दै भने “ज्यान तताँउदै जाने हो । बाटोमा ब्यवस्था गरुला के गर्ने यो मात्रै थियो । टिकट कुनै च्वाईस नै थिएन ।” हामी दुवै सहमतिमा हाँस्यौ । फेदेनसम्म जाने भनेकाले ताप्लेजुङ र पाँचथर जाने यात्रीहरु थिए । महाँलक्ष्मीथानबाट तीन जना यात्रुहरु चढे । लिम्बुहरु थिए । दुई महिला एक पुरुष । साईड “ए” को हाम्रै सिटको अर्को साइडमा उनीहरुको सिट रहेछ । दुई महिला एकै सिटमा बसे । पुरुष अघिल्लो सिटमा बसे । उनीहरु लिम्बु भाषामा कुराकानी गर्दै थिए । लिम्बु महिला दिदीबहिनीले सुनका गहना धेरै नै लगाएका थिए । त्यो बसमा एक आर्कषण केन्द्र पनि भएकोे थियो । ढुंग्री, बुलाकी कण्ठ (नौगेडी), कानको गहना हातमा बाला पुर्ण थिए । उमेर पचपन्न–साठीको हुनुपर्छ । उनीहरुको साईनो । उनीहरु साईनोमा दाजु भाउजु र नन्द । बेलायतबाट छोरी ज्वाईले काठमाण्डौ घुम्न बोलाएको एक महिना पछि घुमेर फेदेन फर्कन्दै थिए ।

गाडी चढेपछि मैले स्लिपिङ ट्वाव्लेट खाए बराबर हो । म गाडीमा कोक्रोमा हल्लाए जस्तो महशुस हुने भएकोले म जस्तै गाडी होस् या परिस्थिति होस् सुति हाल्छु । कलकीं नागढुंगा हुदै गाडीले रफ्तार लिन थाले पछि मात्रै मलाई काठमाण्डौको उकुसमुकुसबाट मुक्त हुन्छु । साथी मोहनसिंह लामा अनिजका महासचिव थिए । उनले कार्यक्रम आयोजना गर्ने चालीस हजार खर्च झोलामा मिलाएर हालेका रहेछन् । त्यो झोला आफु बस्ने सिटको ठिक्क माथी राखे, आफुले देख्ने र छुने गरी । बाँकी बाटो तथा खाना खर्च पर्समा राखेका थिए ।

नागढुंगा अलि तल खाजा खाए पछि बसले फेरि रफ्तार लियो । ईलामेली ट्राभल्समा पुरानो हिन्दी गीत बजिरहेको थियो । ‘तु इस्तरा से मेरे जीवनमे सामेल हो, जहाँ भी जाउ ऐसा लगता हे ये तेरा मेहफील हे’ यात्रमा गीत संगीतको धुन मेरो फेबरेट हो । पुराना हिन्दी सत्तरीका गानाहरुको बेजाड कलेक्सन रहेछ, गुरुजीसंग गीतकोे आनन्दसंगै मुग्लिन खाना खान आईपुग्यौ । खाना खायौ । रातले मध्यराततर्फ हाम फाली रहेको थियो । यात्रा फेरी प्रारम्भ भयो ।

दयालु डाँकु, बिस रुपैयाँ र आईडेन्टी कार्ड

खानासंगै खाएको एक क्वाटरले राम्ररी ज्यानलाई निदाउन बाध्यपारी रहेको थियो । गीतसंगै गाडीको रप्mतार बढीरहेको थियो । मध्यरात थियो । हामी कहाँ पुगेकाछौ, त्यो थाहा थिएन । रातको करिब एक बजेका थियो होला । सर्लाहीको हरिवन जंगल पस्ने बेलाको मुखमै हुनुपर्छ । गाडी रफतारमै थियो । अकस्मात गाडी अनियन्त्रित भएर रोकियो । हामी डाँकाको घेरामा परिसकेको रहेछौं ।

