विराटनगर  : विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा तोडफोड र आगजनी गर्दै नेपाल विद्यार्थी सङ्घको एउटा समूहले निर्वाचन अधिकृत डा.सुशीलकुमार अधिकारीलाई पनि बन्धक बनाएको छ ।

बुधवार साढे १२ बजे अधिकारीलाई कोठामा थुनेर डा. शेखर कोइराला निकट नेविसंघका विद्यार्थीहरूले बाहिरबाट तालाबन्दी गर्दै कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् । घटनापछि प्रहरीको टोलीले ताला फोडेर अधिकारीको उद्धार गरेको थियो ।प्रहरीले आगजनी गर्ने चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य योजराज दाहाल, पूजा विश्वास, जिल्ला सचिव गुड्डु साह र आयुष दाहाल रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।

प्रहरीले उनीहरूलाई विराटनगरस्थित मुनालपथ नजिकबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । 'क्याम्पसभित्रको निर्वाचन कार्यालयमा आगजनी गर्ने र निर्वाचन अधिकृतलाई थुन्ने समूहलाई नियन्त्रणमा लिएका छौँ’ उनले भने, 'घटनाको अनुसन्धान भइरहेको छ ।’ 

नेविसंघको शेखर समूहले आन्तरिक विवादमा संस्थापन पक्षलाई निर्वाचन समितिले आधिकारिकता दिएको भन्दै निर्वाचन समितिको कार्यालयमा तोडफोड र आगजनीमा उत्रिएको हो । महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचनको लागि दुई वटा नेविसंघ दर्ता भएका थिए ।

निर्वाचन समितिले मङ्गलवार राति नेविसंघ केन्द्रीय समितिले दिएको पत्रको आधारमा देउवा पक्षबाट उम्मेदवार बनेका प्रज्वलन विष्टको समूहलाई आधिकारिक दिने निर्णय गरेको थियो ।

कोइराला समूहबाट उम्मेदवार बनेका नेविसंघका केन्द्रीय सदस्यसमेत रहेका योगराज दाहालको समूहलाई निर्वाचन समितिले स्वतन्त्र प्यानलको मान्यता दिएको थियो । त्यसपछि आक्रोशित बनेका उनीहरूले निर्वाचन अधिकृत अधिकारीलाई थुन्ने र निर्वाचन कार्यालयमा आगो लगाउने काम गरेका हुन् ।

मोरङ क्याम्पसमा नेविसंघको दुई गुटको अराजकता यसअघि पनि देखिँदै आएको थियो । गत फागुन १५ गते नेविसंघको संस्थापन गुटले शेखर गुटका विद्यार्थी नेताहरूमाथि हातहतियारसहित आक्रमण गरेका थिए । नेविसंघका नेता समेत रहेका क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेल, सचिव सनिम ठकुरी र नेविसंघकै सदस्यहरू महमद सलमानलगायतले नेविसंघ मोरङका सभापति सरोज पोखरेललाई आक्रमण गरेका थिए ।

हाफ ज्याकेटको भित्री गोजीमा राखेको छोटो बिँड भएको बञ्चरो निकालेर त्यहाँ पुगेका सभापति पौडेलसहितले सरोजलाई घाइते हुने गरी आक्रमण गरेका थिए । त्यसबेला पोखरेलसहित र चुले भाइ भनिने आयुष दाहाल, गुड्डु साह, पूजा विश्वास, प्रशान्त यादव र सुविक्षा थापा मगर घाइते भएका थिए ।

नेपाल विद्यार्थी सङ्घकै शेखर कोइराला समूह क्याम्पस इकाई गठन गर्न त्यहाँ पुग्दा आक्रमण भएको थियो । काँग्रेस मोरङका सभापति सरोज पोखरेलले नेविसंघको अर्को इकाई बनाउन खोजेको भन्दै उनीहरू आक्रमणमा उत्रिएका थिए । पोखरेल कोइराला समूहका हुन् भने स्ववियु सभापति पौडेल देउवा समूहका ।

त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचन आगामी चैत ५ गतेका लागि तोकेको छ । गुण्डागर्दीको कारण निर्वाचन नै प्रभावित हुने हो कि भन्ने चिन्तामा विद्यार्थीहरू छन् । स्ववियुकै आडमा कलेजमा एकपछि अर्को गुण्डागर्दी भइरहेको अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष अभिमन्यु यादवले आरोप लगाएका छन्, । 'क्याम्पसमा गुण्डागर्दी बढेको छ । नेविसंघले स्ववियुको आडमा त्यस्तो गरिरहेको छ’ उनले भने, 'यसलाई रोकेर क्याम्पसलाई शान्तिपूर्ण रूपमा चलाउने वातावरण प्रशासनले बनाउनुपर्छ ।’ 

नेविसंघको गुण्डागर्दीको कारण विराटनगरबाहिरका विद्यार्थी निर्वाचनमा आउन डराउने अवस्था बनेको छ । 'अहिलेकै अवस्थामा निर्वाचन भए हार्ने डरले यो दुई समूह आपसमा मिलेरै लफडा गरेका हुन्’ यादवले भने, उनीहरू स्ववियु निर्वाचन नहोस् भन्ने चाहन्छन् ।’ 

नेविसंघका देउवा र शेखर कोइरालाको समूह मात्र छैन, कोइराला समूहभित्र पनि पूर्वमुख्यमन्त्री केदार कार्की र काँग्रेस मोरङ उपसभापति तथा विराटनगर महानगर प्रमुख नागेश कोइरालाको छुट्टाछुट्टै समूह छ । त्यसले पनि विवाद बढाएको विद्यार्थीहरूले बताएका छन् ।

अघिल्लो निर्वाचनमा नेविसंघले बहुमत जितेकोले अहिले पनि बहुमत जिताएर बिदा हुन चाहेको स्ववियु सभापति पौडेलले बताएका छन् । पूर्वमुख्यमन्त्रीहरुले अनावश्यक हस्तक्षेप र चलखेल गरेर नेविसंघलाई हराउन खोजेको उनको आरोप छ । 'यस्तो काम नहोस्, म उहाँलाई चेतावनी दिन चाहन्छु’ उनले भने ।

क्याम्पस प्रशासनले भने निर्वाचन प्रक्रियालाई सुरक्षित र निष्पक्ष बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ । विद्यार्थी सङ्गठनहरूबिच बढ्दो तनावलाई मध्यनजर गर्दै क्याम्पस प्रशासनले सबै विद्यार्थी सङ्गठनहरूलाई संयमित हुन र लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्न आग्रह गरेको छ ।

घटनापछि प्रहरी प्रशासनले पनि क्याम्पस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । क्याम्पसमा विभिन्न १९ वटा समूहले स्ववियु निर्वाचनमा भाग लिँदैछन् । क्याम्पसमा ५ हजार ५ सय जना मतदाता विद्यार्थी रहेका छन् ।

हाम्रोमत दैनिकबाट