औजार : आजको औजार दैनिकमा “सोलुखुम्बुमा गोली चल्यो” शीर्षकको समाचार छापिएको छ । सोलुखुम्बुलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न आयोजित कार्यक्रममा गोली चलेको छ । कार्यक्रममा सहभागी हुन सदरमुकाम सल्लेरीबाट गएको टोलीलाई तिङ्लावासीले अवरोध गर्दै ढुङ्गामुडा गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रु ग्याँस प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । मुख्य प्रभावित क्षेत्रलाई वेवास्ता गर्दै पत्तालेमा राष्ट्रिय प्रसारण लाइनको उद्घाटन गर्न लागेको भन्दै तिङलावासीले विरोध र बहिस्कार गर्दै तिङ्ला बन्दको घोषणा गरेका थिए । झडपमा केही प्रर्दशनकारी र प्रहरी घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बन्दकर्ताले १६ वटा मोटरसाइकल र एउटा जीपमा आगजनीसमेत गरेका छन् । तिङ्ला बन्द हुँदा ओखलढुङ्गा सल्लेरी फाप्लु सडक खण्डमा गाडी र यात्रु अलपत्र परेका छन् । तिङ्लाको लाम्मानेमा निर्माण गरिएको ३३ केभी प्रसारण लाइनको सबस्टेशनमार्फत जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्न शनिबार उद्घाटन कार्यक्रम राखिएको थियो । तर प्रसारण लाइन सबस्टेसनबाट प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका ११, तिङ्लामा सहमति अनुसार विद्युतलाइन विस्तार नगरी वडा नम्बर ८ को पत्तालेमा प्रसारण लाइनको उद्घाटन गर्न लागेको कारण आफूहरुले विरोध गरेको उनीहरुले बताएका छन् । स्थानीय बासिन्दाको मागलाई प्रशासनले बेवास्ता गरेपछि झडप भएको तिङ्लाका स्थानीय बालकुमार कार्कीले बताए । तिङ्लावासीको विरोधका कारण प्रसारण लाइन उद्घाटन कार्यक्रम स्थगित गरिएको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “इन्धन कालोबजारी गर्नेविरुद्ध मुद्दा” शीर्षकको समाचार छापिएको छ । पेट्रोलियम डिलर्स एसोििसएसनले पेट्रोलपम्पबाट तोकेको भन्दाबढी मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गरेको आरोपमा संखुवासभामा एक जना विरुद्ध कालो बजारीको मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालयले यशोदा आयल सेण्टरका सञ्चालक उत्तम कटुवाल विरुद्ध कालोबजारीको मुद्दा चलाएको हो । नेपाल आयल निगम लिमिटेडले समायोजन गराएको मूल्यबारे मातहतका निकायमा तोकेको मूल्यभन्दा बढी लिएपछि उनलाई स्थानीय प्रशासनले मुद्दा चलाएको हो । उनले पुस १७ मा डिलर्स एसोसिएसन विराटनगरले उपलब्ध गराएको भन्दा बढी मूल्य लिएर माघ २ गतेसम्म पेट्रोलियम पदार्थ बेचेको प्रशासनको आरोप छ । पम्प डिलर्स एसोसिएसनले तोकेभन्दा प्रतिलिटर २५ पैसा बढी लिएको गुनासो उपभोक्ताले गरेपछि प्रशासनले कटुवाल विरुद्ध कालोबजारीको मुद्दा चलाएको प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालले बताए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “झापामा अलैँचीको व्यावसायिक खेती” शीर्षकको समाचार छापिएको छ । पहाडी भेगको खोल्सामा मात्र सीमित रहेको अलैँची झापामै व्यावसायिक खेती हुन थालेपछि जयपुर क्षेत्रका कृषकले मनग्य आम्दानी गर्न थालेका छन् । झापामा कति अलैँची उत्पादन हुन्छ त्यसको यकिन तथ्यांक कृषि ज्ञान केन्द्रसँग छैन तर पनि उत्तरी झापाको बुद्धशान्ति गाउँपालिकाका कृषकले भने पछिल्लो समय अलैँची खेती गरिरहेका छन् । झापा बुद्धशान्ति गाउँपालिका २ जयपुरका कृषक खगेन्द्र उप्रेतीले सुपारी बगानभित्र लगाएको अलैँचीखेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । रहरले करेसाबारीमा लगाएको अलैँची सप्रिएर फल्न थालेपछि उनले अहिले सुपारी बगानभित्र ५ सय विरुवा रोपेका छन् । उप्रेतीले आफ्नो एक बिघा आठ कट्ठा जमिनमा वार्षिक पाँच लाख रुपैयाँ बराबरको अलैँचीसहितका बाली उत्पादन गर्छन् । केशी जमिनमा सुपारी बगानभित्र मौसम अनुसारको तरकारी खेती, दलहन र तेलहन खेती समेत गर्दै आएका छन् ।