गाडीका सहायक (खंलासी) डराएको चर्को स्वरमा करायो ‘डाँका डाँका डाँका डाँका’ बसको ढोकाबाट हामी तिर फर्केर काम्दै चिच्यायो । चिच्याएसंगै आफुसंग भएको टिकटको पैसा बाहिर निस्कने ढोकाको माथी प्mयाक्यो । अनि फेरी भन्यो । ‘आप्mनो महत्वपुर्ण सामान लुकाउनुस्’ त्यही बेला ड्राईभरको अगाडीको शिशा फुटेको ‘ढ्याङ’ अवाजसंगै हाम्रो ध्यान चालक पट्टी केन्द्रीत भयो । चालकलाई बन्दुक तेर्साईयो । चाबी नियन्त्रणमा लिइयो । मैले आफुसंग भएको सामसुँग मोवाईल म बसेको सिटमुनी फाले । अरु बहुमुल्य सामान केही थिएन । डाकाहरुले सहायक (खलासी)लाई पनि कटुवा पेस्तोल ताके पछि बसको ढोका सहजसँग खोलियो । हामीले भ्mयालबाहिर हेर्दा डाँकाहरु सबै पोजिसनमा उभिएका थिए ।

डाँकाको तीन जना टोली बस भित्र पस्यो । बसको चालक चुपचाप ड्राईबर सिटमा बसेर रुन्चे अनुहारले हामीतिर हेरिरहेका थिए । खलासी ढोकामा पहिलो डाकाले भन्यो ‘उठेको पैसा ले ।’ उसले लगभग बन्दुकको अगाडी रुन्चे स्वरमा भन्यो । “गाडी मालिकले अघिल्लो स्टेशनमा लगिसक्यो । हाम्रोमा पैसा छैन ।” पहिलो डाका ड्राईभरको सिट नजिक भएको प्यासेन्जर भए तिर लाग्यो ।

दोश्रो चुपचाप हामी तिर बढेको मुखमा रुमाले मास्क लगाएको कटुवा पेस्तोल बोकेको होनहार डाँका सरासर हामी बसेको सिटनिर आएर पेस्तो मलाई ताकेर । ‘उठ्नुस् ’ म डरले होला या मन गलेर होला अलि ढिला गरे । उसले सम्मान घटाएर चिच्याएर बोल्यो । ‘ए उठ’ मसंगै मोहनसिंह पनि उठ्यो । पेस्तोलको आडमा एउटा माईकल ज्याक्सनको कालो रंग पनि उडिसकेको टिसर्ट लगाएको टिनेज स्वरले बन्दुक तर्साएर भन्छ ‘पर्स निकाल ।’ फिल्ममा मात्रै देखेको डाकुहरु मेरो र मोहनसिंहको अगाडी थियो । घोडी खोलिएका कटुवा पेस्तोल, उसको दाहिने हातको चोरऔला ट्रिगरमा थियो । मैले ढिला नगरी पर्स निकालेर उसको देब्रे हातमा दिए । मैले अचानक भन्न भ्याएँ,‘ म विधार्थी हो, काठमाण्डुमा पढ्छु । मेरो घर धरान हो । म विद्यार्थी भएकोले मसंग धेरै पैसा छैन ।’ आफुलाई दयाको भिख मागे होला सायद । म जे बोली रहेछु सत्य बोली रहेछु, भन्ने भान दिए । त्यो सत्यबचन मेरो मुखमा किन आयो कसरी आयो अहिलेसम्म मलाई थाछैन ।

पर्स खोलियो, खनाईयो । पर्सको सबै पाटा राम्ररी नियाले पछि, डाकुले मलाई हेर्यो । हेराई आखाँको चालमा ठिक भनिस् भन्ने पाराको थियो । पर्स हठात राखे । आइटेन्टी कार्ड र जम्मा बिस रुपियाको नोट फकाईएको, पछि पत्तो पाए । तर अरुको भने पर्ससहित चलानी भए । मोहनसिंहको पनि खाली पर्स फर्काइयो । त्यो बेला मोहनसिंहको अनुहार हेरेर मैले मेरो डरको प्रतिछाँया देखेको थिएँ । हाम्रो सिटमा डाका कार्य समाप्त भैसके पछि अन्य यात्रीको पालो सुरु भयो ।

