धरान : सुनसरी १ मा चुनावी प्रचार प्रसारमा बालबालिका प्रयोग गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेहरूलाई कारबाही प्रक्रिया बढाइने भएको छ ।
धरान नगर बाल सञ्जालले धरान राखेका मागहरू सम्बन्धित निकायमा कारबाहीका लागि लेखी पठाउने सहमति भएको हो ।
मङ्गलवार साँझ साढे ७ बजे निर्वाचन कार्यालयमा भएको छलफलमा बाल सञ्जालको पाँच बुँदे माग कानुनी प्रक्रियाअनुसार अघि बढाउने सहमति भएको छ ।
बाल सञ्जालको मागमा समानुपातिकतर्फकी उम्मेदवार मिना सिंघकको उम्मेदवारी खारेज गर्नुपर्ने, धनबहादुर राईलाई आचारसंहिता विपरीत कार्यमा कानुनी कारबाही गर्नुपर्ने, सम्पूर्ण बाल सञ्जाल सदस्यहरूको सुरक्षाको जिम्मा लिनुपर्ने कुरा छन् ।
साथै सम्बन्धित राजनीतिक दललाई कानुनबमोजिम कारबाही गर्नुपर्ने तथा बाल सञ्जालका सदस्यहरूको व्यक्तिगत फोटो प्रयोग गरी चरित्रहत्या,गालीगलौज, नकारात्मक पोस्ट तथा भिडियो बनाउने व्यक्तिलाई कारबाही गर्नुपर्ने उल्लेख छ ।
सहमति पत्रमामा बाल सञ्जालका तर्फबाट अध्यक्ष मानव विश्वकर्मा र सदस्य रोजन शङ्करले हस्ताक्षर गरेका छन् । निर्वाचन कार्यालयका तर्फबाट निर्वाचन अधिकृत दिव्यराज घिमिरेले सहमति जनाएका छन्।
इलाका प्रशासन कार्यालय धरानका प्रमुख फणिन्द्र दाहाल रोहवर बसेका थिए। बालअधिकारसँग जोडिएको विषयमा उठेको यो विवादले सुनसरी–१ को चुनावी गतिविधिलाई थप चासोको केन्द्रमा ल्याएको छ। 
बाल अधिकार अभियन्ता रोजन शङ्करले भने "सम्बन्धित निकायले अब के कदम चाल्छ भन्ने प्रतीक्षा रहेको छ ।" शकरले सहमति भएसँगै अनशन समाप्त गरेका छन् ।

letter