औजार : आजको औजार दैनिकमा “दशैको मुखमा कोशी पीडितको सशक्त आन्दोलन” शीर्षकको समाचार छापिएको छ । विगत ३४ दिनदेखि लगातार रिले अनसनमा छन्, कोशी पीडित जनताहरु । शान्तिपूर्ण अनसनमा बसेका पीडितहरुको समस्याको सुनुवाइ अहिलेसम्म राज्यपक्षले कतैबाट गरेको छैन । बर्खाको भेल र टन्टलापुर घाममा शान्तिपूर्वक आन्दोलन गरिरहेका पीडितहरु ऋब भने सशक्त आन्दोलन गर्ने भएका छन् । कोशी नदी कटान डुबान पीडित संघर्ष समितिको ब्यानरमा दैनिक १५ देखि २० जनाको समूहले लगातार ३४ दिनदेखि रिले अनशन गर्दै आएका थिए । तर राज्यले उचित समन्वय र सुनुवाइ नगरेको भन्दै समितिले अब भने कोशी ब्यारेज कब्जा गर्ने देखि राजमार्ग बन्द गर्ने प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् । रिले अनसन गर्दा समितिले सरकारलाई जानकारी गराएको थियोे । पुनः मंगलबार सशक्त कार्यक्रम गर्ने बारेमा सुनसरी सप्तरी र उदयपुर जिल्ला प्रशासन कार्यालय ज्ञापनपत्र मार्फत प्रधानमन्त्रीलाई जानकारी गराएको हो । पूर्व पश्चिम राजमार्ग बन्द गर्ने र ब्यारेजको कन्ट्रोल रुम नै कब्जा गर्ने तयारीमा समिति देखिएको छ । तर ज्ञापनपत्रमा असोज ९ गतेसम्म पनि आन्दोलनको माग पूरा नभए सशक्त आन्दोलन गर्ने भनी सफ्ट भाषाको प्रयोग गरिएको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “कांग्रेसद्वारा लगातार प्रदेशसभा अवरुद्ध” शीर्षकको समाचार छापिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दोस्रो दिन पनि प्रदेश १ को प्रदेशसभा अवरुद्ध गरेको छ । प्रदेश सरकारले ल्याएको मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्थ ागर्न बनेको विधेयक सदनको कार्यसूचीबाट हटाउन माग राख्दै सोमबारदेखि सदन अवरुद्ध गरिरहेका छन् । सदन अवरुद्ध गरेपछि अर्को बैठक असोज ५ गते बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी गराए । प्रदेशसभाको ५१ औं बैठक शुरु हुनासाथ कांग्रेसका सांसदले उठेर विरोध गरेपछि सभामुख भण्डारीले असोज ५ गते १ बजेका लागि बैठक तोकेका छन् । यसअघि मंगलबार पनि कांग्रेसका सांसददे बैठक अवरुद्ध गरेका थिए । प्रदेशसभामा मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्थ ागर्न बनेको विधेयक सदनको कार्यसूचीबाट हटाउनु पर्ने कांग्रेसले माग राखेको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “कुलबोटको अनुसन्धान शुरु” शीर्षकको समाचार छापिएको छ । थोरै लगानीमा किसान आफैंले भण्डारण गर्न मिल्ने कुलबोट अर्थात् चिस्यान भण्डारण प्रविधिको विकास गर्न राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रममा धनकुटाका पारिपात्लेका किसान जुटेका छन् । सुन्तला, कागतीजस्ता अमिला जातका फलफुललाई सिजनको बेला भण्डारण गरी अफसिजनमा निकाल्न मिल्ने गरी चिस्यान भण्डार कुलबोट प्रविधिको अनुसन्धान शुरु भएको हो । कुलबोट प्रविधि जडान पछि तापक्रमलाई शून्य डिग्रीसम्म नियन्त्रण गरिदिन्छ । यो प्रविधिले कति तापक्रम आवश्यक पर्ने हो त्यति नै बनाइदिन्छ । सुन्तला लगायत अमिलो जातका फलफुल भण्डारणको लागि न्यूनतम ८ देखि १२ डिग्रीसम्म तापक्रम आवश्यक पर्छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “दशैंमा च्याङ्ग्रा नल्याइने” शीर्षकको समाचार छापिएको छ । बर्खा र भेलले बाटो बगाएर आयात गर्न नै कठिनाइ भएपछि यस वर्षको दशैं तथा तिहारमा पूर्वी नेपालको सीमावर्ती नाकाबाट च्याङ्ग्रा नभित्रने भएका छन् । पूर्वी नेपालको उत्तरी सीमावर्ती नाका टिपताला भञ्ज्याङबाट ओलाङचुङगोला हुँदै नेपाली बजारमा आयात हुने च्याङ्ग्रा यस वर्ष नल्याउने स्थानीय व्यापारीले निधो गरेका हुन् । अघिल्ला दुई साल यता चिनियाँ बजारबाट नेपाली भूभागमा च्याङ्ग्रा आएका छैनन् । फक्ताङलुङ गाउँपालिका वडा नं. ६ लेलेप लुङथुङका चुङदा शेर्पाले यस वर्षको दसैं तिहारका बेला च्याङ्ग्रा आयात तथा बिक्री नगर्ने बताए ।