औजार : आजको औजार दैनिकमा “कृष्णदासको मिसिल अदालतमा बुझाइयो” शीर्षकको समाचार छापिएको छ । अनुयायी बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मिसिल विहीबार अदालतमा बुझाइएको छ । प्रहरीले हिरासतमा राखी अनुसन्धान गर्ने २५ दिने समय अस्पतालमा बिताएका कृष्णदासलाई विहीबार साँझ मिसिलसहित जिल्ला अदालत सुनसरी पुर्याइएको हो । सवा ४ बजे सरकारी वकिल मार्फत कृष्णदासको मुद्दासँग सम्बन्धित मिसिल अदालतमा बुझाइएको थियो । मिसिल बुझाउनु पूर्व सुनसरी प्रहरीले कृष्णदासलाई भने अदालतमा उपस्थित नगराइने बताएको थियो । यद्यपी अदालतले स्वयं व्यक्ति उपस्थित हुनुपर्ने बताएपछि प्रहरीले विराट नर्सिङ होममा रहेका कृष्णदासलाई अदालत पुर्याइएको थियो ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “अरुण तेस्रोमा मुआब्जा विवाद” शीर्षकको समाचार छापिएको छ । संखुवासभामा निर्माणाधिन अरुण तेश्रो जलविद्युत आयोजनाको प्रवेश मार्ग स्थानीयले बन्द गराएका छन् । आयोजनाको करीब ३० प्रतिशत काम भइसक्दा पनि प्रवेश मार्गको मुआव्जा विवाद समाधान हुन सकेको छैन । जिल्लाको छ्याङकुटीबाट पावर हाउस स्थल दिदिङ सम्मको मुआञ्जा विवादका कारण स्थानीयले सो मार्ग बन्द गराएका हुन् । छ्याङकुटीबाट पावरहाउससम्मको २४ किलोमिटर सडकको केही खण्डमा मुआब्जा नपाएपछि स्थानीयले आजबाट बन्द गरेका हुन् । काम सुरु भएको ३ वर्ष बितिसक्दा पनि उचित मुआब्जा नपाएको उनीहरुको गुनासो छ । पहिले १५ मिटरको मात्र मुआव्जा दिएर आयोजनाले अहिले ३० मिटर अधिग्रहण गरेको संघर्ष समितिका अध्यक्ष हर्क्सिंह राईले बताउनुभयो । स्थानीय, ठेकेदार कम्पनी भारतको सतलज र स्थानीय प्रशासनसँग सहमति गरेर मुआब्जा विवाद मिलाउने तयारी भईरहेको लगानी बोर्डले जनाएको छ ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकमा “सप्तकोशीमा चलाउने मोटरबोट बगरमा अलपत्र” शीर्षकको समाचार छापिएको छ । बराहक्षेत्रको सप्तकोशीमा पर्यटन प्रबद्र्धन र विकासका कुराहरु धेरै हुँदै आएतापनि स्थानिय तह नगरपालिकाले पर्यटकीय कार्यक्रमहरु सञ्चालनका लागि आवश्यक कानुनी आधारहरु समेत अहिले नबनाएको पाइएको छ । नगरपालिकामा जनप्रतिनिधिले काम गर्न थालेको दुई वर्ष नाघिसक्दा कुरा धेरै काम भने थोरै पनि नभएको यसबाट पुष्टी भएको छ । यसै कारण बराहक्षेत्र तथा आसपासका क्षेत्रको आर्थिक उन्नति तथा पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने सप्कोशीमा चल्ने थप मोटरबोटहरु चल्न सकेका छैनन् । बराहक्षेत्र वडा ९ स्थित राजाबास ताराघाट बराहक्षेत्र सँगै उदयपुर र सप्तरीका श्रीलंका टाप्पुबासीलाई आवतजावत गर्न परम्परगत जल यातायात डुंगा सञ्चालन हुने स्टेशनको रुपमा परिचित छ । उक्त राजाबास ताराघाटबाट दैनिक रुपमा ज्यानलाई जोखिममा राखेर डुंगाको सहायताले असुरक्षित यात्रा गर्दछन् ।