हामी छैउमा बस्ने लिम्बु चेलीहरुलाई कटुवा पेस्तोल तेसाएर उनको सबै लुटियो । डाकासँग प्रतिवाद गर्दा लिम्बु दाईलाई पेस्तोलको कुन्दाले कन्चटमा हाने पछि रगत बग्न थाल्यो । उनले भनेको ‘यसो नगरुङ न’ भनेको आवाज मात्रै मैले सुनि रहेका थिए । नलुटिने कोही पनि थिएन । सुन सुनका दुई चेलीहरुको नाकमा लगाएको बुलाकी धरी जर्वजस्ती तानेर रगताम्य बनाई हाले । त्यो हेर्दा कुनै चंबलको डाँकुहरुको बारेमा सुनेका कथा आफ्नै अगाडी लाईभ हेरिरहेका थियौ ।

हामी हरिवनको सशस्त्र पुलिसको ब्यारेकदेखि पाँच सय मिटर मात्र टाढा थियौ । तर हामी डााकाको बन्दुकको नालको सामु निरीह थियौ । मेरा पछाडी एक जना फेदेनकै चेली पनि लुटिईन् । दिन आनाकानी गर्दा उनलाई बन्दुक तर्साए पछि हातको औठी खोलेर दिईन् । झन्डै १५ मिनेटमा अघिको त्यो उत्साह, त्यो यात्राको रमाईलो हराई सकेको थियो । ती लिम्बु दिदीहरु सुनबिहिन रित्तो भैसकेका थिए । झडपमा उनको श्रीमान लिम्बु दाई कन्चटमा बन्दुकको कुन्दाले लागेर घाईते भएका थिए । बुलाकी धरी जर्बजस्ती तानेर लगेकाले नाख र कानबाट रगत बगी रहेका थिए । सबै तै चुप मै चुप यौटा । निर्जीव शान्ति छाएको थियो । डाकाहरुको तान्डव सकिसकेको थियो । बाहिर नबुझीने भाषामा कल्याङ मल्याङ गरिरहेका थिए ।

अकस्मात बाहिर के भयो, कुन्नी यौटा बन्दुक ताकेर फेरी भित्र पस्यो । हामी फेरी एक अर्काको मुख हेराहेर गर्दै बन्दुकधारीलाई नियाल्न थाल्यौ । त्यही बेला सहकर्मी सहयात्री मोहनसिंह अलि ककमाण्डिङ स्वरमा आत्मविश्वासको साथ बोल्यो, ‘हाम्रो भैसक्यो ।’ मानौ भाडा तिरिसकेको र कन्डक्टरले चेकिङ गरिसकेको होस् । डाँका पनि ठिक छ भन्ने संकेतले टाउको हल्लाउँदै ढोका बाहिर निस्कियो । उनीहरुको के संकेत थियो कुन्नी, डाँकाहरु जंगल तिर लागे । सबै चुपचाप थिए ।

विस्तारै होस खुल्यो 

डाँकाहरु गए पछि भने सबैको सातो फर्किए जसरी गाडीमा जीवन पलायो । कसैले भने ‘धन्न बाँचीयो ।’ कसैले लिम्बु दम्पतीलाई सान्त्वना दिनथाले । जम्मा सुन कति थियो । पैसा कति थियो । एक छिन हिसाब गरे दुवैको गरि २३ तोला सुन, साठी हजार रुपैया । हाम्रै गाडीमा मात्रै लुटियो । अन्य अघिबाट आउने र पछि आउने गाडी भने रोकिएको थियो, पछि थाहा भयो । हामी कति लुटियौ । मोहनसिंले हिसाब गर्दा हामीले पर्समा बोकेको पैसा सबै । बाँकी कार्यक्रमको लागि चाहिने रुपैया झोलामा भएको हुनाले बच्यो । जुन झोला हामीले हाम्रो सिटमाथीको क्लोजेटमा राखेका थियौ । फेदेनमा राखिएको पत्रकारिता प्रशिक्षण हुने कार्यक्रम हुने भयो । यो घटनाले कति निरीह र कहालिएका थियौं । हामी मृत्यूको मुखमा आप्mनो अनुहार देखेर साँचै कम्जोर भएका थियौ ।

