इटहरी:घरपरिवारमा मात्र सिमित नरही थुप्रै महिलाहरु उद्यमशील बन्न थालेका छन् । आत्मनिर्भर बनेर आफु र परिवारलाई आर्थिक उपार्जन मात्र गरिरहेका छैनन्, अन्य महिलाहरुको लागि पनि उनीहरु प्रेरणाको स्रोत बनिरहेका छन् । यस्तै महिलाहरु मध्ये सफारी चलाएर पनि आम्दानी गरिरहेका केही महिलाहरु छन् ।
यहाँ उल्लेख गरिएका चार महिलाहरुले समाजमा कुनै लाज नमानी आफै संघर्ष गरेर जीवीकोपार्जन गरिरहेका छन् । उनीहरुको कमाई पनि राम्रो छ । यस्ता थुप्रै महिलाहरु आफ्नै संघर्षले स्थापित भएका छन् । समाजका लागि उदाहरणीय पात्र बनेका छन् ।
कमला सिवाकोटी बिष्ट :
२०३९ श्रावण १९ गते सुनसरीको सोनापुरमा जन्मिएकी उनले सफारी चलाउन थालेको डेढ बर्ष भन्दा बढी भयो । उनले सुरुमा सफारी चलाउँदा अन्य पुरुषहरुले हेप्ने गरेको बताउँछिन् । उनी भन्छिन्,‘कुनै–कुनै सफारी चालकहरुले हेप्ने गरेका छन्ु । सफारी चलाउने छोरा मानिसहरुले डोमिनेट गरेर बोल्छन्, चित्त दुख्छ ।’
सिवाकोटीको श्रीमान र उनी दुवैजना सफारी चलाउँदै जीवीकोपार्जन मात्रै गरेका छैनन् मनग्य कमाई पनि गर्छन् । इटहरी–२०, तरहरामा बस्दै आएकी उनी भन्छिन्,‘विहान १०, ११ बजेदेखि सफारी चलाउन सुरु गर्छु, मासिक २५ देखि ३० हजार सम्म कमाई हुन्छ ।’ उनले आँफूले घरायसी खर्च र एक सन्तानको पढाई खर्च गुजारा गर्दै आएकाले श्रीमानको कमाई बच्ने उनको अनुभव छ । ‘हामीले यहाँ घर बनाएर बस्न सकेका छैनौँ कोठाभाडा गरेर बस्दै आएका छौँ,’उनले भनिन्, ‘कतिले सहयोग गर्छन्, त कतिले यो भाडावाल हो यसको सफारीमा नचढ्नु भन्दै होच्याएर बोल्छन् ।’
उनले ट्राफिक प्रहरीले भने असहयोग नगरेको उल्लेख गर्दै आँफूले ट्रायल पास गरेर लाईसेन्स समेत निकालेको बताईन् । ‘कुनै–कुनै प्यासेन्जरले त दुई–चार पैसा बढी नै दिन्छन्, कुनै–कुनैले भने बार्गेनिङ गर्छन्,’उनले भनिन् । उनले श्रीमानको मात्र भर पर्नु भन्दा पनि आँफै सक्षम बन्नका लागि सफारी चलाउँदै आएको बताईन् । ‘अरुको भर नपरौँ, आँफूले संघर्ष गरेर खान पुग्छ भने अरुको किन भर पर्ने ?’ उनले भनिन्, ‘हिड्दै जाँदा बाटोमा पहिरो आउँछ तर त्यसलाई सामना गरेर अगाडि बढ्नुपर्छ ।’ उनले नयाँ पुस्तालाई सन्देश दिदैँ आँफै सक्षम बन्नुपर्नेमा जोड दिईन् । ‘आँफैले कमाएर घर खर्च चलायौँ भने राम्रो हुन्छ, गरेर खानलाई के को लाज मान्नु ?’ उनी भन्छिन् ।
दीपा विश्वकर्मा :
२०३८ जेष्ठ २ गते झापामा जन्मिएकी विश्वकर्माले सफारी चलाउन थालेको १ बर्ष भन्दा बढी भयो । उनले मासिक २० देखि २५ हजार रुपैँया सफारी चलाएरै कमाउँछिन् । श्रीमानले विदेशी भूमिमा काम गर्दै आएको र अाँफूले यहाँ कमाई गरेर छोराछोरी पढाउँने खर्च निकाल्दा घरमा सहज हुने उनको तर्क छ । उनी भन्छिन्, ‘कहिलेकाँही सफारी चलाउँदा टेम्पो चालक र छोरा मान्छेको सफारीले हेप्ने गर्छन्, धम्की पनि दिन्छन् ।’
