ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “तलब नपाएपछि शिक्षक आन्दोलित” शीर्षकको समाचार छापिएको छ । उदयपुरमा शिक्षकहरुले चार महिनाको तलबसँगै दशैं पेश्की नपाएपछि त्रियुगा नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । त्रियुगा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले दुई महिनाको तलब र दशैं पेश्की पाउँदै आएका शिक्षकहरुले यसपालि दुई महिनाको तलब र दशैं पेश्की मात्रै पाएपछि नेपाल शिक्षक संघ त्रियुगा नगरकार्यसमिति, नेपाल राष्ट्रिय शिक्षक संगठन त्रियुगा नगर कार्यसमिति र नेपाल शिक्षक संगठन त्रियुगा नगरकार्यसमितिले संयुक्तरुपमा नगरका उपमेयर देवीकुमारी चौधरी र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मणविक्रम थापालाई ध्यानाकर्षण पत्रसँगै प्रेस विज्ञप्तिसमेत बुझाएको हो ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “दलित बिहे गर्दा किरिया गर्नबाट वञ्चित” शीर्षकको समाचार छापिएको छ । भोजपुर नगरपालिका–१२ आम्तेकका ३२ वर्षीय चन्द्र खड्का गएको असोज ३ गते वैदेशिक रोजगारीको सिलसिलामा काठमाण्डौ पुग्नुभयो । उहाँलाई कतार जान भिषाको प्रक्रिया मिलाउनु थियो । तर खड्का काठमाण्डौ पुग्ने बित्तिकै घरबाट बुवाको देहान्त भएको खबर आयो । उहाँ रातारात बस चढेर काठमाण्डौदेखि घर फर्किनुभयो । तीन दिनपछि घर पुग्दा जेठा दाजु सम्मरबहादुर खड्काले बावुको पार्थिव शरीरको संस्कार सकिसक्नुभएको रहेछ । चन्द्र पनि केश खौरेर, सेतो कपडामा किरियापुत्री बस्न दाजुको घर पुग्नुभयो । दाजुसँगै किरियापुत्री बस्न पुग्नुभएका चन्द्रमाथि नसोचेको घटना घट्यो । उहाँलाई किरियापुत्री बस्न दिइएन । उहाँले दलित समुदायकी केटी विवाह गर्नु नै मुख्य कारण थियो । उहाँलाई किरियापुत्री बस्न नदिइएपछि बावुको मृत्युको खबरले भन्दा चन्द्रलाई योे घटनाले कैँयौ गुणा मर्माहत बनायो । ‘यो कस्तो समाज अनि कस्तो धर्म संस्कार ? मैले मेरो जन्मदिने बावुको किरिया बस्न पनि पाइँन, मेरो के दोष छ ?’ उनले भावुक हुँदै गुनासो पोखे, ‘दलित बिहे गरेँ भन्दैमा मलाई घर र समाजले छिः छिः र दुरदुर गर्ने, मेरी श्रीमती पनि त मान्छे हो, सबैको रगत उस्तै त होला नि ।’ पीडित चन्द्रका दाजु सम्मरबहादुर, किरिया गराउने पण्डित र समाजका केही व्यक्तिले उहाँलाई बहिष्कृत गरेका कुनै पनि हालतमा किरियापुत्री बस्न नदिएपछि उनी अन्ततः प्रहरीको शरणमा पुगे । छुवाछुतको अन्त्य भएको भनिए पनि त्यो व्यवहारमा लागू नभएको यो एक ज्वलन्त उदाहरण हो । जातीय भेदभावको यो अर्को घटनाले समाजमा रहेको विकृतिलाई प्रस्ट पारेको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “स्कुल पढ्न गाउँ छोड्नुपर्छ” शीर्षकको समाचार छापिएको छ । पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर २ मा पर्छ बर्मे गाउँ । बस्तीभन्दा निकै टाढा रहेको यो गाउँमा जम्मा १७ घरको बसोबास छ । च्याङथापुबाट झण्डै एक दिनको पैदल यात्रापछि पुग्न सकिने बर्मेगाउँ पाँचथर जिल्लाको उत्तरी क्षेत्रको सबैभन्दा अन्तिम बस्ती हो । च्याङथापुबाट बेतेनीसम्म यातायात सञ्चालन हुन थालेपछि अहिले पैदल यात्रा छोटिएर करीब ४ घण्टामा झरेको छ । बस्ती थोरै अनि उच्च पहाडी क्षेत्र भएका कारण पनि विकासको कुनै गुञ्जायस त्यस क्षेत्रमा देखिन्न । गाउँका बालबालिकाको अध्ययनका लागि तिम्बुपोखरी आधारभुत विद्यालय छ । तर विद्यार्थी छैनन् । आधारभूत तहभन्दा माथि अध्ययन गर्नुपर्ने भए विद्यार्थीले गाउँ नै छोड्नुपर्ने बाध्यता छ