यही विच हामी ठीक पछाडी बसेको एक ब्राम्हण चेली रुन थालिन् । आँशु पुछ्दै विवाहको बेलामा श्रीमानले दिएको उनको औठी सम्झेर रुन थालेकी रहिछ । जो आधी तोला भन्दा कम भए पनि उनको पहिलो प्रेम सौगात थियो, डाको छाडेर रुदै बोली रहेकी थिईन ‘अब के भन्ने होला ? कस्तो दिनमा हिडिएछ । हिड्ने बेलामा आँखा फुर्फुराएकै थियो । कस्तो दशा रहेछ ।’ त्यही समय आशुँ पुछदै म तिर फर्केर भनिन्,‘तपाई त कति चलाख नि तपाईको त फिर्ता नै दियो ।’ मेरो परिचय पत्र र बिस रुपैयाको नोट फर्काइदिएका हुन । उनले चलाख भनिन् ठिकै भनिन् । उनी चुपचाप लुटिईन्, मैले केही बोलिन ।

त्यही बखत उता लिम्बु चेली पनि आप्mनो बेदनालाई शक्तिमा बदल्दै थिइन् । ‘छ र पो लुटियो । नभए के लुट्थ्यो । अझै घरमा छ । जीवन बाँच्यो । कति कमाईन्छ कति कमाईन्छ ।’ श्रीमानको घाउमा रुमालले छोपी दिदै उनले ती चेलीलाई सम्झाईन्, जसको २३ तोला लुटिएकी थिइन् । उनको सुन जर्वजस्ती थुतेर लगेको रगत बगिनै रहेको थियो । म चुपचाप ति दुवै चेलीहरुलाई हेरी रहे । त्योे बेला मैले सिटमुनी फालेको मुवाईल सकुसल फेला पारे । नेटवर्क समाएपछि मैले यसोदालाई हामी डाकाबाट लुटिएको खबर भने ।

दयालु डाँकु

हामी सबै यात्रु होसमा आए पछि बस भित्रकै एक यात्रुले चालकलाई भन्यो । यो सुनसान जग्गामा किन रोेकेको तेरो गल्ती हो । ‘अगाडी रुख तेर्साए, बन्दुक ताके पछि जर्बजस्ती जानु कुनै ड्रइभरले सक्त्तैन ।” उसले सफाई दियो । खलाँसीले थप्यो । ‘यो डाँकाहरु त अलि स्टयाण्डरको रहेछ । हाईवे भन्दा भित्र छिराएर लुटेको भए । खाजामा पोको चाउ चाउ पनि छाड्दैनथ्यो । बस बाहिर सबै सामान निकालेर आराम साथ हाजीर गर्दै सामान खोसिन्थ्यो । धन्न तापईहरु भाग्यमानी ।’ उसले डाकुलाई कमसल डाकुको संज्ञा दियो । मानौं खलासी, भुक्तभोगी हो । यस्ता कैयौ डाकुहरु पचाई सकेको होस । अचम्म, खलासी र ड्राईभरमा रत्तिभर पनि कुनै डर र त्रासको अनुहारमा थिएन ।

कहिले काही हामी त्यो समयको समकालिन पीडित भए पनि धेरै क्षति हुनेको अवस्था हेरेर, चित्त बुझाईदो रहेछ । उनीहरुको कुरा सुन्दा ड्राईभर र खलासी पटके डाका लुटमा परेका रहेछन् । लुटिएकाहरु प्रति उनीहरुमा कुनै संवेदना नै देखिएन । सबै लुटिएका थिए । बस गएर सर्लाहीको पुलिसलाई रिर्पोट गर्यौ । एक भ्यान पुलिस गाडीमा त गुडायो तर जंगल पसेका डाकाहरुलाई कसरी समात्ने ?