इटहरी २ शान्तिनगरमा बस्दै आएकी उनले छोरी मानिसले सफारी चलाएको गलत नजरले हेर्ने गरेकाले पनि काम गर्न कठीन भएको बताईन् । ‘छोरी मान्छेले सफारी चलाउँदा मान्छेको हेर्ने नजर नै छुट्टै हुन्छ,’उनले भनिन्,‘कति दिदीहरुले त बुढाले हेर्दैन भनेर पनि भन्नुहुन्छ ।’ उनले केही हुनेखाने महिलाहरु सफारीमा चढ्ने र होच्याएर बोल्ने गरेको बताउँदै भनिन्, ‘अन्य दिदीबहिनीहरुले हामीलाई हौसला दिनुपर्नेमा उल्टै होच्याएर बोलिदिदाँ दुःख लाग्छ ।’ तथापी, समाजबाट सकारात्मक सोच र हौसला भएका कारण आँफूलाई काम गर्न उत्प्रेरित हुने उनको भोगाई छ । बिहान ११ बजे घरबाट निस्किएकी उनी साँझ ५ बजे घर फर्किने गरेकी छिन् ।
दुर्गा दाहाल :
२०४१ श्रावण ४ गते धनकुटामा जन्मिएकी उनले सफारी चलाउन थालेको २ बर्ष भयो । अहिले श्रीमानले पनि सफारी नै चलाउने र आँफूलाई पनि यहि पेशामा आत्मनिर्भर रहनका लागि घरपरिवारबाट साथ मिलेको उनले बताईन् । उनले भनिन्, ‘मासिक ३० देखि ३५ हजार सम्म कमाई हुने गरेको छ, यो पेशाबाट सन्तुष्ट छु ।’ एक सन्तानलाई पढाउनका लागि मात्रै नभई घर खर्च समेत मनग्य रुपमा धान्दै आएकी दाहाल भन्छिन्, ‘समाजले पहिला हेप्ने गरेको थियो, मैले हेप्दै गरुन् भन्दै काम गरेँ सफल त भएको छैन, तर आँफू सन्तुष्ट छु ।’
घरमा व्यवहार चलाउनका निम्ति कठीन भएकाले सफारी चलाउन थालेको उनी बताउँछिन् । ‘काम गर्दा असफल भने नभईने रहेछ,’ उनले भनिन्, ‘छोरी मान्छे पछि हट्न हुँदैन केही गर्न खोज्नुपर्छ ।’ विहान १० देखि ११ बजे घरबाट निस्किएर साँझ ५ बजेसम्म सफारी चलाउँदै आएकी उनी इटहरी १९ ब्रम्हपुरमा बस्दै आएकी छिन् । ‘भाडामा कहिलेकाँही प्यासेन्जरले किचलो गर्छन् त कहिले बढी नै पनि दिन्छन्,’उनले भनिन् ।
कमला बस्नेत :
२०४४ असोज ९ गते उदयपुरको बेल्टारमा जन्मिएकी बस्नेतले सफारी चलाउँन थालेको ७ महिना मात्रै भयो । तर, उनी आफ्नो कामप्रति भने बफादार छिन् । श्रीमान विदेश रहेको र आफ्नो कमाईले छोराछोरी पढाएर घर खर्च चलाउन पुग्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘मासिक १८ देखि २० हजार कमाई हुन्छ । खान लाउन पुगेकै छ, सन्तुष्ट नै छु ।’
उनले सफारी चलाउनका निम्ति कठीन नभएको बताउँदै विहान ९ बजेदेखि साँझ ५ बजेसम्म सफारी चलाएर मनग्ये आम्दानी गर्ने गरेको बताउँछिन् । ‘आईपर्दा राती पनि कुदाउने गरेको छु, घर गाउँको मानिसहरु बिरामी हुँदा नजिकको मेडिकल सम्म लैजानका लागि राती पनि सहज हुने गरेको छ ।’ उनले भनिन् । आफ्नो कमाईले सन्तुष्ट रहेको उनी सुनाउँछिन् । इटहरी १९ ब्रम्हपुरमा बस्दै आएकी बस्नेत श्रीमानले नै सफारी चलाउनका निम्ति उन्प्रेरणा दिएको बताउँछिन् । ‘आँफै पनि उद्यमशील बन्न सकिन्छ भनेर सफारी चलाउँन थालेको हुँ,’ उनले भनिन्, ‘विहान छोराछोरीलाई स्कूल पठाएपछि दिउँसो सफारी चलाउँछु, यत्तिको राम्रै कमाई छ ।’ उनले अन्य महिला दिदीबहिनीहरुलाई पनि आँफै सक्षम बन्नका लागि संघर्ष गर्नुपर्ने सन्देश दिईन् ।