औजार : आजको औजार दैनिकमा “फौजी किरा नियन्त्रण गर्न ‘टास्क फोर्स’” शीर्षकको समाचार छापिएको छ । गत वर्ष फौजी किराले मकै बाली नष्ट गरेपछि यस वर्ष एक नम्बर प्रदेश सरकारले बेलैमा सजकता अपनाउन इमिडियत रेस्पोन्स टास्क फोर्स परिचालन गर्ने भएको छ । गत वर्षझै मकैबाली नष्ट हुन नदिन अमेरिकन फौजी किरा नियन्त्रणको लागि प्रदेश सरकारले मूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि निर्देशनालय, बाली संरक्षण प्रयोगशाला, ज्ञान केन्द्र विभिन्न संस्था र कृषि औषधि बिक्रेता सम्मेलित आपतकालिन समिति इमिडियट रेस्पोन्स टास्क फोर्स गठन गरेको छ । मकै बालीमा लाग्नसक्ने फौजी किरा नियन्त्रणका लागि सबै सरोकारवालाहरुलाई सहभागी गराएर इमिडियट रेस्पोन्स टास्क फोर्स गठन गरी सकेको बाली संरक्षण प्रयोगशालाका प्रमुख मुकेशकुमार यादवले जानकारी दिए । उनका अनुसार उक्त टास्क फोर्सले गर्ने कामको योजना तयार गरेर प्रयोगशालाले मन्त्रालयमा स्वीकृतिको लागि पठाइसकेको छ । योजना स्वीकृत भएर आउनासाथ टास्क फोर्सले प्रकोप नियन्त्रण गर्न काम सुरु गर्नेछ । तापक्रमको आधारमा तराइ क्षेत्र अमेरिकन फौजी किराको बढी जोखिममा छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “६ लेन सडक आयोजनामा लापरबाही” शीर्षकको समाचार छापिएको छ । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत रानी विराटनगर इटहरी धरान ६ लेन सडक निर्माण कार्यमा आयोजनाकै लापरबाहीले भइरहेको पाईएको छ । ६ लेन सडक इटहरीमा तीब्र विवाद भइरहे पनि सडक आयोजनाका प्रमुखसहित अधिकांश कर्मचारी कार्यालय बस्दैनन् । सडक आयोजनाका कर्मचारीहरुकै कमजोरीका कारण इटहरीमा ६ लेन विवाद हुँदै आएको छ । रानीदेखि धरानसम्म कुल ४९ किमी सडकको निर्माणको लागि स्थापना भएको कार्यालयमा अधिकांश समय कार्यालयमा कर्मचारी बस्दैनन् । ०६९,७० बाट शुरु भई चालु आ.व. सम्ममा सम्पन्न हुनुपर्ने थियो । तर अहिलेसम्म आधाजसो मात्र काम भइरहेको कार्यालयले स्वीकारेको छ । ‘सडक आयोजनामा अहिलेसम्म ४ जना कार्यालय प्रमुख हेरफेर भएको छ । अहिलेसम्म विजय चापागाई, दिपक भट्टराई, वीनोद कुमार मोवर, नरेन्द्रनाथ कोइराला, बद्री शर्मा कार्यालय प्रमुख भए तर अधिकांश कार्यालय प्रमुख कार्यालय बस्दैनन्’ इटहरीका युवानेता तथा सडक निर्माणको लागि स्थापना भएको संघर्ष समितिका संयोजक मदन चुडालले भने, ‘कार्यालय प्रमुख शंकाका घेरामा छन्, त्यसैले अनुसन्धानमा तान्न आग्रह गर्दछु ।’

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “इटहरी सारिएको टेलिकमको लेखाशाखा पुनः धरानमा फर्कदै” शीर्षकको समाचार छापिएको छ । एक समय पुर्वकै प्रशासनिक निकायहरुको शहरको रुपमा रहेको धरानबाट विस्तारै निकायहरु अन्यत्रै सारिदै गए । अढाइ दशकको अवधिमा दर्जनभन्दा बढी पूर्वाञ्चल क्षेत्रीयस्तरका विभिन्न सरकारी कार्यालय अन्यत्र स्थानान्तर गरिएका छन् । त्यसै क्रममा तिन वर्षअघि नेपाल टेलिकमको प्रशासन र लेखा शाखा पनि धरानबाट इटहरीमा सारिएको थियो । तर स्थानीय नेताहरुको दबाबका कारणले शाखा धरानमै पुनः फर्किने भएको छ । स्टाफ कलेजको नेतृत्वमा गठन भएको पुर्नसंरचना आयोगले धरानमा लेखा कार्यालय बनाउन उचित हुने प्रतिवेदन बुझाएपछि नेपाल टेलिकमको बोर्डमा निर्णयका लागि पेश भएको छ ।