सर्लाही हरिवनको अर्कौ सानो गाँउमा गएर हामी सुस्तायौ । काठमाण्डु जाने गाडीहरु डाका लागेको खबर पाएर अगाडी जाने आँट नगरी त्यो गाँउको स्टेशनमा बसेका थिए । हामी पुगेपछि उनीहरुलाई राहत भयो । कसरी लुटियौ भनेर बेलिविस्तार लगायौ । त्यसपछि सबै बसहरु नछिुट्टी एकसाथ जाने सल्लाह गरेर बाटो लागे । हाम्रो ड्राईभरको अगाडीको भाग शिशा फुटेको थियो । हामी रफ्तारमा जाने कुरै भएन । हामी विस्तारै विस्तारै जाँदै थियो । भोलिपल्ट १२ बजे मात्र दमक पुग्यौ ।

भोक, रिस, एक प्रकारको नैरास्यताबीच हामी दमक आईपुग्यौ । दमक आईपुग्ना साथ खाना खाने होटेल अगाडी रोकेर ड्राइभरले विहानको खाना खान अनुरोध गर्यो । मैले भने, ‘को संग पैसा छ ? अनि भात खाने ? हामी तिम्रै गाडीमा सबै लुटिएर बेखर्ची भैसक्यौ के को पैसाले खाना खाने ?’ डाकाले लुटेको रिस र गाडीवालले देखाएको गैैरमानविय चरित्र मलाई मन परेको थिएन । त्यसमाथी भोकै भएकोले मलाई औधी रिस उठ्यो । फेरी चालक र सहचालकलाई साथै बसका सबैलाई सुन्ने गरी भने ‘अघि तिम्ले डाकाबाट बचाएको पैसा जो हामी बाटै उठाएको हो । तिमीसंगै छ । हामीसंग के छ ? तिम्ले देखेको छौ हामी सबै लुटीयौ । यसरी लुटीसकेपछि अब तिम्ले हामीलार्ई सुरक्षित र उठाएको पैसा जो हामीले डाँकालाई त्यहाँ लुकाको भनेनौ त्यही पैसाले भात ख्वाउ ।’ सबैजना यात्रुहरु भोकाएका थिए । मेरो कुराको हेक्का भयो क्यार दमकको खाना खाने होटलमा हामीलाई सादा खानाको लागि चालक र सहचालकले अफर गरे । जो अहिले पनि सम्झन्दा मलाई आफैले आफैलाई माया लागेर आउँछ ।

हामी खाना खाए पछि त्यो बसले हामीलाई हिडायो । फेदेन पुग्दा मध्यरात भै सकेको थियो । २३ तोला लुटिने लिम्बु परिवार नागीमा नै विदा गरिसकेका थियौ । भोलीदेखी सात दिने आदिवासी जनजाति पत्रकारहरुको तालिम सुरु भयो । तालिम दिन जाँदा हामीमाथी घटेको घट्नाबारे हामीले अनिजलाई जानकारी गरायौ । अनिज केन्द्रको मिटङ बसेर मोहनसिंह र मलाई साहसपुर्वक तालिम सम्पन्न गरेकोमा पाँच पाँच हजार रुपैयासहित सम्मान गरेका थिए । बाँचेकोमा बधाईसहित उक्त मिटिङमा हाँसो पनि भएको थियो । उजीर मगरले हाम्रो जोक बनाए छन् । जसकुमार रेडियोमा काम गर्ने हुनाले मिठो स्वर निकालेर हात जोडेर ‘डाकु जी म विद्यार्थी हो, मसंग घर जाने पैसा मात्रै छ भनेर मायालु स्वरमा भने पछि डाकु स्वरमा लट्ठ भएर बीस रुपैया र पर्स फिर्ता दियो ।’ सबै हाँसे । मोहनको पनि उजिर मगरले नै अर्को बनाए । सबै बसमा रहेका यात्रुहरु लुटी सकेपछि । अन्तिममा छिर्ने डाकुले मोहनलाई हेरेर ‘सब कुछ लुट लिए, अब तुम उधर क्या ढुड रहे हो ? चलो देर हो जाएगा ।’ सबै हाँस्यौ । मृत्यूसंग बाँचेर आए पछि यसरी नै समयसंगै किम्बदन्तीहरु बन्दै जाँदो रहेछ । हगी मोहन !

जसकुमार राई, हाल: ज्याक्सन हाईट, अमेरिका

bekharchi@hotmail.com
jasbekharchi@gmail.com