विराटनगर : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एक हप्ता लामो भ्रमण सकेर आइतबार काठमाडौँ फर्किएकी छन् ।
एक हप्ता कोसी प्रदेशको राजधानी विराटनगरमा बसेर अर्थपूर्ण 'राजनीतिक मुभ’ गरेकी उनले सयौँ नेता तथा कार्यकर्तासँग भेट गरिन् । भण्डारीले एक सातामा ८ वटा औपचारिक कार्यक्रममा सहभागी भइन् भने त्योभन्दा धेरै भेटघाट गरिन् । औपचारिक कार्यक्रममा पनि समूहगत र व्यक्तिगत ढङ्गले अनौपचारिक भेटघाटहरू धेरै गरिनन् ।
विराटनगरको होटेल बिगमा ढुक्कले बसेर उनले सयौँ एमालेका नेता तथा कार्यकर्ताहरूसँग भेट गरिन् । शनिवार मात्रै उनले तीन दर्जन बढी समूहका एक सयभन्दा बढी नेता, कार्यकर्तासँग भेट गरिन् । भेटघाट गर्नेहरूमा अधिकांश एमालेका नेता कार्यकर्ता छन् थिए भने कतिपय काँग्रेस र नेकपा एसका नेता तथा कार्यकर्ता पनि थिए ।
'उहाँ औपचारिक रूपमा ८ वटा कार्यक्रममा सहभागी हुनुभयो । अनौपचारिक रूपमा त उहाँले पालो पाइराख्नु भएको छैन' भण्डारीको भेटको व्यवस्थापन गरेका एमाले नेता सोमराज थापाले भने, । '१४ गतेदेखि लगातार भेटघाटका कार्यक्रम भएका छन् ।'
थापाका अनुसार १४ पत्रकार सम्मेलनपछि विद्यार्थीसँग र केही नेता र कार्यकर्तासँग भेटघाट गरेकी भण्डारीले १५ गते इटहरीको जनता माविको औपचारिक कार्यक्रममा सहभागी भइन् । इटहरीमा उनले सुनसरीका एमाले नेता, कार्यकर्तासँग छलफल गरिन् ।
भण्डारीले १६ गते भण्डारी मोरङ बुढीगंगामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा आयोजित कार्यक्रम र एक निजी स्कुलको औपचारिक कार्यक्रममा सहभागी भइन् । १७ गते उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको कार्यक्रममा सहभागी भएकी उनी १८ गते मोरङको ग्रामथानमा रहेको एक विद्यालय र धरानको इन्जिनियरिङ क्याम्पसको कार्यक्रममा सहभागी भइन् ।
१९ गते सुनसरीको इटहरीमा रहेको एनटिभी इटहरी च्यानलको कार्यक्रममा सहभागी भएकी उनी सोही दिन विराटनगरमा सञ्चालित विराट एक्स्पोको अवलोकन गर्न पुगिन् । औपचारिक कार्यक्रम बाहेक भण्डारीले प्राध्यापक, बुद्धिजीवी, मदन भण्डारी फाउण्डेसनको टिम, काँग्रेस नेता ज्ञानेन्द्र कार्की, भीम पराजुलीसम्मलाई भेटिन् । काँग्रेस नेता कार्की भण्डारीको पारिवारिक नातामा दाजु पर्छन् ।
भण्डारीलाई मोरङका अधिकांश नेता र कार्यकर्ताले भेटे । शनिवार दिउँसो सभामुख देवराज घिमिरेले पनि भण्डारीलाई होटेलमै भेटेका थिए । नेकपा (एकीकृत समाजवादी)का नेता महेश रेग्मीसहितले पनि उनीसँग भेटेका छन् ।
भण्डारीले प्रत्येक दिन भएका कार्यक्रम र भेटघाटको विषयमा आधा घण्टा समीक्षा गर्ने गरेकी थिइन् । भण्डारीसँग भेटघाटमा गएका एमालेका नेता कार्यकर्ताहरूले गुम्सिएर बसेको कुरा गर्ने गरेको स्रोतले बताएको छ ।
'कहाँ भनौँ, कसलाई पीडा कहाँ पोखौँ भन्ने भएकाहरूले भण्डारीसँग आएर पर्याप्त गुनासो पोखेका छन्,’ स्रोतले भन्यो, । 'सबैको गुनासो नै गुनासो छ । म साइड लागेँ, मलाई साइड लगाइयो । हजुर संरक्षक बनिदिनु पर्यो भन्ने मात्रै आएका छन् ।’
भेटमा सहभागीहरूले 'केपी ओलीको बोली पनि ठिक छैन । हाम्रो अबको लिडर को हो भन्ने प्रश्न जनतामा रहेको छ’ भन्दै भण्डारीलाई गुनासो गरेका थिए ।
एमालेभित्र नेतृत्वको सङ्कट देखिएको बेला प्रतिस्पर्धाविनै आफू नेतृत्वमा पुग्न सकिन्छ भन्ने आत्मविश्वास भण्डारीमा रहेको बुझिएको भेटमा सहभागी एक नेताले बताए । भेटमा एमाले नेतृत्वको स्वभावजन्य कुराले पार्टीमा पनि गज्याङ गुजुङ भएकोदेखि माओवादी र नेकपा एसलगायतका कार्यकर्ताले पनि नेतृत्व लिन आग्रह गरेको विषय भेटमा उठेको बताइएको छ ।
भण्डारीले सर्वसम्मत रूपमा पार्टीले आह्वान गरे नेतृत्वमा तयार रहेको सङ्केत गरिसकेकी छन् । तर, चुनाव लडेरै एमाले अध्यक्ष बन्ने मनस्थितिमा भने नरहेको स्रोतको दाबी छ । 'आफैँ लडेर आउने मनस्थिति छैन’ भण्डारीसँग भेटेका एक नेताले भने, तर, परिस्थिति निर्माण गरेर नेतृत्व लिने दाउमा रहेको बुझिन्छ ।’
हाम्रोमत दैनिकबाट